
पाल्पा, ५ मङ्सिर: मेचीदेखि महाकालीसम्मका करिब २०० जना साइकलयात्री यहाँका पर्यटकीय गन्तव्यको प्रवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले तानसेनबाट पूर्वी पाल्पासम्मको साइकल यात्रामा निस्केका छन् । आज बिहान तानसेनबाट निस्केका उनीहरूले पूर्वखोला, निस्दीका पर्यटकीयस्थल हुँदै रामपुरमा पुगेर दुई दिनको यात्रा समापन गर्नेछन् ।
पाल्पाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाल्पा साइकलिङ सङ्घले दुईदिने ‘हेरिटेज राइड (सम्पदा यात्रा) २०८३’ आयोजना गरेको हो । साइकल यात्रामा विश्व साइकलयात्री तथा सगरमाथा आरोही पुष्कर शाहसँगै काठमाडौँ, पोखरा, कपिलवस्तु रुपन्देही, नवलपरासी, नेपालगञ्जलगायत विदेशबाट आएका साइकलयात्री समेत सहभागी छन् ।
सङ्घका अध्यक्ष रुपेश महर्जनले धार्मिक तथा पर्यटकीय क्षेत्रलाई जोडेर साइकलयात्रा थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा परेका सम्पदालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने प्रयास गरिएको हो ।”
दुई जना विदेशीसहित जिल्ला बाहिरका १५० र जिल्लाभित्रका ५० जना साइकलयात्रीले सहभागिता जनाएका अध्यक्ष महर्जनले जानकारी दिनुभयो । आज बिहान ७ बजे तानसेन दरबारबाट यात्रा सुरु भएको थियो । यात्रामा सहभागी साइकलयात्रीलाई पाल्पा दरबार परिसरमा टीका लगाएर बिदाइ गरिएको थियो ।
साइकल यात्राको पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सन्दीप रानाले झण्डा उठाएर शुभारम्भ गर्नुभएको थियो । पर्यटन प्रवर्द्धनमा साइकलयात्राको महत्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो । “पाल्पामा पर्यटकीय सम्भावना बोकेका थुप्रै स्थलहरू छन् । तिनिहरूको प्रचारप्रसार गर्ने र आवश्यक पूर्वाधार निर्माणमा सरकारले समन्वय गरिरहेको छ”, उहाँले भन्नुभयो, “साइकल यात्राले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिएका छौँ ।” पर्यटकीय स्थलहरुलाई जोडेर पाल्पामा व्यावसायिक साइकल यात्राको सम्भावना रहेकोसमेत उहाँले बताउनुभयो ।
पहिलो दिन आज तानसेनको नारायण टोल, असन टोल, तानसेन दरबार र भगवती मन्दिर हुँदै आर्यभञ्ज्याङ, चिदिपानी, हुमिन तथा पूर्वखोला गाउँपालिकाका पर्यटकीय क्षेत्रको अवलोकन गर्दै साइकलयात्री निस्दी गाउँपालिकास्थित अमरिसो बगान काउलेडाँडा पुग्नेछन् । दोस्रो दिन आइतबार बिहान काउलेडाँडाको पर्यटकीय क्षेत्र अवलोकन गरेपछि कीर्तिपुर हुँदै रामपुर नगरपालिकासम्म यात्रा गरिने सङ्घका सदस्य शान्तम थैवले जानकारी दिनुभयो ।
साइकलयात्रामा ११ महिला र १८९ पुरुष गरी २०० जनाले सहभागिता जनाएका सङ्घका महासचिव विज्ञान बज्राचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार सहभागी साइकलयात्रीको उमेर १६ देखि ६१ वर्षसम्म छ । कार्यक्रम सञ्चालनका लागि करिब रु १५ लाख खर्च हुने आयोजकले जनाएको छ ।
सम्पदा यात्राको पहिलो संस्करण २०७९ मा तानसेन र पश्चिम पाल्पाका सम्पदालाई समेटेर आयोजना गरिएको थियो । दोस्रो संस्करण २०८२ मा ‘सम्पदा यात्रा’ मूल नारासहित तानसेन दरबारदेखि रामनिहल दरबारसम्म प्रतिस्पर्धात्मक साइकल यात्रा सञ्चालन गरिएको थियो । यसपटक तेस्रो संस्करणमा तानसेनदेखि पूर्वी पाल्पाका पर्यटकीय तथा ऐतिहासिक गन्तव्यलाई प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |