
कास्की, १३ कात्तिकः पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय लगानी वृद्धि तथा पर्यटन, सूचना प्रविधि र व्यापारका क्षेत्रमा सहकार्यका बारेमा छलफल भएको छ ।
थाइल्यान्डको उद्योग मन्त्रालयका सल्लाहकार दीपेन्द्र देसार नेतृत्वको प्रतिनिधिमण्डल र पोखरा उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच बिहीबार भएको छलफल तथा अन्तक्र्रियामा द्विपक्षीय सहकार्य गरेर अघि बढ्ने सहमति भएको हो ।
थाइल्यान्डमा लामो समयदेखि बस्दै आउनुभएका नेपालीमूलका देसार सूचना प्रविधि, पर्यटन तथा आयात–निर्यात व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँले पोखराका उद्योगी व्यवसायीलाई थाइल्यान्डको बजारसम्म पुग्न सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष शोभा गौतमले थाइल्यान्डका साना तथा मझौला व्यवसायका उत्पादन नेपाली बजारमा भित्र्याउने र नेपाली उत्पादनलाई थाइल्यान्डमा थप बजार उपलब्ध गराउने विषयमा सहकार्य गर्न सकिने बताउनुभयो ।
नेपालबाट थाइल्यान्डमा गलैँचा, मासु, स्टेसनरी सामग्रीलगायतका वस्तु निर्यात हुँदै आएको उल्लेख गर्दै उहाँले नेपाली उत्पादनको निर्यात बढाउन गुणस्तर अभिवृद्धिमा सहयोग गर्न थाइ प्रतिनिधिमण्डलसँग आग्रह गर्नुभयो ।
“बौद्धमार्गी थाइल्यान्ड र बुद्धको जन्मभूमि नेपालबीच पर्यटन आदानप्रदान विस्तारको ठूलो सम्भावना छ । यहाँका प्राकृतिक, सांस्कृतिक तथा धार्मिक सम्पदालाई थाइल्यान्डको पर्यटन बजारसँग जोड्न सके दुवै देश लाभान्वित हुनसक्छ”, अध्यक्ष गौतमले भन्नुभयो ।
अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारका रूपमा रहेको पोखरा र आसपासका क्षेत्रमा अन्तरराष्ट्रिय होटलका चेनहरू स्थापित भइसकेको उल्लेख गर्दै अध्यक्ष गौतमले थाइ व्यवसायीलाई यहाँ होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न र पर्यटन क्षेत्रमा लगानी गर्न सङ्घले सहजीकरण गर्ने बताउनुभयो ।
छलफलका क्रममा थाइ प्रतिनिधिमण्डलले दुवै देशका व्यवसायीलाई सहभागी गराएर बिजनेस एक्सपो आयोजना गर्ने प्रस्ताव गरेको थियो । प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै अध्यक्ष गौतमले पोखरा उद्योग वाणिज्य सङ्घ यस्तो कार्यक्रम आयोजना गर्न इच्छुक र सक्षम रहेको बताउनुभयो ।
कार्यक्रममा थाइल्यान्डको उद्योग मन्त्रालयका सल्लाहकार देसारले आफ्नो भ्रमणको उद्देश्य दुई देशका व्यवसायीबीच दीर्घकालीन सम्बन्ध स्थापना गर्नु रहेको बताउनुभयो । उहाँले थाइल्यान्ड सरकारको उद्योग मन्त्रालयका सल्लाहकारका रूपमा नेपाली उत्पादनलाई थाइल्यान्डको बजारसम्म पुर्याउन सहजीकरण गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
“हामी पर्यटन र सेवा क्षेत्रमा पनि सहकार्य गर्न सक्छौँ । थाइ लगानी नेपाल भित्र्याउन सहजीकरण गर्नुका साथै थाइ उत्पादन नेपाल आयात गर्ने व्यवसायीलाई पनि सहयोग गर्न तयार छौँ”, उहाँले भन्नुभयो ।
अन्तक्र्रियामा सङ्घका पदाधिकारी तथा सदस्यहरूले दुई देशबीच व्यावसायिक साझेदारी विस्तार गर्न सकिने क्षेत्र, लगानीका अवसर र सहकार्यका सम्भावनाबारे आगामी दिनमा समेत छलफल र सहकार्य आवश्यक रहेकामा जोड दिएका थिए ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |