
बैकुण्ठ दाहाल
धादिङबेशी,२० असोज । कुनै पनि देशको विकास, समृद्धि र परिवर्तनको सबैभन्दा ठूलो आधार भनेकै युवा जनशक्ति हो। युवामा भएको जोस, जाँगर, सीप, क्षमता, सिर्जनशीलता र परिश्रमलाई राज्यले सही ढङ्गले पहिचान गरी परिचालन गर्न सक्यो भने देशको मुहार बदलिन धेरै समय लाग्दैन। युवाको श्रम, पसिना र क्षमताको सम्मान हुने देश मात्र विकास र समृद्धिको बाटोमा अघि बढ्न सक्छ। तर आज हाम्रो देश नेपाल गम्भीर चुनौतीबाट गुज्रिरहेको छ।
देशमा सम्भावना बोकेका लाखौँ युवा आफ्नो भविष्य खोज्दै बिदेसिन बाध्य छन्। नागरिकता हातमा पर्नेबित्तिकै राहदानी बनाउन लाईन लाग्नुपर्ने अवस्था सिर्जना भएको छ। आखिर किन नेपाली युवाहरू आफ्नै देशमा भविष्य देख्न सकिरहेका छैनन्? के उनीहरूलाई आफ्नो देशको माया छैन? के उनीहरूलाई आफ्ना आमा-बुबा, परिवार र समाजको माया छैन? पक्कै पनि छ। तर देशभित्र आफ्नो योग्यता, क्षमता र श्रमअनुसार सम्मानजनक जीवन बिताउन सक्ने वातावरण नहुँदा उनीहरू बाध्य भएर विदेशको बाटो रोजिरहेका छन्। अब गम्भीर भएर सोचौं— जुन देशका युवाहरू आफ्नै देशलाई धारे हात लगाउँदै विदेशिनुपर्ने बाध्यतामा छन्, त्यस्तो देशमा समृद्धिको मूल कसरी फुट्न सक्छ ? देश निर्माण गर्ने मुख्य जनशक्ति नै विदेशमा पसिना बगाउन बाध्य भएपछि देशको उत्पादन, उद्योगधन्दा, कृषि र अर्थतन्त्र कसरी बलियो बन्न सक्छ ? यो प्रश्न आज राज्य सञ्चालन गर्नेहरूका लागि गम्भीर चुनौती बनेको छ।
सरकारले युवालाई केवल भाषण र आश्वासनमा सीमित राख्नु हुँदैन। युवाको सम्मान व्यवहारमै देखिनुपर्छ। युवालाई अवसर दिनुपर्छ, रोजगारी दिनुपर्छ, उद्यमशील बनाउनुपर्छ र आत्मनिर्भर बन्ने वातावरण तयार गर्नुपर्छ। युवाको क्षमता र रुचिअनुसार विभिन्न पेसा तथा व्यवसायमा स्थापित हुने अवसर राज्यले सुनिश्चित गर्नुपर्छ। कुनै युवा उद्योगी बन्न चाहन्छ भने उसलाई सहुलियतपूर्ण ऋण, प्रविधि र लगानीको वातावरण उपलब्ध गराउनुपर्छ। कुनै युवा व्यापारी बन्न चाहन्छ भने व्यवसाय सञ्चालन गर्ने सहज वातावरण र बजारको व्यवस्था हुनुपर्छ। कृषि क्षेत्रमा भविष्य खोज्ने युवालाई आधुनिक कृषि प्रविधि, सिँचाइ, मल, बीउ र बजारको पहुँच सुनिश्चित गर्नुपर्छ। पत्रकारिता गर्न चाहने युवालाई स्वतन्त्र र सुरक्षित पत्रकारिताको वातावरण दिनुपर्छ। कानुन अध्ययन गरेर वकिल बन्न चाहनेलाई अवसर दिनुपर्छ। चिकित्सा शिक्षा हासिल गरेर डाक्टर बन्न चाहनेलाई आवश्यक शैक्षिक पूर्वाधार उपलब्ध गराउनुपर्छ। इन्जिनियर बनेर देश निर्माणमा योगदान दिन चाहने युवालाई पनि उचित अवसर र जिम्मेवारी दिनुपर्छ। सरकारको दायित्व युवालाई केवल जागिर खोज्ने जनशक्तिका रूपमा तयार गर्नु मात्र होइन, रोजगारी सिर्जना गर्ने उद्यमी र व्यवसायीका रूपमा विकास गर्नु पनि हो।
एउटा युवा उद्यमी बन्न सक्यो भने उसले आफू मात्र आत्मनिर्भर बन्दैन, अरू धेरै युवालाई समेत रोजगारी दिन सक्छ। एउटा युवा किसान बन्न सक्यो भने बाँझो खेतबारीलाई उत्पादनशील बनाउन सक्छ। एउटा युवा उद्योगी बन्न सक्यो भने देशमा उत्पादन बढाउन र आयातमा निर्भरता घटाउन सहयोग पुर्याउन सक्छ। त्यसैले युवाको क्षमता पहिचान गरेर उनीहरूलाई उत्पादन र उद्यमशीलतासँग जोड्नु आजको आवश्यकता हो। नेपाल प्राकृतिक स्रोत र साधनले भरिपूर्ण देश हो। यहाँ जल, जमिन, जङ्गल, जडीबुटी र पर्यटनका अथाह सम्भावना छन्। तर विडम्बना, हामीसँग उत्पादन गर्ने सम्भावना हुँदाहुँदै पनि दैनिक उपभोग्य वस्तुदेखि औद्योगिक सामग्रीसम्म विदेशबाट आयात गर्नुपर्ने अवस्था छ। हाम्रा खेतबारी बाँझै छन्, उद्योगधन्दा पर्याप्त रूपमा सञ्चालन हुन सकेका छैनन् र युवा जनशक्ति विदेशमा श्रम बेच्न बाध्य छ। अब यो अवस्थालाई परिवर्तन गर्नुपर्छ। युवालाई देशमै परिचालन गरेर कृषि, पर्यटन, उद्योग, व्यापार र उत्पादनका क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्नुपर्छ। यसका साथै शिक्षाको स्वरूपमा पनि परिवर्तन आवश्यक छ। प्रमाणपत्र हातमा लिएर रोजगारी खोज्दै भौँतारिनुपर्ने शिक्षा होइन, सीप सिकेर आफैँले रोजगारी सिर्जना गर्न सक्ने शिक्षा आजको आवश्यकता हो। विद्यालय तहदेखि नै व्यावहारिक, प्राविधिक, व्यावसायिक र श्रमलाई सम्मान गर्ने शिक्षालाई प्राथमिकता दिनुपर्छ। श्रमलाई सम्मान गर्ने संस्कार विकास गर्नुपर्छ। कुनै पनि काम सानो वा ठूलो हुँदैन भन्ने भावना प्रत्येक नागरिकमा विकास गर्नुपर्छ। अबको शिक्षा गरिखाने शिक्षा हुनुपर्छ, जसले युवालाई आत्मनिर्भर र उद्यमशील बनाउन सकोस्।
देशको समृद्धि भाषण, नाराबाजी र आश्वासनले मात्र सम्भव हुँदैन। त्यसका लागि श्रम गर्नुपर्छ, उत्पादन बढाउनुपर्छ, उद्योगधन्दा खोल्नुपर्छ र रोजगारीका अवसर सिर्जना गर्नुपर्छ। सरकारले युवालाई विश्वास गर्नुपर्छ र युवाले पनि आफ्नो क्षमता तथा श्रमप्रति आत्मविश्वास राख्नुपर्छ। राज्य र युवा शक्तिबीच सहकार्य हुन सकेमा देशले विकासको नयाँ गति लिन सक्छ।
अन्त्यमा, सरकारलाई मेरो आग्रह छ— युवालाई देशको समस्या होइन, देशको सबैभन्दा ठूलो सम्भावना र शक्तिका रूपमा हेर्नुहोस्। युवाको सम्मान गर्नुहोस्, उनीहरूलाई अवसर दिनुहोस्, सीप र क्षमताको कदर गर्नुहोस्। युवालाई विदेशिन बाध्य पार्ने होइन, आफ्नै देशमा भविष्य निर्माण गर्न सक्ने वातावरण तयार गर्नुहोस्। युवालाई सम्मान गरौँ, युवालाई अवसर दिऔँ, युवाको श्रम र सीपलाई राष्ट्र निर्माणमा जोडौँ। युवा देशमै रहने वातावरण बनाऔँ। देश विकासको ढोका आफैँ खुल्दै जानेछ। किनकि देशको समृद्धि कुनै विदेशीले ल्याइदिने उपहार होइन। यो आफ्नै माटोमा बगाएको पसिना, श्रम, सीप र समर्पणबाट निर्माण हुने उपलब्धि हो। युवा देशका भविष्य मात्र होइनन्, वर्तमानका निर्माता पनि हुन्। जहाँ युवाको सम्मान हुन्छ, त्यहीँबाट समृद्धिको मूल फुट्छ। देश समृद्ध बन्छ युवाकै हातबाट।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |