
पाल्पा, १० मङ्सिरः निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका पाल्पाका दुई उद्यमी सम्मानित भएका छन् । १२औँ उद्योग दिवसका अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले जिल्लाका सफल उद्यमीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।
जिल्लामा उद्यमशीलता, उत्पादन र रोजगारी सिर्जनामा योगदान पु¥याएका तानसेन नगरपालिका–४ का पौड्याल ढाका उद्योगका सञ्चालक मनोजराज शर्मा पौड्याल र रामपुर नगरपालिका–६ स्थित कृष्ण उन्नत भैँसी विकास तथा बीउबिजन उत्पादन स्रोत केन्द्रका सञ्चालक कृष्णकुमार अर्याललाई उत्कृष्ट उद्यमीका रूपमा सम्मानित गरिएको हो । घरेलु कार्यालयका वरिष्ठ उद्योग अधिकृत सुनारका अनुसार, उहाँहरुलाई जनही रु ३५ हजार नगद, दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिर, प्रदेशसभा सदस्यद्वय वीरबहादुर राना र खेमबहादुर सारु तथा घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका वरिष्ठ उद्योग अधिकृत केशवबहादुर सुनारले उहाँहरूलाई सम्मान गर्नुभएको हो ।
रामपुरका अर्यालले दुई दशकदेखि गाईभैँसीपालनलाई व्यावसायिक रूपमा अगाडि बढाउँदै आउनुभएको छ । पशुपालनलाई आयआर्जन र रोजगारीको माध्यम बनाउनुभएका उहाँले अहिले आफ्नो फार्ममा उन्नत जातका ५० वटा गाईभैँसी पाल्नुभएको छ । उहाँको फार्ममा चार जनाले नियमित रोजगारी पाएका छन् । कामको चापअनुसार थप १० देखि २० जनासम्मले रोजगारी पाएका छन् ।
पशुपालनबाटै परिवारको आर्थिक अवस्था सुधार गर्न सफल अर्यालले यही व्यवसायको आम्दानीबाट छोरालाई एमबिबिएस चिकित्सक र छोरीलाई बीएन नर्सिङ अध्ययन गराउन सकेको बताउनुभयो । व्यवसायबाट आर्थिक आत्मनिर्भरता मात्र नभई सामाजिक प्रतिष्ठा प्राप्त भएको उहाँको भनाइ छ ।
यता, पाल्पाको मौलिक पहिचानसँग जोडिएको ढाका उद्योगको संरक्षण र प्रवद्र्धनमा पौड्यालको योगदान छ । उहाँले विगत ४० वर्षदेखि तानसेनमा पौड्याल ढाका उद्योग सञ्चालन गर्दै आउनुभएको छ । उहाँको उद्योगमा ४० जनाले नियमित रोजगारी पाएका छन् । त्यसमा अधिकांश महिला छन् । ढाका कपडामा प्रयोग हुने बुट्टा र नयाँ डिजाइन आफैँ तयार गर्दै आउनुभएका पौड्यालले स्थानीय सीप र कलालाई उद्योगसँग जोडेर व्यवसाय विस्तार गरिरहनुभएको छ ।
सरकारले उद्योगमैत्री वातावरण निर्माण गरी आवश्यक सहयोग गर्न सके ढाका उद्योगमार्फत सयौँलाई रोजगारी दिन सकिने उहाँको विश्वास छ । उद्योग दिवसका अवसरमा सम्मानित यी दुई उद्यमीका कथा केवल व्यक्तिगत सफलताका उदाहरण मात्र होइनन्, स्थानीय उत्पादनलाई प्रोत्साहन, परम्परागत सीपको संरक्षण र गाउँमै रोजगारी सिर्जना गर्न सकिने सम्भावनाका दृष्टान्त पनि हुन् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |