
भोजपुर, ११ मङ्सिरः खेतबारी खनजोत गर्न हातेट्रयाक्टरको प्रयोग बढेसँगै भोजपुरका गाउँघरमा गोरु पाल्ने परम्परागत चलन घट्दै गएको छ । खेतीपातीका लागि गोरुमा निर्भर किसान पछिल्लो समय कृषि उपकरणको प्रयोगतर्फ आकर्षित भएपछि गोरुपालन घट्न थालेको हो ।
विगतमा खेतीपाती गर्ने प्रायः प्रत्येक किसान परिवारले एक हल गोरु पाल्ने गर्थे । खेत जोत्न, माटो सम्याउनलगायत कृषि कार्यमा गोरुको प्रयोग हुन्थ्यो । तर, हातेट्रयाक्टरबाट कम समय र श्रममा खनजोत गर्न सकिने भएपछि किसानले गोरु पाल्न छाड्दै गएका छन् ।
टेम्केमैयुङ गाउँपालिका–५ का गणेश विष्टका अनुसार गोरुले एक दिन लगाउने खेतबारीको खनजोत हातेट्रयाक्टरबाट तीनदेखि चार घण्टामै गर्न सकिन्छ । परम्परागत रूपमा गोरुबाट खेत जोत्दा धेरै समय र श्रम खर्चिनुपर्ने भए पनि हातेट्रयाक्टरबाट छिटो काम सकिने उहाँले बताउनुभयो । “समय र श्रम दुवै बचत हुने भएकाले अहिले किसानको रोजाइ हातेट्रयाक्टर बनेको छ”, उहाँले भन्नुभयो ।
टेम्केमैयुङ गाउँपालिका–४ नागीका रामकुमार राईले पनि हातेट्रयाक्टरको प्रयोग बढेसँगै गोरु पाल्ने चलन घटेको बताउनुभयो । विगतमा खेतीपातीका लागि प्रायः प्रत्येक घरमा एक हल गोरु हुने गरेकामा अहिले अधिकांश किसानले पाल्न छाडेको उहाँको भनाइ छ ।
“पहिले गाउँमा गोरु नपाल्ने घर कमै हुन्थे । खेतीपातीका लागि गोरु अनिवार्यजस्तै थियो”, उहाँले भन्नुभयो, “अहिले हातेट्रयाक्टरले खेतबारी जोत्न थालेपछि गोरु पाल्ने चलन निकै घटेको छ ।”
खेतीपातीमा परिवारका सदस्यको जनशक्ति कम हुँदै गएको अवस्थामा कृषि उपकरण उपयोगी बनेको किसान एकराज विष्टले बताउनुभयो । हातेट्रयाक्टरको प्रयोगले खनजोतका लागि गोरुमाथिको निर्भरता घट्नुका साथै पशुपालनमा खर्चिनुपर्ने समय र श्रमसमेत बचत भएको उहाँको भनाइ छ । वैदेशिक रोजगारी तथा अन्य कामका लागि गाउँबाट युवाशक्ति बाहिरिने क्रम बढ्दा खेतीपातीमा जनशक्तिको अभाव हुने गरेको उहाँले बताउनुभयो ।
किसानको माग र आवश्यकताअनुसार स्थानीय तह तथा विभिन्न सरकारी कार्यालयले अनुदानमा हातेट्रयाक्टर वितरण गर्दै आएका छन् । पौवादुङमा गाउँपालिकाले पनि किसानलाई हातेट्रयाक्टर वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो ।
किसानबाट हातेट्रयाक्टरको माग बढी आउने गरेको उल्लेख गर्दै उहाँले गत वर्ष गाउँपालिकामार्फत ३६० वटा हातेट्रयाक्टर वितरण गरिएको जानकारी दिनुभयो । कृषि यान्त्रीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले किसानको मागअनुसार कृषि उपकरण वितरण गर्दै आएको उहाँले बताउनुभयो ।
कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै जाँदा परम्परागत खेती प्रणालीमा पनि परिवर्तन आउन थालेको अध्यक्ष राईको भनाइ छ । विगतमा गोरुमा आधारित खेती प्रणाली अहिले क्रमशः कृषि उपकरणमा आधारित हुँदै गएको र यसले ग्रामीण कृषि जीवनशैलीमा समेत प्रभाव पारेको अध्यक्ष राई बताउनुहुन्छ ।
हातेट्रयाक्टरको प्रयोगले खेतीपातीमा सहजता थपिए पनि यसको सञ्चालनका लागि इन्धन, मर्मतसम्भार र प्राविधिक ज्ञान आवश्यक पर्ने पौवादुङमा गाउँपालिका कृषि शाखाका प्राविधिक बर्तेन्द्र राईले बताउनुभयो । कृषि उपकरणको उचित व्यवस्थापन र मर्मतसम्भारमा किसानले ध्यान दिनुपर्ने उहाँको सुझाव छ । गाउँपालिकाले किसानलाई हातेट्रयाक्टर मर्मतसम्भारसम्बन्धी तालिमसमेत दिँदै आएको उहाँले जानकारी दिनुभयो ।
कृषिमा आधुनिक उपकरणको प्रयोग विस्तार हुँदै जाँदा पुस्तौँदेखि चल्दै आएको गोरु पाल्ने परम्परा भने क्रमशः कमजोर बन्दै गएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |