
चितवन, १ कात्तिकः बडादसैँमा जिल्लामा रु ३० करोडभन्दा बढीको खसी बोकाको व्यापार हुने व्यवसायीले जनाएका छन् । यो पर्वमा खसी, बोका, राँगा, बङ्गुर र कुखुराको बलि दिने गरिन्छ ।
दसैँको सुरुआतसँगै जिल्लामा खसी, बोकाको मासुको व्यापार वढेको छ । मासु व्यवसायी सङ्घ चितवनका अध्यक्ष गणेशप्रसाद कँडेलका अनुसार यो वर्षको दसैँमा मात्र व्यावसायिक रुपमा १५ हजार बढी खसी काटिने छ । अध्यक्ष कँडेलका अनुसार दसैँमा मात्रै रु ३० करोडको कारोबार हुने अनुमान गरिएको छ । जिल्लामा रहेका एक हजार बढी मासु पसलमध्ये १५० वटा खसी मात्र काट्ने मासु पसल रहेका छन् । अन्यमा कुखुरा र खसीसँगै काट्ने गरिएको उहाँले जानकारी दिनुभयो । यो तथ्याङ्कमा दसैँका लागि घरमै उत्पादन गरी घरमै खपत भएका खसीबोकालाई जोडिएको छैन ।
गत वर्षको दसैँमा १० हजार बढी खसी–च्याङ्ग्रा बिक्री भएको थियो । यस पटक बिक्री बढ्ने देखिएको उहाँले बताउनुभयो । १५ हजारसम्म खसी–च्याङ्ग्रा (बनाएर वा जिउँदो) बिक्री हुने अनुमान गरिएको उहाँले बताउनुभयो । कँडेलका अनुसार १५ हजार खसी–च्याङ्ग्रा बिक्री भएको खण्डमा रु ३० करोडको कारोबार हुन्छ ।
विगत पाँच वर्षदेखि चितवनका मासु व्यवसायीले दसैँमा भारतीय खसीबोका आयात गरेका छैनन् । चितवनमा सञ्चालनमा आएका सहकारीहरुले खसीबोका उत्पादन गर्न थालेपछि भारतबाट खसीबोका नझिकाइएको अध्यक्ष कँडेलले बताउनुभयो । उहाँका अनुसार यसपटक चितवनका खसीहरु कठमाडौँ पठाइएको छ । चितवनमा गोरखा, धादिङ, नवलपरासी, तनहुँलगायत जिल्लाहरुबाट खसी आउने गरेको उहाँले जानकारी दिनुभयो । जिउँदो खसीको मूल्य रु ७०० भन्दा माथि पर्ने गर्दछ । तयारी प्रतिकिलो रु एक हजार दुई सयमा खसीको मासु चितवनको बजारमा बिक्री भइरहेको छ ।
कुखुराको मासु भने खासै दसैँमा बिक्री नहुने उहाँको भनाइ छ । उहाँका अनुसार रु चार करोड हाराहारीको कुखुराको मासु बिक्री हुने अनुमान गरिएको छ । गत वर्षको तुलनामा दसैँका लागि चितवनमा च्याङ्ग्रा मागभन्दा बढी आएको छ । पहिला मुस्ताङबाट मात्र च्याङ्ग्रा आउने चितवनमा यसपटक जुम्ला, बझाङ, डोल्पाबाट पनि चितवनको बजारमा च्याङ्ग्रा आइरहेको छ । यस वर्षको दसैँमा चितवनमा तीन हजारभन्दा बढी च्याङ्ग्रा आएको उहाँले बताउनुभयो । जसका कारण व्यापार वढ्ने आकलन छ । यस अघिका दसैँमा फूलपातीबाट मासुको व्यापार बढ्ने भए पनि यस वर्ष घटस्थापनाबाटै बढेकाले खपत बढ्ने अनुमान गरिएको उहाँको भनाइ छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |