
म्याग्दी, ७ मङ्सिरः बिहानको उज्यालोसँगै म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित बङ्गुर फार्ममा मेघबहादुर शेरपुञ्जाको व्यस्तता सुरु हुन्छ । धवलागिरि गाउँपालिका–३ मुना घर भएका उहाँ एक वर्षदेखि बङ्गुरपालनमा निरन्तर खटिनुभएको छ । लामो समय अरुको फार्ममा काम गरेर सिकेको सीप र अनुभवलाई आफ्नै ठाउँमा प्रयोग गर्दै उहाँ सफल उद्यमी बन्ने यात्रामा हुनुहुन्छ ।
आफ्नो फार्ममा हुर्काएका बङ्गुर बिक्रीयोग्य भएपछि मेघबहादुरले बजारमा पठाउन सुरु गर्नुभएको छ । मासुका लागि तयार भएका १० वटा बङ्गुरलाई छुट्टै खोरमा राखेर बिक्रीको तयारी छ । डेढ सयदेखि दुई सय किलोभन्दा बढी तौल भएका बङ्गुर हुर्काउन उहाँले दिनरात मिहिनेत गर्नुभएको छ ।
मेघबहादुरको फार्ममा सानाठूला गरी करिब ९५ वटा बङ्गुर छन् । हाइग्रेड, ल्यान्डरेस र डिउरोक जातका बङ्गुर पाल्दै आएका उहाँले पाठापाठी खरिद गरेर दाना खुवाई हुर्काउने गरेको शेरपन्जाले बताउनुभयो । एउटा बङ्गुरको पाठालाई रु नौ हजारसम्म पर्ने गरेको छ । उत्पादित बङ्गुरको मासु प्रतिकिलो रु ७०० का दरले बिक्री हुने गरेको छ ।
उत्पादन गरेर मात्र बजार नपाउने समस्या भोग्न नपरोस् भनेर मेघबहादुरले आफैँ मासु पसलसमेत सञ्चालनमा ल्याउनुभएको छ । बेनी नगरपालिका–७ इन्द्रेणीटोलमा ‘मुना बङ्गुर मासु पसल’ खोलेर फार्ममा हुर्काएका बङ्गुरको मासु सिधै उपभोक्तासम्म पुर्याउन थाल्नुभएको हो ।
“बङ्गुरको मासुको खपत बढाउन आफ्नै पसल सुरु गरेको हुँ”, उहाँले भन्नुभयो, “गुणस्तरीय र स्वस्थ मासु उपलब्ध गराएर ग्राहकको विश्वास जित्ने लक्ष्य छ ।”
सात वर्षको अनुभव, आफ्नै व्यवसायमा लगानी
व्यावसायिक बङ्गुरपालन सुरु गर्नुअघि मेघबहादुरले करिब सात वर्ष ‘स्याङ्जा एग्रो रिसर्च एन्ड भेटेरिनरी सेन्टर’मा काम गर्नुभएको थियो । अरुको फार्ममा काम गर्दा उहाँले बङ्गुरपालनको प्राविधिक ज्ञान, रोगको पहिचान, उपचार तथा व्यवस्थापनसम्बन्धी सीप सिक्नुभयो ।
त्यही अनुभवलाई आफ्नै व्यवसायमा उपयोग गर्ने सोच बनाएपछि परिवार र आफन्तको सहयोगमा मेघबहादुरले करिब रु ३५ लाख लगानी गर्नुभयो । ‘मुनाल कृषि तथा पशुपन्छी फार्म’ दर्ता गरेर व्यावसायिक बङ्गुरपालन सुरु गर्नुभएको हो ।
अरुको व्यवसायमा श्रम र समय खर्चेर सिकेको सीपले अहिले आफ्नै उद्यमको आधार तयार भएको मेघबहादुरको अनुभव छ । बङ्गुरको जात छनोट, आहार व्यवस्थापन, खोरको सरसफाइ र रोगबाट बचाउने उपायमा विशेष ध्यान दिनुभएको छ । “अरुको फार्ममा काम गर्दा धेरै कुरा सिक्ने अवसर पाएँ । त्यही ज्ञान र अनुभवलाई आफ्नै ठाउँमा प्रयोग गरेको हुँ”, उहाँले भन्नुभयो ।
उत्पादनदेखि बजारीकरणसम्म आफैँ सक्रिय कृषि तथा पशुपालनमा उत्पादन गर्नुमात्र पर्याप्त नहुने शेरपुञ्जाको बुझाइ छ । उत्पादित वस्तुले बजार नपाउँदा किसानले समस्या भोग्नुपर्ने भएकाले मेघबहादुरले फार्मसँगै मासु पसल सञ्चालन गर्नुभएको हो ।
फार्ममा हुर्काएका बङ्गुरबाट पाठापाठी र माउ बिक्री गर्नुका साथै मासुका लागि तयार भएका बङ्गुर आफ्नै पसलमार्फत बिक्री गर्ने योजना उहाँको छ । यसले उत्पादन र बजारबीचको दूरी घटाउनुका साथै उपभोक्तालाई ताजा मासु उपलब्ध गराउन सहयोग पुग्ने उहाँको अपेक्षा छ ।
बेनी बजारमा बसोबास गर्ने मुनालगायत विभिन्न ठाउँका स्थानीयवासी उहाँको पसलमा पुगेर मासु खरिद गर्न थालेका छन् । नयाँ व्यवसाय सुरु गरेकोमा ग्राहक तथा शुभेच्छुकले दिएको हौसलाले थप उत्साहित बनाएको मेघबहादुरले बताउनुभयो ।
बङ्गुर बस्ने खोरको नियमित सरसफाइ, उचित आहार र स्वास्थ्यमा ध्यान दिँदै आएको उहाँको भनाइ छ । व्यवसायलाई दीर्घकालीन र व्यवस्थित बनाउने लक्ष्यसहित उत्पादनको गुणस्तरमा सम्झौता नगर्ने उहाँले बताउनुभयो ।
गाउँमै सम्भावना, बजारको चुनौती
मेघबहादुरका अनुसार म्याग्दीलगायत ग्रामीण क्षेत्रमा कृषि तथा पशुपालनको सम्भावना प्रशस्त छ । तर उत्पादित वस्तुको उचित बजार र मूल्य नपाउनु किसानका लागि मुख्य चुनौती बनेको छ ।
“हाम्रै गाउँठाउँमा कृषि र पशुपालनको अथाह सम्भावना छ । तर किसानलाई सबैभन्दा ठूलो समस्या बजारीकरणको छ”, मेघबहादुरले भन्नुभयो, “राज्यका निकायले उत्पादनलाई बजारसम्म पुर्याउने ठोस नीति र प्रोत्साहन ल्याउनसके युवालाई विदेशिनबाट रोक्न सकिन्छ । विदेशबाट फर्किएकालाई पनि आफ्नै ठाउँमा उद्यम गर्ने वातावरण बन्छ ।”
युवालाई स्वदेशमै स्वरोजगार बनाउन व्यावसायिक कृषि तथा पशुपालनमा सहुलियत, प्राविधिक सहयोग र बजारको सुनिश्चितता आवश्यक रहेको मेघबहादुरको धारणा छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जिल्लाका पशुपालक किसानलाई विभिन्न रोगबाट जोगाउन खोप तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न अनुदानका कार्यक्रमसमेत सञ्चालन गरिएको कार्यालयका प्रमुख शर्मिला कुमालले बताउनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |