
काठमाडौँ, ७ मङ्सिरः संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ जलवायु सम्मेलनमा अध्यक्षताद्वारा प्रस्तुत निर्णयका विषयमा सहमति जुट्न नसक्नु निराशाजनक भएको बताउनुभएको छ ।
टर्किएको अन्ताल्यामा निर्धारित समयभन्दा दुई दिन ढिलो आइतबार आयोजित कोप–३१ को समापन समारोहमा सम्बोधन गर्दै कार्यकारी सचिव स्टिलले जलवायु परिवर्तनका असर विश्वभर बढिरहेको अवस्थामा अन्तरराष्ट्रिय जलवायु सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको युएनएफसिसिसीको सचिवालयले जनाएको छ ।
कार्यकारी सचिव स्टिलले जलवायु परिवर्तनका कारण विश्वका विभिन्न क्षेत्रमा प्रभाव गम्भीर बन्दै गएको, जीवाश्म इन्धनको लागतले अर्थतन्त्रमा मुद्रास्फीति बढाइरहेको र विश्व तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने जोखिम नजिकिँदै गएको उल्लेख गर्नुभयो ।
“विश्वले यस्तो अवस्थाको पुनरावृत्ति धान्न सक्दैन । हाम्रो प्रक्रिया, नियमावली र स्थापित नजिरहरू विश्वका करिब २०० देशलाई एकै ठाउँमा ल्याउनका लागि बनाइएका हुन्”, उहाँले भन्नुभयो ।
कार्यकारी सचिव स्टिलले विगत एक दशकमा जलवायु वार्तामार्फत तापक्रम वृद्धिको लक्ष्य निर्धारण, नयाँ जलवायु वित्त लक्ष्य तय, जीवाश्म इन्धनबाट न्यायोचित, व्यवस्थित र समतामूलक रूपान्तरण तथा अनुकूलनसम्बन्धी विश्वव्यापी लक्ष्य निर्धारणमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो ।
कार्यकारी सचिव स्टिलले कोप प्रक्रिया १९४ पक्ष राष्ट्रहरूको साझा भएकाले सहमतिका लागि सबै पक्षका विचारलाई पारदर्शी रूपमा सुन्ने र विगतका उपलब्धिलाई आधार बनाएर अघि बढ्ने पद्धति आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । जलवायु वार्ताको प्रक्रियालाई सुधार, आधुनिकीकरण र पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले विश्व अहिले प्रतिबद्धता जनाउने चरणबाट कार्यान्वयनको युगमा प्रवेश गरिसकेको बताउनुभयो । त्यसैले बदलिँदो परिस्थितिअनुसार अन्तरराष्ट्रिय जलवायु वार्ताको प्रक्रियालाई पनि विकसित गर्नुपर्ने उहाँको भनाइ थियो ।
कोप–३१ अन्तर्गत वार्ताका क्रममा अपेक्षित सहमति कायम हुन नसके पनि कार्यसूची (एक्सन एजेन्डा) अन्तर्गत भने महत्त्वपूर्ण प्रगति भएको कार्यकारी सचिव स्टिलले उल्लेख गर्नुभयो । कृषि तथा खाद्य प्रणालीको रूपान्तरणदेखि सहर तथा पूर्वाधारको उत्थानशीलता अभिवृद्धिसम्मका छवटा प्रमुख कार्यक्षेत्रमा ठोस उपलब्धि हासिल भएको उहाँले बताउनुभयो ।
विभिन्न देशका प्रतिबद्धता तथा नेताहरूको शिखर सम्मेलनमार्फत विश्व अर्थतन्त्रको करिब आधा हिस्सा विद्युतीकरणलाई तीव्रता दिन अग्रसर भएको देखिएको कार्यकारी सचिव स्टिलले उल्लेख गर्नुभयो । कोप–३१ को विद्युतीकरण कार्यान्वयन प्याकेजले पनि वास्तविक अर्थतन्त्रमा महत्त्वपूर्ण प्रगति गरेको उहाँको भनाइ थियो ।
यी उपलब्धिले नवीन प्रविधि, लगानी र सकारात्मक परिवर्तनलाई गति दिने विश्वास व्यक्त गर्दै कार्यकारी सचिव स्टिलले अन्ताल्यामा भएका प्रगतिले आगामी दिनमा थप महत्त्वाकाङ्क्षी जलवायु परिणाम हासिल गर्ने प्रतिबद्धतालाई बलियो बनाउने बताउनुभयो । कार्यकारी सचिव स्टिलले विगतमा पनि जलवायु वार्ता प्रक्रियाले विभिन्न अवरोध र असफलता सामना गरे पनि पुनः सशक्त रूपमा अघि बढेको स्मरण गराउँदै यसपटक पनि त्यस्तै हुनुपर्ने बताउनुभयो ।
आगामी कोप–३२ लाई महत्त्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दै कार्यकारी सचिव स्टिलले दोस्रो विश्वव्यापी समीक्षा (ग्लोबल स्टकटेक–२)ले पहिलो समीक्षाका उपलब्धिलाई आधार बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । पहिलो समीक्षाबाट प्राप्त उपलब्धिलाई कमजोर पार्ने नभई थप प्रभावकारी कार्यान्वयनमा लैजानुपर्ने उहाँको भनाइ थियो ।
कार्यकारी सचिव स्टिलले जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी अभियानमा नागरिक समाजको भूमिका अहिले झन् महत्त्वपूर्ण भएको बताउँदै सरकार, नागरिक समाज र अन्तरराष्ट्रिय समुदायलाई सहकार्यको गति कायम राख्न आग्रह गर्नुभयो ।
दुई सातासम्म चलेको सम्मेलन सफल बनाउन योगदान पुर्याउने टर्की सरकार तथा जनता, कोप अध्यक्षता, वार्ता अध्यक्षता र संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सचिवालयका कर्मचारीलाई धन्यवाद दिँदै उहाँले जलवायु सहकार्यले विगतका कोप सम्मेलनमार्फत उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो । विश्वलाई विनासकारी तापक्रम वृद्धिको बाटोबाट बाहिर निकाल्न जलवायु सहकार्यले महत्त्वपूर्ण योगदान पुर्याए पनि अझै धेरै काम गर्न बाँकी रहेको उहाँको निष्कर्ष थियो । “जलवायु परिवर्तनविरुद्धको सङ्घर्ष जारी रहनेछ, हामी कहिल्यै हार मान्नेछैनौँ”, उहाँले भन्नुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |