Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक उपचार गर्नका लागि म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिंगा–तातोपानी कुण्डमा आउनुभएको छ ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १३, बिहिबार (१ दिन अघि)
सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी, १२ कात्तिकः ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक उपचार गर्नका लागि म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिंगा–तातोपानी कुण्डमा आउनुभएको छ ।

“पहिलो पटक श्रीमतीलाई लिएर आएको थिए । १५ दिनसम्म तातोपानीमा डुबेपछि उहाँको स्वास्थ्यमा राम्रो सुधार भयो । त्यसपछि म पनि ढाड दुख्ने समस्या कम हुने आशाले यहाँ आएको हुँ,” सुवेदीले भन्नुभयो ।

सुवेदीजस्तै देशका विभिन्न स्थानबाट स्वास्थ्य सुधार हुने आशा लिएर सिंगा तातोपानी कुण्डमा आउनेको सङ्ख्या बढ्दै गएको छ । दसैँतिहारको बिदा र चिसो बढ्न थालेसँगै यस कुण्डमा स्नान गर्ने पाहुनाको चहलपहल बढेको हो ।

बागलुङ नगरपालिका–५ का केशवबहादुर केसी २०५८ सालमा दुर्घटनामा परेर खुट्टा भाँचिएपछि लामो समयदेखि दुखाइको समस्या भोग्दै आउनुभएको छ । शिक्षक पनि रहनुभएका केसी विगत १० वर्षदेखि हरेक वर्ष दसैँतिहारको बिदामा सात दिनका लागि तातोपानी कुण्डमा स्नान गर्न आउनुहुन्छ । कुण्डमा डुबेपछि दुखाइ कम हुने गरेको उहाँको अनुभव छ ।

काठमाडौँकी राधादेवी शर्मा पनि २०६३ सालदेखि हरेक वर्ष तातोपानी कुण्डमा स्नान गर्न आउने गर्नुभएको छ । नसा च्यापिने र कम्मर दुख्ने समस्या भएपछि कुण्डमा आउन थालेको उहाँले बताउनुभयो । आमा, बुबा र छिमेकी यहाँ आएर स्नान गरेको अनुभव सुनाउँदै उहाँले तातोपानीले शरीर हलुका हुने र ग्यास्ट्रिकको समस्या कम भएको बताउनुभयो ।

“घरमा बाथटब बनाएर तातोपानीमा डुब्नु र यहाँ प्राकृतिक रूपमा निस्किएको तातोपानीमा शरीर डुबाएर स्नान गर्नुमा फरक छ । यहाँको वातावरण र प्राकृतिक पानीले थप सहज महसुस हुन्छ,” शर्माले भन्नुभयो ।

दुखाइ कम हुने आशा

बागलुङका सरिता केसीका लागि सिंगा तातोपानी कुण्डको अनुभव नयाँ हो । छिमेकीबाट कुण्डबारे जानकारी पाएपछि उहाँ यसपालि दसैँको बिदा मिलाएर यहाँ आउनुभएको हो । दसैँअघि स्कुटर दुर्घटनामा परेपछि औँलाको नसा च्यापिने र टाउको दुख्ने समस्या भएपछि स्नान गर्न आएको उहाँले बताउनुभयो । कुण्डमा स्नान गरेपछि दुखाइमा सुधार भएको र शरीरमा स्फूर्ति आएको उहाँको अनुभव छ ।

“यहाँको वातावरणमा आइपुग्दा मन हलुका भएको महसुस भयो । स्नान गरेपछि शरीरलाई आराम मिलेको छ,” केसीले भन्नुभयो । पर्वतको कुश्मा नगरपालिका–११ पकुवाकी सीता तिमिल्सिना चार वर्षदेखि नियमित रूपमा तातोपानी कुण्डमा आउनुहुन्छ । चिसो बढ्दा दमको समस्या बल्झिने गरे पनि यहाँ स्नान गरेपछि सहज महसुस हुने उहाँले बताउनुभयो । आफ्नो स्वास्थ्यमा सुधार भएको अनुभवपछि आफन्त र दिदीबहिनीलाई स्नान गराउन ल्याएको उहाँको भनाइ छ ।

पाल्पाको रम्भा गाउँपालिका–४ की मनिषा भट्टराई पौडेल पनि यसपालि दोस्रो पटक कुण्डमा आउनुभएको हो । गत वर्ष पहिलो पटक कुण्डमा स्नान गरेको केही समयपछि नसासम्बन्धी समस्यामा सुधार भएको उहाँको अनुभव छ । “जेठाजु र जेठानीको सल्लाहमा गत वर्ष पहिलो पटक यहाँ आएकी थिएँ । स्नान गरेपछि स्वास्थ्यमा सुधार भयो । यसपालि आमा र परिवारका अन्य सदस्यसहित पाँच जनाको टोली आएका छौँ,” पौडेलले भन्नुभयो ।

उहाँका श्रीमानलाई पनि युरिक एसिड र ग्यास्ट्रिकको समस्या थियो । कुण्डमा स्नान गर्न थालेपछि स्वास्थ्यमा सुधार भएको उहाँले बताउनुभयो । म्याग्दीको मालिका गाउँपालिका–४ का फाले सुनारले पनि तातोपानीमा स्नान गर्दा अस्पताल आउजाउ गर्न र औषधि किन्न लाग्ने खर्च तथा समय बचत भएको अनुभव सुनाउनुभयो ।

दैनिक सात सयसम्मले गर्दैछन् स्नान

सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काका अनुसार दसैँलगत्तै दैनिक छ सयदेखि सात सय जनासम्मले कुण्डमा स्नान गरिरहेका छन् । विगतका वर्षमा असोज र कात्तिक महिनामा दैनिक एक हजार ५०० जनासम्म स्नान गर्न आउने गरेका थिए । “कुण्डमा एकपटकमा २५० जनासम्मले स्नान गर्न मिल्छ । महिला र पुरुषका लागि छुट्टाछुट्टै समयतालिका बनाइएको छ,” अध्यक्ष खड्काले भन्नुभयो ।

गत वर्ष नेपालका ७७ वटै जिल्लाका साथै विदेशबाट पनि गरी २१ हजारभन्दा बढी व्यक्ति प्राकृतिक तातोपानीमा स्नान गर्न आएको कुण्ड व्यवस्थापन समितिका कर्मचारी रेशम कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ५ः३० देखि साँझ ५ः३० बजेसम्म महिला र पुरुषका लागि छुट्टाछुट्टै समूह बनाएर स्नानको व्यवस्था मिलाइएको छ । असोजदेखि वैशाखसम्मको समयलाई तातोपानी कुण्डमा स्नान गर्ने मुख्य यामका रूपमा लिइन्छ ।

म्याग्दी नदीको किनारमा प्राकृतिक रूपमा निस्कने तातोपानीलाई पोखरीमा सङ्कलन गरेर स्नान गर्ने व्यवस्था मिलाइएको छ । करिब ५० डिग्री सेल्सियस तापक्रममा निस्कने पानीमा बिरेनुनको जस्तो गन्ध आउने कुण्ड व्यवस्थापन समितिका सचिव अमर केसी (कुमार)ले बताउनुभयो ।

स्थानीयवासी तथा यहाँ आउने पाहुनाले तातोपानीमा स्नान गर्दा छाला, बाथ, ग्यास्ट्रिक तथा चोटपटकका कारण हुने दुखाइमा राहत मिल्ने विश्वास गर्छन् । स्नानसँगै तातोपानी पिउने चलन रहेको छ । काठमाडौँकी सविना शर्माले पनि स्नान र तातोपानी सेवनपछि स्वास्थ्यमा फाइदा भएको अनुभव सुनाउनुभयो ।

कुण्डमा सात दिन स्नान गर्न प्रतिव्यक्ति रु ३५० र नौ दिनका लागि रु ५०० शुल्क निर्धारण गरिएको छ । प्रवेश शुल्कबाट उठेको रकमको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाउने गरिएको समितिले जनाएको छ ।

बाढीले क्षति पु¥याएपछि पुनः सञ्चालन

गत असोजको अविरल वर्षापछि आएको बाढी र पहिरोले सिंगा तातोपानी कुण्डमा क्षति पु¥याएको थियो । बाढीले कुण्डमा हिलो र फोहोर थुपारेपछि स्थानीयवासी तथा सरोकारवालाले श्रमदान गरेर सरसफाइ र पहिरो पन्छाउने काम गरेका थिए । त्यसपछि असोज २७ गतेदेखि कुण्ड नियमित रूपमा सञ्चालनमा आएको हो ।

बाढीपहिरोले कुण्डका भौतिक संरचनामा करिब रु तीन करोड बराबरको क्षति पु¥याएको प्रारम्भिक अनुमान छ । छोटो अवधिका लागि आउने पाहुनाले स्नान गर्ने पोखरीमा क्षति पुगेकाले त्यो अझै सञ्चालनमा आउन सकेको छैन । कुण्डको संरक्षण तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सर्वेक्षण र लागत अनुमान तयार गरी सरकारसँग बजेट माग गरिएको व्यवस्थापन समितिले जनाएको छ । बाढीले स्नान गर्ने क्षेत्र साँघुरिएकाले व्यवस्थापनमा चुनौती थपिएको छ ।

पाहुनाको चहलपहलले होटल व्यवसायमा उत्साह

तातोपानी कुण्डमा स्नान गर्न देशका विभिन्न ठाउँबाट पाहुना आउन थालेपछि स्थानीय होटल तथा घरबास व्यवसायमा पनि चहलपहल बढेको छ । होटल व्यवसायी समिति तातोपानीका अध्यक्ष सीता घलेका अनुसार यहाँका होटल र घरबासका कोठा पाहुनाले भरिन थालेका छन् ।

“यहाँ सानाठूला गरी २० वटा होटल छन् । पाहुनाले घरका कोठा र ग्यास भाडामा लिएर आफैँ खाना पकाएर बस्न पनि सक्छन्,” घलेले भन्नुभयो । म्याग्दी नदीमा पाइने असला माछा यहाँको विशेष परिकार हो । प्राकृतिक तातोपानीमा स्नान गर्ने, स्थानीय वातावरणमा रमाउने र यहाँका परिकारको स्वाद लिने अवसरले पनि पाहुनालाई आकर्षित गरेको व्यवसायीको भनाइ छ ।

प्राकृतिक रूपमा निस्कने तातोपानी, स्थानीयको आतिथ्य र सहज बसोबासको व्यवस्थाले सिंगा तातोपानी कुण्डलाई म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पु¥याएको छ । स्वास्थ्यसम्बन्धी विभिन्न समस्या लिएर आउने पाहुनाले यहाँ स्नानपछि राहत मिलेको अनुभव सुनाएपनि थप वैज्ञानिक अनुसन्धानको आवश्यकता देखिएको छ ।

  • काठमाडौँ
  • नवलपुर
  • पर्वत
  • पाल्पा
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    ‘अर्नब’को प्रभावः कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

  • ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रमः सेलरोटी र छोइलामा रमाए पाहुना

    ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रमः सेलरोटी र छोइलामा रमाए पाहुना

  • कृषि जेटिएको फूलखेती

    कृषि जेटिएको फूलखेती

  • Post Thumbnail

    मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    जडीबुटी बेचेर चार करोड राजस्व असुली

    Post Thumbnail

    जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

    Post Thumbnail

    अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

    Post Thumbnail

    ‘अर्नब’को प्रभावः कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution