
काठमाडौँ, ८ मङ्सिरः नेपाल र श्रीलङ्काबीच व्यापार, लगानी, पर्यटन र नवप्रवर्तनलगायतका क्षेत्रमा सहकार्य हुने भएको छ ।
नेपाल–श्रीलङ्का चेम्बर अफ कमर्शको २०औँ साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले नेपाल र श्रीलङ्काबीच व्यापरिक सम्बन्ध थप विस्तार गर्दे लैजाने बताउनुभएको हो ।
“नेपाल र श्रीलङ्काबीच व्यापार, लगानी, पर्यटन र नवप्रवर्तनलगायतका क्षेत्रमा सहकार्य, व्यापारिक सम्बन्ध विस्तार, व्यावसायिक प्रतिनिधिमण्डल आदानप्रदान, व्यापारमेला, प्रदर्शनी, बीटुबी भेटघाट तथा क्षेत्रगत सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले दुई देशका व्यवसायीबीच नियमित संवाद, बजारसम्बन्धी सूचना आदानप्रदान, लगानीका अवसर पहिचान तथा व्यवसायीले सामना गरिरहेका समस्याको समाधानका लागि संस्थागत रूपमा व्यवस्थित संयन्त्र विकास गर्नुपर्ने बताउनुभयो ।
राजदूत डेल्पिटियाले आगामी जनवरी १४ देखि १७ सम्म श्रीलङ्कामा आयोजना हुने एक्स्पो २०२७ मा नेपाली व्यवसायीको सहभागिताका लागि आग्रह गर्दै उक्त प्रदर्शनीमा ३३ भन्दा बढी नेपाली खरिदकर्ता अनलाइनमार्फत दर्ता भइसकेको जानकारी दिनुभयो ।
श्रीलङ्काका लागि नेपालका राजदूत डा मञ्चलाकुमारी झाले नेपाल र श्रीलङ्काबीच लामो समयदेखि कायम कूटनीतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई बलियो आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो । उहाँले सन् १९५७ मा स्थापित कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउँदै व्यापार, पर्यटन, लगानी, शिक्षा तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो । राजदूत डा झाले आर्थिक कूटनीति, व्यावसायिक प्रतिनिधिमण्डल, प्रदर्शनी तथा बीटुबी बैठकमार्फत दुई देशबीचको सद्भावलाई ठोस आर्थिक उपलब्धिमा रूपान्तरण गर्न सकिने उल्लेख गर्नुभयो ।
नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष डा राजेशकाजी श्रेष्ठले नेपाल र श्रीलङ्काबीच व्यापार, पर्यटन तथा व्यावसायिक सम्बन्ध विस्तारका लागि व्यापार मेला, प्रदर्शनी र संस्थागत नेटवर्किङलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले नेपाली अर्गानिक चिया, हस्तकला, परम्परागत कला, मूर्ति, थाङ्का, खाद्य उत्पादन, पत्थर तथा गरगहनालगायत नेपाली उत्पादनलाई श्रीलङ्कासहित अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सकिने उल्लेख गर्नुभयो ।
नेपाल–श्रीलङ्का चेम्बर अफ कमर्सका अध्यक्ष विजयबहादुर श्रेष्ठले नेपाल र श्रीलङ्काबीचको पुरानो व्यापारिक, सांस्कृतिक तथा व्यावसायिक सम्बन्धलाई थप विस्तार गर्नुपर्ने बताउनुभयो । दुई देशबीच विभिन्न समझदारी तथा व्यापारिक संवाद हुँदै आए पनि द्विपक्षीय व्यापार अपेक्षाकृत न्यून रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा चेम्बरका पूर्वअध्यक्ष डा श्रेष्ठलाई ‘आउटस्ट्यान्डिङ सपोर्ट अनर’, पर्यटन व्यवसायी जय देवानलाई ‘टुरिजम एक्सिलेन्स अवार्ड’ र चङ्की क्षेत्रीलाई ‘बिजनेस अवार्ड’ प्रदान गरिएको थियो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |