
कास्की, १० मङ्सिरः पोखरामा जारी ‘फेवा किङ्स कप’ राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा र गण्डकी प्रदेशले लगातार दोस्रो जित निकालेका छन् भने नेपाल पुलिस क्लबले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आज सम्पन्न तीन खेलमा आयोजक किङ्स क्लबले त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लबले कोशी प्रदेश र गण्डकी प्रदेशले एपीएफ क्लबलाई पराजित गरेका हुन् ।
दिनको पहिलो खेलमा आयोजक किङ्स क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो । आयोजक टोलीले आर्मीलाई ३५–३३, २५–२१ र २८–२६ को सेटमा पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । यस जितसँगै आयोजक टोली लिग तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
दोस्रो खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकाल्यो । पुलिसले कोशीलाई २५–२०, २५–१८ र २५–१८ को सेटमा हराएको हो । यसअघि पहिलो खेलमा एपीएफसँग पुलिस ३–२ को सेटमा पराजित भएको थियो ।
अन्तिम खेलमा गण्डकी प्रदेशले विभागीय टोली एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्यो । गण्डकीले पहिलो र दोस्रो सेट क्रमशः २५–१५ र २५–२१ ले जितेको थियो । तेस्रो सेट २३–२५ ले गुमाएको गण्डकीले चौथो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै लगातार दोस्रो जित निकालेको हो ।
प्रतियोगिता मङ्सिर १५ गतेसम्म सञ्चालन हुनेछ । लिगकम नकआउट प्रणालीमा भइरहेको प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, नेपाल पुलिस क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र गण्डकी प्रदेश गरी छ टोली सहभागी छन् ।
प्रतियोगिताको विजेताले रु चार लाख, उपविजेताले रु दुई लाख ५० हजार, तेस्रो हुने टोलीले रु एक लाख र सान्त्वना स्थान हासिल गर्ने टोलीले रु ५० हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगितामा भोलि एपीएफ र कोशी प्रदेश, नेपाल पुलिस र त्रिभुवन आर्मी तथा गण्डकी प्रदेश र आयोजक किङ्स क्लब पोखराबीच प्रतिस्पर्धा हुनेछ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |