
कास्की, १३ कात्तिकः पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस फेस्टिभल’ सुरु भएको छ । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले आयोजनामा तालको पहिचानलाई स्थानीय माछा, रैथाने खानपान र मौलिक संस्कृतिसँग जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले छैटौँ संस्करणको सो महोत्सव आयोजना गरिएको हो ।
‘माछाको स्वाद, संस्कृतिको पहिचान, हाम्रो मौलिकताको सम्मान’ भन्ने नारासहित महोत्सव २३ गतेसम्म चल्नेछ । महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, सांस्कृतिक संरक्षण र आर्थिक गतिविधि विस्तारमा जोड दिने आयोजकले जनाएको छ ।
महोत्सवको उद्घाटन गर्दै महानगर प्रमुख धनराज आचार्यले महानगर क्षेत्रभित्र रहेका सबै तालहरूलाई आपसमा जोड्ने ‘कनेक्टिभिटी’ निर्माणको काम अविलम्ब सुरु गरिने बताउनुभयो । “तालहरूको संरक्षण, प्रवर्द्धन र पर्यटन विकासलाई एकीकृत रूपमा अघि बढाउने महानगरको योजना छ”, प्रमुख आचार्यले भन्नुभयो ।
तालचोक–बेगनास सडक निर्माणको काम सम्पन्न हुने चरणमा रहेको उल्लेख गर्दै प्रमुख आचार्यले बेगनास तालमा ‘वाटर स्पोट्र्स’सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।
शिशुवाचोकदेखि खुदीखोला पुलसम्मको सडक निर्माण भइसकेको र खुदीखोलादेखि रूपातालसम्मको सडकसमेत निर्माणको चरणमा रहेको उहाँले जानकारी दिनुभयो । यी पूर्वाधारले बेगनास र रूपाताल क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
महोत्सवमा बेगनास तालमा पाइने विभिन्न प्रजातिका स्थानीय माछाहरूको प्रदर्शनीसँगै माछाका स्वादिष्ट परिकारहरूको स्वाद लिन सकिने आयोजक संस्थाका अध्यक्ष सुरेश लामिछानेले जानकारी दिनुभयो । स्थानीय उत्पादन, मौलिक स्वाद र पर्यटनलाई एकै ठाउँमा जोड्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको उहाँले बताउनुभयो ।
फेस्टिभल अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । ‘फिस फेस्टिभल’ले बेगनास तालको पर्यटकीय पहिचान विस्तार गर्नुका साथै स्थानीय माछा व्यवसाय, होटल तथा रेस्टुरेन्ट व्यवसाय र समग्र आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
बेगनास ताल माछाको विविधताका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ । यहाँ स्वदेशी प्रजातिका साथै व्यावसायिक उत्पादनका लागि भित्र्याइएका बाह्य प्रजातिका माछा पाइन्छन् । यसअघिको एक अध्ययनमा बेगनासमा १७ प्रजातिका माछा अभिलेख गरिएको थियो ।
तीमध्ये ११ स्वदेशी र छ बाह्य प्रजातिका थिए । स्वदेशी प्रजातिमा सहर, कत्ले, चचुने, फगेटा, पोथी तथा अन्य साना प्रजातिका माछा अभिलेख गरिएका छन् । व्यावसायिक रूपमा पालिने बाह्य प्रजातिमा तिलापिया, सिल्भर कार्प, बिगहेड कार्प, ग्रास कार्प र कमन कार्पजस्ता माछा पर्छन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पोखराका तालहरूलाई विशेषता र सम्भावनाअनुसार विकास गर्नुपर्नेमा जोड दिनुभयो । “तालहरूको पहिचान स्थापित गर्दै व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सके पोखरालाई तालैतालको पर्यटकीय सहरका रूपमा विकास गर्न सकिन्छ”, भुजेलले भन्नुभयो ।
महोत्सवबाट बचत भएको रकम तालबाराही, गोरखनाथ मन्दिर तथा बेगनास ताल क्षेत्रको विकासमा खर्च गर्ने योजना रहेको आयोजकले जनाएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |