Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

रौनक हराएको दसैँ

यतिबेला कतै दसैँको रौनक छ, कतै सुनसान त कतै मिलनको खुसी छ र कतै बिछोडको पीडा । कतै परदेशिएका आफन्त घर फर्किरहेका छन्, कतै आफ्नै थातथलो छाडेर परदेशिने यात्रामा छन् ।
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ४, मंगलबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, ३ कात्तिकः यतिबेला कतै दसैँको रौनक छ, कतै सुनसान त कतै मिलनको खुसी छ र कतै बिछोडको पीडा । कतै परदेशिएका आफन्त घर फर्किरहेका छन्, कतै आफ्नै थातथलो छाडेर परदेशिने यात्रामा छन् । कतिका घरआँगन दसैँको स्वागतमा सिँगारिएका छन्, कतिका घरआँगन गत भदौ १० को भोटेकोशी बाढीले बगाएर उराठलाग्दो बगर छ ।

दसैँको रौनकले गाउँबस्ती छपक्कै छोपेका बेला गोरखाको पालुङटार नगरपालिका–५ को परिवेश भने फरक छ । यहाँ विगतका वर्षमा झैँ दसैँको चहलपहल छैन, न त आफन्त भेटघाटको उल्लास नै । गाउँमा दसैँ त आएको छ तर दसैँको कुनै रौनक छैन । विगतमा खुसी र उमङ्ग लिएर भित्रिने दसैँ यस वर्ष पीडा बोकेर भित्रिएको छ ।

गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले यहाँका ३० जना छिमेकीलाई एकैपटक बेपत्ता बनायो । त्यसपछि गाउँको खुसी पनि त्यही विनाशकारी बाढीसँगै बगेजस्तै भएको छ । कतिका न लास भेटियो, न श्वास । कुशको प्रतिमा बनाएर काजक्रियासमेत गरिसकेका छन् आफन्तले ।

गत भदौ १० गते बिहान करिब ४ः३० बजे पालुङटार नगरपालिका–५ बाट ३६ यात्रु बोकेको पृथ्वी यातायातको ग२ख ११५२ नम्बरको बस रसुवाको गोसाइँकुण्ड यात्राका लागि निस्किएको थियो । धार्मिक यात्रामा निस्किएका ती यात्रुका परिवारमा आफ्ना मान्छे सकुशल फर्किने अपेक्षा थियो तर भोटेकोशीमा आएको बाढीले ३० जनाको जीवनको यात्रा टुङ्ग्याएको थियो ।

गाउँका ३६ जनालाई सुरक्षित यात्रा गराउने लक्ष्य लिएर हिँडेका चालक सागर देवकोटा आफैँ सकुशल रहन पाएनन् । त्यस दिनदेखि भावविह्वल बन्नुभएका बुबा टीकाराम देवकोटालाई दसैँले झन् पीडा थपेको छ । टीकारामले छोरा मात्रै होइन, श्रीमती राममाया देवकोटालाई पनि गुमाउनुभयो । “हाम्रो त्यही एउटा गाडी थियो । छोरा आफैँले चलाउँथ्यो । त्यस दिन बिहानै हिँडेको छोरा र श्रीमतीलाई पनि बाढीले बगायो । अरू आफन्त मैले गुमाएँ,” उहाँ भन्नुहुन्छ, “यो दसैँ सुरु भएदेखि नै झन्झन् विगतका सम्झनाले झस्काउँछ । अरूको घरमा रमझम छ, हाम्रो घरमा तनाव छ । कहिले सकिएला जस्तो लाग्छ ।” अहिले घरमा उमेरले ८० कटेका बुढा बा, सुस्त मनस्थितिकी एउटी छोरी, बुहारी र पाँच वर्षीया नातिनी छन् । छोराकै भरमा परिवारको खर्च टथ्र्यो । अहिले त कसरी जीवन चलाउने भन्ने अनिश्चितता छ । एउटै डोकोमा सुख–दुःख बुन्दै जीवनका हरेक उतारचढावमा सँगै हिँड्नुभएका बुबा रामहरि र आमा कमला भोटेकोशी बाढीमा पर्नुभएदेखि नै छोरा सागर देवकोटाका आँखा ओभाएका छैनन् । परदेशबाट कहिले दसैँ आउला र बुबाआमासँगै दसैँ मनाउन गाउँ जान पाइएला भनेर हतारिने सोही गाउँका सागरले अब कहिल्यै पनि बुबाआमाको हातबाट टीका लगाउन पाउनुहुन्न ।

आमाले रातो माटोले घर पोतेर सजाएपछि, बुबाले दसैँका लागि खसीको जोहो गरेपछि दसैँ आएको महसुस हुने सागरलाई अब बाबा–आमाको साथ नै छैन । उहाँसँग सम्झना मात्रै छ, बाबा–आमा हुनुहुन्न । तर यो यथार्थ पत्याउन पनि मन मानिरहेको छैन । अझै बुबाआमा फर्केर आइहाल्नुहुन्छ कि भन्ने झल्कोले सताउन छाडेको छैन । “जीवनभर एक–अर्काको छहारी बनेर बाँच्नुभएका बुबा आमाले जाँदा पनि कसैलाई एक्लै छाड्न रुचाउनुभएन । जिउँदा पनि सँगै, मर्दा पनि सँगै भन्ने बोलीलाई उहाँहरूले आफ्नै जीवनको अन्तिम सत्य बनाइदिनुभयो,” उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको यो भावुक स्टाटसले जो कोहीको मन भारी बनाउँछ ।

एउटै आँगनमा हुर्किएको माया, एउटै चुलोमा पाकेको सम्बन्ध र वर्षौँसम्म जोडिएको मुटुको धड्कन अन्तिम श्वासमा पुगेर पनि अलग्गिन मानेन सायद भन्दै सागर मनको बह पोख्नुहुन्छ । “एउटै चितामा आमाको पार्थिव शरीर र बुबाको कुशको शव लहरै राखेर दागबत्ती दिँदा पञ्चतत्वमा बिलाउँदै गरेको त्यो आगोले शरीरलाई मात्र होइन, उहाँहरूको अटुट प्रेम र समर्पणलाई पनि अमर बनाइदिँदोरहेछ,” उहाँ भन्नुहुन्छ ।

बुबाको सामीप्य र आमाको न्यायो काख एकैपटक गुमाउनुको पीडा सन्तानका लागि पहाड खसेसरह हुँदो हो । घरको मूल खम्बा र ममताको खानी दुवै अचानक ढल्दा सागरलाई सिङ्गो संसार नै रित्तो जस्तो लागिरहेको छ । “विगतमा दसैँ आउँदा गाउँमा बेग्लै रौनक हुन्थ्यो । परदेश गएकाहरू घर फर्किन्थे, आफन्त जम्मा हुन्थे, भेटघाट र रमाइलो हुन्थ्यो तर यस वर्ष गाउँमा दसैँको कुनै उल्लास छैन,” पालुङटार नगरपालिका–५ का वडाध्यक्ष दीपक पाण्डे भन्नुहुन्छ । उहाँका अनुसार उक्त गाडीमा ३६ जना यात्रु सवार थिए । तीमध्ये छ जना सकुशल सम्पर्कमा आएका छन् भने ३० जना अझै बेपत्ता छन् । तीमध्ये कमला देवकोटा, केदार पण्डित, सुजता कौडाल, तारा रानाभाट र सुमी कुमालको सनाखत भएर काजक्रिया सकिएको छ ।

भोटेकोशीको बाढीमा आफ्ना ३० जना छिमेकी बेपत्ता भएपछि गाउँ शोकमा डुबेको पाण्डे बताउनुहुन्छ । चाडपर्वको समय भए पनि कसैको मन रमाउन सकेको छैन । अरू गाउँमा दसैँको चहलपहल बढिरहेका बेला यहाँका परिवार भने आफ्ना मान्छे फर्किने प्रतीक्षामा छन् । त्यसयता गाउँका कतिपय घरमा चुलो त बल्छ तर मनमा खुसी बल्न सकेको छैन ।

दसैँका लागि आवश्यक सामान किनमेल गर्ने, घर सफा गर्ने, आफन्तको स्वागत गर्ने र परिवारसँगै बसेर चाड मनाउने तयारीमा जुट्नुपर्ने बेला गाउँ नै प्रियजनको सम्झनामा टोलाइरहेको छ । “दसैँमा घर फर्किनेहरूको लर्को लाग्दा यहाँ भने आफ्ना प्रियजन कहीँकतैबाट फर्किहाल्छन् कि भनेर झुक्किन्छन् । चाडपर्वले परिवारसँगको सामीप्य र मिलनको खुसी बाँड्ने भए पनि यही समय कसैका लागि पीडा सम्झाउने क्षण बनेको छ,” पाण्डे भन्नुहुन्छ ।

दसैँलाई मीठा परिकार खाने, टीका र जमरा लगाउनुका साथै परिवार तथा आफन्तसँग भेटघाट गर्ने, दुःखसुख साट्ने र वर्षभरिका थकान बिर्सिने अवसरका रूपमा लिइन्छ तर यसपटक भोटेकोशी बाढीले आफन्त गुमाउनेहरूका लागि भने दसैँ आएको भन्दा नआएकै भए हुन्थ्यो जस्तो लाग्छ ।

मृत्यु दर्ताको प्रतीक्षामा परियार भोटेकोशीमा आएको विनाशकारी बाढीले कसैको घर बगायो, कसैको गाउँ उजाड्यो । कसैले आफन्त गुमाए, कसैले आफ्नो जीवनको आधार नै । बाढीले खोसेको त्यो संसार फर्किने सम्भावना छैन तर बाढीमा परेर ज्यान गुमाएका वा बेपत्ता भएका आफन्तको कानुनी पहिचान अब टुङ्गिए हुन्थ्यो झैँ लाग्छ टीकारामलाई । “छोरा र श्रीमती त अब फर्केर आउँदैनन् । बाँच्नेको जीवनलाई केही सहज बनाउन राज्यले अब उनीहरूको मृत्यु दर्ताको प्रमाणपत्र दिए हुन्थ्यो । बीमालगायतका सुविधा पाइन्थ्यो कि भन्ने आशा छ,” उहाँ भन्नुहुन्छ ।

बाढीमा परी मृत्यु भएका तथा बेपत्ता भएका बुबाआमाको मृत्यु दर्ता, कानुनी हकदाबी, राहत र क्षतिपूर्तिको प्रक्रिया सहज नहुँदा प्रभावित परिवार दोहोरो पीडा भोग्न बाध्य भएको बताउनुहुन्छ सागर देवकोटा । एकातिर आफन्त गुमाउनुको असह्य पीडा छ, अर्कातिर कानुनी कागजातको अभावमा पाउनुपर्ने राहत र सेवा–सुविधाका लागि भौँतारिनुपर्ने अर्को बाध्यता छ । “बाढीमा परी मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक मृत्यु दर्ता, हकदाबी, क्षतिपूर्ति र राहतका लागि आवश्यक कानुनी प्रक्रिया सुल्झिन नसक्दा हामी पीडितहरू झन् मारमा परेका छौँ,” सागर भन्नुहुन्छ ।

मृत्यु दर्ताको प्रमाणपत्रसँग राहत, क्षतिपूर्ति, सम्पत्तिको हक र पारिवारिक अधिकारसमेत जोडिएका छन् । तर, बेपत्ता भएका व्यक्तिको कानुनी अवस्था स्पष्ट नहुँदा परिवारका सदस्यले सामान्य अवस्थामा प्राप्त गर्नुपर्ने सेवासमेत लिन नसकेको यहाँका पीडितको गुनासो छ । मृत्यु दर्ता प्रमाणपत्र र बेपत्तासम्बन्धी कानुनी कागजातको अभावमा गण्डकी प्रदेश सरकारले घोषणा गरेको राहत रकम प्राप्त गर्न कठिनाई भएको उनीहरूको भनाइ छ । वडाध्यक्ष पाण्डेले मृतकका नाममा रहेको सम्पत्तिको हकदाबी, बैंक तथा बीमासम्बन्धी प्रक्रिया र अन्य सरकारी निकायबाट प्राप्त हुने सेवा–सुविधामा समेत अवरोध पुगेको बताउनुभयो ।

अझै पनि बाँकी छ मानसिक सन्त्रास त्यस दिन उक्त गाडीको सहचालक हुनुहुन्थ्यो गोरखा, सिरानचोक गाउँपालिका खमारीका निरज भण्डारी । बिहान झिसमिसे उज्यालो नहुँदै हिँडेको उक्त गाडी गल्छीमा नास्ता खान रोकेपछि नुवाकोटतर्फ अघि बढ्यो । गल्छीमा नै हुँदा रसुवाबाट बाढी आएको छ रे भन्ने गाईँगुईँ कुरा सुनिएको थियो तर त्यस्तो महाविपत्ति होला भनेर कसैले पत्ताएनन् ।

यात्रुहरू आ–आफ्नै कुराकानीमा थिए । बाहिर घाम लागिरहेको थियो । त्रिशूली नदी पनि सधैँ झैँ आफ्नै गतिमा सुस्तरी बगिरहेको देखिन्थ्यो । नुवाकोटको भैँसे भन्ने स्थानमा पुगेपछि कसैले अचानक भन्यो, “बाढी आइरहेको छ, भागौँ–भागौँ ।” तर त्यो आवाजलाई कसैले गम्भीरतापूर्वक लिएनन् । केही क्षणअघिसम्म सामान्य देखिएको वातावरण एकाएक बदलियो । गड्याङ–गुडुङको आवाज सुनियो । त्यो आवाज सामान्य थिएन । मानौँ कुनै ठूलो प्रलय आउनुअघि प्रकृतिले दिएको अन्तिम सङ्केत थियो ।

“गाडी रोक, गाडी रोक !” अचानक चर्को आवाज आयो । ढोकानजिकै बसेका सहचालक निरजले माथिबाट माटो, ढुङ्गा र लेदो मिसिएको ठूलो बाढीको छाल आउँदै गरेको देख्नुभयो । भागेर माथि पुगेर तल फर्केर हेर्दा गाडी बगिरहेको थियो ।

भेलसँगै बगिसकेको गाडीलाई निरज चाहेर पनि केही गर्नसक्ने अवस्थामा हुनुहुन्नथ्यो । “आफू बाँचेको खुसीभन्दा पनि आफूलाई माया गर्ने सागर दाइलगायत आफूसँगै आएका ३० जनाभन्दा बढीलाई बाढीले बगाएको सम्झँदा धेरै दुःख लाग्छ,” निरज भन्नुहुन्छ, “त्यो दिन सम्झँदा अझै डर लागिरहेको छ ।” बाँचेर आउने अन्य रविन्द्र देवकोटा, तुलराम देवकोटा, बाबुराम देवकोटा र पार्वती न्यौपानेका लागि पनि उक्त घटना सम्झँदा अझै मन तर्सिरहेको छ ।

  • काठमाडौँ
  • गोरखा
  • नुवाकोट
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • आलेखः रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

    आलेखः रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

  • आलेखः दसैँको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

    आलेखः दसैँको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

  • विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

    विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

  • स्वाद मात्र होइन नेपाली संस्कृति पनि होः वरिष्ठ सेफ केसी

    स्वाद मात्र होइन नेपाली संस्कृति पनि होः वरिष्ठ सेफ केसी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आलेखः रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

    आलेखः रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

    आलेखः दसैँको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

    आलेखः दसैँको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

    Post Thumbnail

    ‘एनपिएल’का सबै खेलमा ‘डिआरएस’ लागू हुने, खेल समय हेरफेर

    कात्तिक १३ गतेदेखि तीनदिने काठमाडौँ फिल्म फेस्टिभल हुँदै

    कात्तिक १३ गतेदेखि तीनदिने काठमाडौँ फिल्म फेस्टिभल हुँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution