
काठमाडौँ, १६ कात्तिकः नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा काठमाडौँले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । काठमाडौँ पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।
यता कर्णालीको भने लगातार दोस्रो जित पछिको यो पहिलो हार हो । कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो भने दोस्रो खेलमा विराटनगर किङ्ग्समाथि चार विकेटको जित निकालेको थियो ।
आज कर्णाली याक्सले जितका लागि दिएको १८१ रनको लक्ष्य पच्छाएको काठमाडौँले १९ दशमलव चार ओभरमा छ विकेट गुमाउँदै पूरा गर्यो । काठमाडौँका लागि राशिद खानले उत्कृष्ट ब्याटिङ गर्दै ३३ बलमा सर्वाधिक ५० रन बनाए । उनले तीन चौका र दुई छक्का प्रहार गरे ।
त्यसैगरी कप्तान करण केसीले पनि आक्रामक ब्याटिङ गर्दै २० बलमा ४४ रन जोडे । उनले चार चौका र तीन छक्का प्रहार गरे । जाहन्दाद खानले अविजित २२ रन बनाए भने मोहम्मद आदिल आलमले २० रनको योगदान दिए ।
यता बलिङतर्फ कर्णालीका सोमपाल कामी र हुसेन तलातले समान दुई/दुई विकेट लिए भने मार्क वाट र नन्दन यादवले समान एक/एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १८० रनको योगफल बनाएको थियो । कर्णालीका लागि अरिफूल इस्लामले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४४ रन बनाए । उनले २२ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे ।
त्यस्तै हुसेन तलातले ३० बलमा ४० रन जोड्दा पवन सर्राफले अविजित ३० रन बनाए । गुल्शन झाले २० तथा मार्क वाटले १७ रनको योगदान दिए ।
काठमाडौँका लागि करण केसीले दुई विकेट लिए भने शाहब आलम, जाहन्दाद खान, देव शाह र सन्तोष यादवले समान एक/एक विकेट हात पारे । सोही स्थानमा आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |