
तुलसीपुर (दाङ), २७ असोजः ‘बनवास का कर बनवास मन, पानी घर में दान दादा दान नाम ले हु….’
‘देश राजा को मवे जो धन राजा छोलावे…. निती भैया सुचा जी मरा राजा….’
‘एक सो जो ब्या दुरा दो दुनिया का बन पया पर जाए छ माया तन मारा बान…’
यी हुन्, दाङ तुलसीपुरका बुझौना चौधरीले गाएका सखिया नाचका गीतका केही हरफ ।
दाङको तुलसीपुरमा थारू भाषा र मौलिक भाकामा महाभारतको कथा समेटिएको गीतले सबैको ध्यान तानेको थियो । चौधरीले ओजस्वी भाकामा पाण्डवको बनवास, सकुनी मामाको छलछाम, पासा खेलको पासो र रानी द्रौपदीको सङ्कट गाएर सुनाउँदा कार्यक्रमस्थल पौराणिक इतिहास र पुर्खाको संस्कृतिले गुञ्जायमान बनेको थियो । यी सबै गीत सखियाकै गीतहरु हुन् ।
तर, पछिल्लो समय थारु समुदायमा यस्तो परम्परा हराउँदै गएको छ । कुनै बेला थारु समुदायले दसैँ सुरु हुनुभन्दा केही दिनदेखि यसरी नै सखिया नाच नाच्ने गर्दथे । दिनभर खेतबारीको काम सकेपछि साँझपख बडघर वा मटावाँको घरआँगनमा भेला भई मादल र मञ्जिराको तालमा नाच्ने गरिन्थ्यो ।
परम्परागत थारू मौलिक पहिरनमा सजिएका महिलाहरू दुई समूहमा विभाजित भएर हातमा मञ्जिरा बजाउँदै सामूहिक रूपमा नाच्ने र महाभारतको कथामा आधारित सखिया गीत गाउने चलन छ ।
नाचमा मुख्य अगुवालाई ‘मोहिन्या’, दोस्रो अगुवालाई ‘पछगिन्या’ र अन्य सहभागी युवतीहरूलाई ‘बठिन्या’ भन्ने गरिन्छ । यो नाचमा पुरुषहरूले ‘मन्र्डया’(मादले) बनेर मादलको तालमा साथ दिन्छन् । भदौको ‘हार्यागुरै’ पूजादेखि सुरु भएर बडादसैँ सकिएको एक सातासम्म चल्ने गर्दथ्यो ।
नाच अघिपछि रातको समयमा र नवमीदेखि टीकाको दिनसम्म दिउँसै नाच्ने परम्परा छ । तर, पछिल्लो समय यो नाच हराउन थालेको भन्दै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चिन्ता व्यक्त गर्नुभयो ।
“थारु समुदाय संस्कार, संस्कृतिका हिसाबले धनी समुदाय हो”, उहाँले भन्नुभयो, “तर, यस्ता पहिचानयुक्त नाचहरु हराउँदा हाम्रो पहिचान कसरी जोगाउने भन्ने चिन्ता छ ।”
त्यस्तै थारु कल्याणकारिणीसभाका केन्द्रीय पार्षद श्रमलाल चौधरीले पनि थारु समुदायको कला, संस्कार, संस्कृति, खानपान, वेशभूषा हराउन जान थालेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले थारु समुदायको पहिचान जोगाउन सकेमा त्यसलाई पर्यटनका गतिविधि अघि बढाउन सकिने बताउनुभयो । थारु समुदायको पहिचान हराउन थालिएको भन्दै यसवर्ष ‘सखिया÷पैया’ नाच प्रदर्शन नै गरिएको नमुना भुह्यारथान तुलसीपुरका अध्यक्ष तथा अधिबक्ता रामशरण चौधरीले बताउनुभयो ।
“थारु पहिचान हराउन थाल्यो, यो हामी सबैको चिन्ताको विषय हो”, उहाँले भन्नुभयो, “यसलाई जोगाउन हामीले सखिया÷पैया नाच नै प्रदर्शन ग¥यौँ ।” मटावाँ, बरघर, भलमन्सा सङ्घ तुलसीपुर नगर समिति, नमुना भुइँह्यार थान संरक्षण समिति तुलीपुर र थारू कल्याणकारिणी सभा दाङ–३ तथा नगर समितिको संयुक्त आयोजनामा भएको कार्यक्रममा तुलसीपुरका विभिन्न क्षेत्रका सखिया नाच प्रस्तुत गरिएको थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |