
कास्की, १० मङ्सिरः कास्कीको माछापुच्छ«े गाउँपालिका–७ धम्पुसस्थित घट्टेखोला–देउराली–खानीगाउँ सडक निर्माणलाई गति दिन सम्बद्ध पक्ष सहमत भएका छन् ।
एसियाली विकास बैङ्क (एडिबी) को रु ३० करोड १८ लाख लगानीमा निर्माण भइरहेको उक्त सडकको काम अपेक्षाकृत अघि बढ्न नसकेपछि निर्माण व्यवसायी र सरोकारवालाबीच भएको छलफलमा कामलाई तीव्रता दिने सहमति जुटेको हो ।
पोखरा–बागलुङ राजमार्गको घट्टेखोलादेखि खानीगाउँसम्म जोड्ने १३ किमी लामो सडकको निर्माणमा ढिलाइ भएपछि स्थानीयवासीले चिन्ता व्यक्त गर्दै आएका थिए । सडक निर्माणको अवस्थाबारे गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चासो व्यक्त गर्नुभएको थियो । मुख्य लगानीकर्ता एडिबीले आयोजनाको प्रगतिबारे निरन्तर चासो राख्दै आएको थियो ।
सोही क्षेत्रका प्रदेशसभा सदस्य गणेशमान गुरुङ, गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव नवराज शर्मा, निर्माण व्यवसायी विकास गौतमलगायत सरोकारवालाबीच भएको छलफलपछि निर्माण कार्य अघि बढाउने सहमति भएको माछापुच्छ«े गाउँपालिका–७ का वडाध्यक्ष वैकुण्ठप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी तीनदेखि चार महिनाभित्र सडकमा बेस बिछ्याउने काम सम्पन्न गरी कालोपत्रका लागि तयार गर्ने लक्ष्यसहित निर्माण व्यवसायीले काम अघि बढाउने सहमति भएको छ ।
“वडा कार्यालयले पटक–पटक ताकेता गर्दा पनि निर्माणले गति लिन सकेको थिएन । लामो समय काम अलपत्र भएपछि ठेक्का तोडिने हो कि भन्ने चिन्ता बढेको थियो । अहिले सबै पक्षबीच छलफल गरेर समस्याको समाधान खोजिएको छ । निर्धारित समयभित्र बेस बिछ्याउने काम सम्पन्न गरी कालोपत्र गर्न सकिने अवस्थामा पु¥याउने सहमति भएको छ,” वडाध्यक्ष भण्डारीले भन्नुभयो ।
छलफलमा निर्माण व्यवसायी गौतमले आवश्यक जनशक्ति थप गरी निर्माण कार्यलाई तीव्रता दिने प्रतिबद्धता जनाउनुभएको पनि उहाँले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) मार्फत सडक निर्माण भइरहेको छ । विसं २०८१ फागुन २१ गते विविआर कन्स्ट्रक्सन, काठमाडौँसँग दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार सडकको सुरुको सात किलोमिटर खण्डमा अस्फाल्ट प्रविधिबाट र बाँकी खण्डमा ‘डिबिएसटी’ प्रविधिबाट कालोपत्र गरिनेछ ।
घट्टेखोला–धम्पुस–खानीगाउँ सडकको ‘ट्र्याक’ विसं २०६१ मा खोलिएको थियो । पर्यटकीय गाउँ धम्पुसलाई जोड्ने यस सडकले मर्दी हिमाल र अन्नपूर्ण आधार शिविर जाने पर्यटकका लागि सहज पहुँच स्थापित गर्ने अपेक्षा गरिएको छ । धम्पुस मर्दी र अन्नपूर्ण आधार शिविरको प्रवेशमार्ग हो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |