
म्याग्दी, १२ कात्तिकः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा जुटेका छन् ।
गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि गएको पहिरोले पाउद्वारसहित गिवाङ, नेपाने, किन्दु, धोस्केखोर र घिरवाङका बस्ती पनि प्राकृतिक नाकाबन्दीमा परेका छन् । पाउद्वारका बासिन्दासमेत रहेका अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा पुनले खानेपानी, पदमार्ग र विद्युत् मर्मतका लागि श्रमदान चलिरहेको जानकारी दिनुभयो ।
“तीन वटा टोलको फरकफरक समूह बनाएर क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “यसै हप्तादेखि विद्युत् सेवा सञ्चालन भएको छ । घारदेखि पाउद्वार र पाउद्वारदेखि पर्यटकीयस्थल खोपारा जाने पदमार्ग सञ्चालन भइसकेको छ ।”
पछिल्लो केही दिनयता खानेपानी आपूर्ति सहज बनाउनका लागि श्रमदान चलिरहेको छ । हेलिकप्टरबाट ट्रान्सफर्मर लगेर विद्युत् आपूर्ति सञ्चालन गरिएको हो । पाउद्वारका बासिन्दा हरि तिलिजाले सरकारी निकायको सहयोगको आश गर्दा ढिलाइ र दुःख हुने भएकाले सम्भव भएका काम श्रमदानबाट गरिएको बताउनुभयो ।
गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घारखोला, नेपाने, पाउद्वार, घिरबाङ, किन्दु र धोस्केखोर हुँदै वडा कार्यालय रहेको शिख जोड्ने सडक पहिरोले क्षत्विक्षत बनाएको छ । सडकमा पैदल हिँड्नसमेत कठिन छ । खाद्यान्न र दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने खच्चरसमेत हिँडाउन सकिने अवस्था छैन । खच्चर र घोडामार्फत खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज हुने भएकाले पदमार्ग मर्मतमा जुटेको स्थानीयवासी जसे पुनले बताउनुभयो । दुई सयभन्दा बढी घर रहेको पाउद्वारका चार वटा टोलमा यसअघि १७० घरपरिवारको बसोबास थियो । विपद्का बेला हेलिकप्टरबाट उद्धार गरिएका गाउँलेसहित विस्थापित परिवार आश्रयस्थलबाट आफन्त र छिमेकीको घरमा सरेका छन् ।
गाउँ फर्किने बाटो र आधारभूत सेवा अवरुद्ध भएपछि पाउद्वारका बासिन्दा आफ्नै गाउँमा सहज रूपमा बस्न पाउनेमा ढुक्क हुन सकेका छैनन् । आगामी वर्षायाममा फेरि यस्तै विपद् दोहोरिने हो कि भन्ने चिन्ता उनीहरूमा रहेको छ । पहिरोले गाउँका बस्ती, आवागमन र आधारभूत सेवा प्रभावित भएपछि पाउद्वारका बासिन्दा तत्काल राहतसँगै दीर्घकालीन सुरक्षित बसोबासको प्रतीक्षामा छन् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |