
दाङ, १९ कात्तिकः लमहीका महिलाले पञ्चेबाज बजाउने सीप सिक्दै छन् । परम्परागत कला, संस्कृतिको संरक्षण गर्ने तथा महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यल त्यहाँका महिलालाई उक्त सीप सिकाउन थालिएको लमही नगरपालिकाले बताएको छ ।
लमही नगरपालिका–३ का महिलालाई पञ्चेबाजा बजाउने सम्बन्धी पुनर्ताजगी तालिम दिन थालिएको छ । तालिममा पहिलो चरणको अभ्यास पूरा गरिसकेका ‘जखेरा महिला पञ्चेबाजा समूह’ का १६ महिला सहभागी छन् ।
कात्तिक २१ गतेसम्म सञ्चालन हुने तालिममा पञ्चे बाजाका विभिन्न बाजा बजाउने कला, लय र तालिमसम्बन्धी सीपलाई थप परिष्कृत गरिने आयोजकले जनाएको छ ।
लमही नगरपालिका–३ का वडाध्यक्ष मनोजकुमार चौधरीले चालु आवमा विनियोजित बजेटबाट बेरोजगार तथा फुर्सदिला गृहिणी महिलालाई उद्यमशीलतातर्फ आकर्षित गर्न तालिम सञ्चालन गरिएको बताउनुभयो ।
देउखुरी क्षेत्रमा पञ्चेबाजा बजाउने समूहको सङ्ख्या न्यून छ । विवाह, व्रतबन्ध तथा अन्य शुभकार्यमा पञ्चे बाजाको उच्च माग हुने भएकाले उक्त सीप महिलाका लागि आम्दानीको राम्रो माध्यम बन्नसक्ने भन्दै तालिम दिन सुरु गरिएको चौधरीले बताउनुभयो ।
विगतमा सञ्चालित सीपमूलक तालिमबाट धेरै महिलाले मासिक रु १५ देखि २० हजारसम्म आम्दानी गर्न सफल हुनुभएको उहाँले बताउनुभयो ।
लमही नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मेनका खड्काले स्थानीय महिलाको बाजा बजाउनेतर्फ उत्साहजनक सहभागिता रहेकाले थप दक्ष बनाउन पुनर्ताजगी तालिम आयोजना गरिएको जानकारी दिनुभयो ।
परम्परागत रूपमा पुरुषले मात्र बजाउँदै आएको पञ्चेबाजामा महिलाको सहभागिताले लैङ्गिक समानता कायम गर्नुका साथै लोप हुने अवस्थामा पुगेको मौलिक संस्कृतिको जगेर्नामा टेवा पुग्ने विश्वास छ ।
तालिमको प्रशिक्षण गढवा पञ्चेबाजा समूहका रेशमबहादुर शाही र भीमबहादुर थापा क्षेत्रीले गरिरहनुभएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |