
धनगढी, २३ असोजः कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलवपुरका चक्रबहादुर विकले विगत लामो समयदेखि धनगढी उपमहानगरपालिका–३ विशालनगरस्थित सडक छेउमै आरन पेशा गर्दै आउनु भएको छ । आफ्ना बाउबाजेको पालादेखिको पुख्र्याैैली पेशालाई उहाँले निरन्तरता दिँदै आउनुभएको छ ।
केही वर्षअघि कमजोर आर्थिक अवस्थाको कारण दश वर्षजति अर्काकोमा ज्यालादारीमा काम गर्नु भएको विकले अहिले आफँै आरन व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । पछिल्लो समय आधुनिकतासँगै पुराना पेशा विस्थापित हुँदै गएको अवस्थामा उहाँले भने पुख्र्यौली पेशालाई निरन्तरता दिँदै आफनो श्रम र सीपबाट परिवारको जीविकोपार्जन गरिरहनुभएको छ ।
आरन व्यवसायी विकले मासिक रूपमा रु ७० हजार बराबरको कारोबार गर्दै आउनुभएको छ । जसबाट सबै खर्च कटाएर रु २० हजार जति बचत हुने गरेको आरन व्यवसायी विकले बताउनुभयो । सामान्य लेखपढ मात्र गर्नुभएका उहाँकोे १२ जनाको जहान छ । उहाँसँग आम्दानीका अन्य कुनै आयस्रोत छैन । “घरका सबै परिवार यसै पेशाको कमाईमा मात्र निर्भर छन,” उहाँले भन्नुभयो, “परिवारको लालनपालनदेखि सम्पूर्ण खर्च आरन पेशाको कमाइ नै धानेको छु” ।
बाल्यकालमा बुवासँगै फलामका विभिन्न औजार बनाउँने सिप सिक्नुभएका विकले पुख्र्यौली पेशाको सीप प्रयोग गर्दै यस पेशालाई आफनो आम्दानीको मुख्य स्रोत बनाउनु भएको छ । यो पेशाबाट परिवार पाल्न धौधौ पर्न थालेको उहाँको भनाइ छ ।
“पुर्खाले गर्दै आएको सीप हो, यही काम सिकेर हुर्किएँ । अहिले पनि यही पेशाबाट जीवीकोपार्जन गर्दै आएको छु”, विकले भन्नुभयो, “कहिलेकाही काम पाउँन समस्या हुन्छ तर आफ्नो सीप भएकाले अरुको भर पर्नुपरेको छैन ।”
विकले आरनमा फलाम तताउने, पिटने, काट्ने र आवश्यक आकार दिने काम गर्दै आउनुभएको छ । जसबाट हँसिया, कुटो, कोदालो, हलोको फाली, लगाएतका कृषि औजार बनाएर बिक्री गर्ने गरेको बताउनुभयो ।
स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने र परम्परागत सीपको संरक्षण गर्ने उद्देश्यले आरन पेशामा संलग्न व्यक्तिलाई आवश्यक तालिम, आधुनिक उपकरण तथा सहुलियतपूर्ण क्रृणको व्यवस्था गर्नुपर्ने विकको अपेक्षा छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |