
धनुषा, १५ कात्तिकः जनकपुरधाम-ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगर बजारमा निर्माणाधीन दुई वटा आकाशे पुल सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएसँगै रङरोगन तथा सौन्दर्यकरणको काम भइरहेकाले यथाशीघ्र सर्वसाधारणका लागि सञ्चालनमा ल्याउने गरी तयारी गरिएको हो ।
मधेस प्रदेशमा पहिलो पटक बनाइएका गरिएका यी दुई आकाशे पुल पैदलयात्रुको आवागमनलाई सुरक्षित र सहज बनाउने उद्देश्यले निर्माण गरिएको सडक डिभिजन कार्यालय मुजेलिया जनकपुरधामले जनाएको छ । सडकमा पैदलयात्रुको अत्यधिक चाप हुने क्षीरेश्वरनाथ-५ स्थित महिला विकास चोक, सखुवा चोक र लक्ष्मिनियाँ गाउँपालिकामा करिब रु १० करोड ५० लाखको लागतमा तीन वटा आकाशे पुल निर्माणको योजना अघि बढाइएको थियो । तीमध्ये महेन्द्रनगरका दुई वटा पुलको निर्माण सम्पन्न भइसकेको सडक डिभिजन कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर दरोगाप्रसाद साहले जानकारी दिनुभयो ।
उहाँका अनुसार सोही सडकखण्डअन्तर्गत लक्ष्मीनियाँ गाउँपालिकामा निर्माण भइरहेको तेस्रो पुलको काम पनि तीव्र गतिमा अघि बढेको छ । उक्त पुलको निर्माण मङ्सिर मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । दुई फरक निर्माण कम्पनीमार्फत पुल निर्माण भइरहेको कार्यालयले जनाएको छ ।
सडक डिभिजन कार्यालयका स्थलगत इञ्जिनियर उज्ज्वल झाका अनुसार प्रत्येक आकाशे पुलको उचाइ पाँच दशमलव छ मिटर, लम्बाइ २९ दशमलव चार मिटर र चौडाइ तीन मिटर रहेको छ । पुल सञ्चालनमा आएपछि पैदलयात्रुले व्यस्त सडकमा सवारीसाधनको जोखिम मोलेर सडक पार गर्नुपर्ने बाध्यता अन्त्य हुने उहाँले बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख एवं प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले आकाशे पुल सञ्चालनमा आएपछि सडक दुर्घटनाको जोखिम न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो । पूर्व-पश्चिम राजमार्ग हुँदै जनकपुरधाम प्रवेश गर्ने प्रमुख सडक भएकाले यस क्षेत्रमा दैनिक सयौँ पैदलयात्रुको आवागमन हुने बताउँदै उहाँले पुलको प्रयोगले पैदलयात्रुलाई सुरक्षित रूपमा सडक वारपार गर्न सहज हुने उल्लेख गर्नुभयो ।
स्थानीय बासिन्दाले पनि आकाशे पुल निर्माणलाई सकारात्मक रूपमा लिएका छन् । क्षीरेश्वरनाथ बहुमुखी क्याम्पसका प्राचार्यसमेत रहनुभएका स्थानीय शम्भुप्रसाद यादवले महिला विकास चोक र सखुवा चोक आसपास हाटबजार, शैक्षिक संस्था तथा बस्ती रहेकाले यसअघि सडक पार गर्न निकै जोखिम हुने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो क्षेत्रमा हाटबजार र विद्यालय सडक आसपासमा अवस्थित छन् । पहिले सडक पार गर्दा निकै जोखिम थियो । अब पुल सञ्चालनमा आएपछि विशेषगरी बालबालिका, विद्यार्थी र ज्येष्ठ नागरिकलाई राहत हुने विश्वास छ ।” जनकपुरधाम-ढल्केवर छ लेन सडक मधेस प्रदेशको प्रमुख व्यापारिक तथा यातायात मार्गका रूपमा मानिन्छ । दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्ने र घनाबस्ती तथा व्यापारिक क्षेत्र हुँदै जाने यस सडकमा पैदल यात्रुको सुरक्षालाई चुनौतीका रूपमा लिइँदै आइएको छ ।
आकाशे पुल सञ्चालनमा आएपछि सडक दुर्घटनाको जोखिम कम हुनुका साथै पैदलयात्रुको आवागमन व्यवस्थित हुने र व्यस्त सडकमा सवारीसाधनको निर्वाध आवागमनमा सहजता आउने अपेक्षा गरिएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |