
काठमाडौँ, ६ मङ्सिरः नेपाल र भारतका धार्मिक, सांस्कृतिक एवं पुरातात्विकस्थललाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धनका लागि परिपथ बनाउनुपर्नेमा दुवै देशका अधिकारीहरूले जोड दिएका छन् ।
नीति अनुसन्धान प्रतिष्ठान (नेनाप)ले आज आयोजना गरेको नेपाल र भारत नीति बहस कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय जनता पार्टीका राष्ट्रिय कार्यकारिणी सदस्य तथा डा श्यामप्रसाद मुखर्जी रिसर्च फाउन्डेसनका प्रमुख डा अनिरवन गाँगुलीले नेपाल र भारत मिलेर नयाँ धार्मिक परिपथ बनाउने तथा प्राचीन ग्रन्थहरू उल्था गर्न सक्ने बताउनुभयो । यसबाट दुई देशको सम्बन्धमा नयाँ आयाम आउने उहाँको भनाइ थियो ।
नेपालमा धार्मिक ग्रन्थहरू संरक्षण गरिएको र त्यसलाई भारतमा उल्था गर्ने तत्परता देखाइएको पनि उहाँले बताउनुभयो । प्रमुख डा गाँगुलीले भन्नुभयो, “ग्रन्थहरूको डिजिटलाइजेसन र ग्रन्थ उल्था अनिवार्य छ, यसका लागि संयुक्त कार्य गर्न सकिन्छ ।”
नेपाल पत्रकार महासङ्घका पूर्वसभापति विष्णु निष्ठुरीले दुई देशबीच समस्या आउँदा पत्रकारिताका माध्यमले संयमताका लागि प्रयत्न हुने गरेको बताउनुभयो । नेपाल र भारतको पत्रकारितामा साझा समस्या रहेको र समाधानका लागि मिलेर काम गर्नुपर्ने उहाँले सुनाउनुभयो । पत्रकारितामा प्रविधि बढी हाबी हुँदा पत्रकारिताको मूल कर्म र धर्मलाई आघात पुर्याइरहेको पूर्वसभापति निष्ठुरीले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल र भारतका पत्रकारहरूको सहकार्यका कार्यक्रम बढाउनुपर्ने आवश्यकता छ । पर्यटन गन्तव्यहरूबारे प्रचारमूलक कार्यक्रम बढाउनुपर्नेछ ।”
भारतका पत्रकार तथा मिडिया अध्ययनकर्ता अरुण आनन्दले सभ्यतामाथि सङ्गठित मिडियामार्फत योजनाबद्ध तरिकाले भइरहेको आक्रमणको दुवै देशले मिलेर सामना गर्नुपर्ने बताउनुभयो । सभ्यतामाथिको आक्रमणबाट बेलैमा सचेत भएर कार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल र भारतबीच एकअर्काका मिडिया कन्टेन्ट र सामग्रीलाई विश्वास गर्ने अवस्था तयार गर्नुपर्ने आनन्दको भनाइ थियो ।
पत्रकार डा गोपाल खनालले दुई देशबीच कुनै पनि समस्या आउँदा समाधानका लागि मिडिया संवादको माध्यम बन्नुपर्ने बताउनुभयो । पर्यटन क्षेत्रहरूको पहिचानगरी सीमापार धार्मिक पर्यटनको परिपथ बनाउन सकिने सुझाव उहाँले दिनुभयो ।
नेपाल एकेडेमी अफ टुरिजम, होटल एन्ड माउन्टरिङ (नाथम) का निर्देशक अजय ढकालले नेपाल र भारतबीचको भावनात्मक सम्बन्धलाई कसैले बिगार्न नसक्ने बताउनुभयो । जनता, कर्मचारी र राजनीतिक तहमा दुई देशबीच सहकार्य गरेर सम्भावना खोजेर कार्यान्वयमा लानुपर्नेमा उहाँले जोड दिनुभयो ।
व्यवसायीसमेत रहेका शोधकर्ता बलबहादुर तामाङले पर्यटन विकासका लागि पूर्वाधारको विकास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले पर्यटनका लागि दुवै देश थप प्रविधिमैत्री हुनुपर्ने र स्वच्छता कायममा नागरिकसमेत जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
अन्तरराष्ट्रिय सम्बन्धका अध्ययनकर्ता विराटकृष्ण थापाले प्रोपोगान्डा भिडियो र मिडिया कन्टेन्टले दुई देशको सम्बन्धमा समस्या बढाइदिएको बताउनुभयो । अल्गोरिदम, गलत सूचना र झुटा सूचनाले चुनौतीहरू बढाइरहेकाले नेपाल तथा भारतको सम्बन्धमा पनि समस्या बढाइदिने गरेको उदाहरण प्रस्तुत गर्नुभयो । सङ्गठित समूहले योजनाबद्ध रूपमा भिडियो बनाएर दुई देशको सम्बन्धमा समस्या ल्याइदिएको र त्यस्ता समूहले सर्वसाधारण, परिवार तथा समाजमा नकारात्मक असर पुर्याइरहेको उहाँले बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका अनुसन्धान निर्देशक लक्ष्मण गौतमले पर्यटनका क्षेत्रमा नयाँ थप परिपथहहरू निर्माणमा जोड दिनुभयो । नेपाल र भारतबीच धार्मिक परिपथको सम्भाव्यता अध्ययन गरी कार्यान्वयनमा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नीति संवाद सम्पन्न
नेपाल र भारतका विज्ञहरु सँगै बसेर गरिएको तीनदिने नीति संवाद राजधानीमा सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको नीति संवाद आज सम्पन्न भएको हो ।
विज्ञहरूले राजनीति र कूटनीति, अन्तरराष्ट्रिय सहकार्य र विदेश मामला, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारी, ऊर्जा, प्रविधि, पूर्वाधार विकास, युवा, संस्कृति र जीवनशैली, आर्थिक सम्बन्ध, सीमा व्यवस्थापन, प्रकोप व्यवस्थापन र सुरक्षा, मिडिया र पर्यटनका विषयमा विमर्श गर्नुभयो ।
विमर्शमा विज्ञहरुले समस्याको समाधानको सूचीहरु सुझावसहित प्रस्तुत गर्नुभएको छ । नेपाल र भारतबीच सम्बन्ध मजबुत रहेको र त्यसलाई अझ सुदृढ गर्न मिलेर कार्य गर्न सकिने क्षेत्रहरुको पहिचानको प्रयत्न समेत गर्नुभएको छ ।
समापन समारोहमा नीति अनुसन्धान प्रतिष्ठान नेपाल (नेनाप) का निर्देशक डा दीपककुमार अधिकारीले नेपाल र भारतको सांस्कृतिक चिन्तनको मूलधार एउटै रहेको भन्दै सहकार्यका दायरा अझ फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो । दुई देशबीच सहकार्य र सम्पर्कहरु जति बढ्यो उति सम्बन्ध थप सुदृढ हुने उहाँले सुनाउनुभयो । दुवै देशबीच मिलेर कार्य गर्ने निकै सकारात्मक वातावरण विकास भएको उहाँको भनाइ थियो ।
नीति अनुसन्धान प्रतिष्ठान नेपालका अध्यक्ष डा प्रेमराज न्यौपानेले नेपाल भारत नीति संवादले भविष्यमा आउनसक्ने समस्यालाई समेत निक्र्यौल गरी नीतिनिर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहााले विमर्शमा सहभागी विज्ञहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा आयोजकका तर्फबाट निकेश लम्सालले कार्यक्रमको सफलतामा सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भविष्यमा यस्तै विमर्शहरुले नेपाल र भारतको साथ साथ विकासमा योगदान हुने बताउनुभयो । समापन समारोहमा नेपाल र भारतका विभिन्न विश्वविद्यालयका उपकुलपति, प्राध्यापक, शोधकर्ता, पत्रकारका अलावा सम्बन्धित विषयका जानकारहरू सहभागी हुनुहुन्थ्यो । नीति अनुसन्धान प्रतिष्ठान नेपालले विविध क्षेत्रमा अध्ययन तथा विमर्श चलाउँदै आएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |