
सुदूरपश्चिम, १६ कात्तिकः कैलालीको धनगढी उपमहानगरपालिका–१८ मा फूलबारी नगर अस्पताल सञ्चालनमा ल्याएको छ । आज यहाँ आयोजित एक समारोहमा १५ शय्यासहित आधारभूत अस्पताल सेवा शुभारम्भ गरिएको हो ।
कार्यक्रममा उपमहानगर प्रमुख गोपाल हमालले नगर अस्पताल सञ्चालनपछि त्यस क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न उल्लेख्य टेवा पुग्ने विश्वास गर्नुभयो । उहाँले आफू नेतृत्वमा आइसकेपछि ग्रामीण क्षेत्रमा स्वास्थ्य, शिक्षालगायत पूर्वाधार स्थापना गरी नागरिकको घर आँगनमा सेवा विस्तार गर्न जोड दिइरहेको बताउनुभयो ।
उपमहानगर प्रमुख हमालले धनगढीको मुख्य बजार क्षेत्रमा मात्रै विकास केन्द्रित हुँदा यहाँका ग्रामीण क्षेत्रको विकास नहुने भन्दै आफूले नगरलाई विभिन्न पाँच ‘क्लस्टर’ मा विभाजन गरी सबै क्षेत्रको समानुपातिक विकासमा जोड दिइरहेको बताउनुभयो ।
उपमहानगर स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले एशियाली विकास बैंकको सहयोगमा कोरोना महामारीका समयमा निर्माण भएको भवनमा आधारभूत नगर अस्पताल सञ्चालनमा ल्याइएको बताउनुभयो । अस्पतालमा पहिलो चरणमा बहिरङ्ग सेवा (ओपिडी), एक्स–रे, प्रयोगशाला र फार्मेसी सेवा सञ्चालनमा ल्याइएको छ । दोस्रो चरणमा अन्तरङ्ग तथा आकस्मिकलगायत सेवा सुरु गरिने उहाँले बताउनुभयो । फूलबारी धनगढी बजारबाट करिब १५ किलोमिटर दूरीमा रहेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |