Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ३०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
मकवानपुर

प्रश्नको कठघरामा जनप्रतिनिधि: निकुञ्जदेखि विद्यालयसम्मका गुनासा

सभाहलमा स्थानीयको भीड थियो । कसैको हातमा प्रश्न थियो, कसैको मनमा वर्षौंदेखिको गुनासो । अगाडि जनप्रतिनिधि थिए ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १, मंगलबार (४ घण्टा अघि)
Post Thumbnail

मकवानपुर, १ मङ्सिर: सभाहलमा स्थानीयको भीड थियो । कसैको हातमा प्रश्न थियो, कसैको मनमा वर्षौंदेखिको गुनासो । अगाडि जनप्रतिनिधि थिए । छेउमा कर्मचारी । त्यसको बीचमा थियो–सार्वजनिक सुनुवाइको खुला मञ्च ।

हेटौँडा उपमहानगरपालिका–१३ का नागरिकले सोमबार यही मञ्चलाई आफ्ना समस्या सुनाउने अवसरका रूपमा प्रयोग गर्नुभयो । उहाँहरुले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, राजस्वदेखि निकुञ्ज र भूमिहीनको समस्यासम्मका सवाल उठाउनुभयो । त्यहाँ प्रश्न केबल गुनासो मात्रै थिएनन्, स्थानीय सरकारप्रतिको अपेक्षा र जवाफदेहिताको माग थियो ।

स्थानीय अगुवा बगानसिं थिङले सार्वजनिक सुनुवाइले नागरिकको आवाज सम्बन्धित निकायसम्म पुर्‍याउने बाटो खोलिदिएको बताउनुभयो । उहाँले स्थानीय सरकारलाई जवाफदेही बनाउन यस्ता कार्यक्रम उपयोगी हुने धारणा राख्नुभयो ।

“सार्वजनिक सुनुवाइबाट नागरिकले आफ्ना समस्या सम्बन्धित निकायसमक्ष प्रत्यक्ष राख्न पाएका छन् । यसले स्थानीय सरकारलाई नागरिकप्रति थप जवाफदेही बनाउन सहयोग गर्छ”, थिङले भन्नुभयो । उहाँले वडाबाट सिफारिस भएका योजनामा आवश्यक बजेट विनियोजन गर्न उपमहानगरपालिकासँग आग्रह गर्नुभयो । विनियोजन भएको बजेट समयमै कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

योजना कार्यान्वयनमा हुने ढिलाइबारे पनि उहाँले प्रश्न राख्नुभयो । कर्मचारी अभावका कारण काम रोकिएको हो कि ढिलासुस्तीका कारण काम अघि नबढेको हो भन्ने विषय स्पष्ट हुनुपर्ने उहाँले बताउनुभयो । कार्यालय समयमै कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न नागरिकलाई उत्साहित बनाउने भूमिका वडा कार्यालयले निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो । यसमा उपमहानगरपालिका कार्यालय अग्रसर हुनुपर्ने उहाँको भनाइ थियो ।

वडामा सडक निर्माणको काम तीव्र हुनु सकारात्मक पक्ष भएको बताउँदै थिङले सडकको क्षेत्र र सीमाबारे नागरिकलाई स्पष्ट जानकारी गराउनुपर्ने धारणा राख्नुभयो । नागरिकलाई जानकारी दिएर विकास निर्माणका काम अघि बढाउनसके विवाद कम हुने उहाँले सुनाउनुभयो ।

सार्वजनिक सुनुवाइको अर्को महत्वपूर्ण विषय शिक्षा बन्यो । तीनकुने टोल विकास संस्थाका सचिव जगनाथ पौडेलले विद्यार्थीलाई मात्र होइन, अभिभावक र समुदायलाई पनि शिक्षित बनाउनुपर्ने कुरा उठाउनुभयो ।

उहाँले वडाका नागरिकलाई नैतिक तथा अभिभावक शिक्षा दिने कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो । “शिक्षाको गुणस्तर सुधार गर्न विद्यालयसँगै अभिभावकको भूमिका बलियो बनाउनुपर्छ । त्यसका लागि वडाले नैतिक तथा अभिभावक शिक्षा दिने कार्यक्रम ल्याउन आवश्यक छ”, पौडेलले भन्नुभयो ।

कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक रामकृष्ण न्यौपानेले विद्यालयमा शौचालयजस्तो आधारभूत सुविधा अभाव हुन नहुने बताउनुभयो । उहाँले शैक्षिक क्षेत्रको विकासमा जनप्रतिनिधिबाट आवश्यक सहयोग प्राप्त भइरहेको जानकारी गराउनुभयो ।

महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्ण्ॉ श्रेष्ठले नीति र व्यावहारबीचको अन्तरबारे प्रश्न उठाउनुभयो । आधारभूत तथा माध्यमिक तहका विद्यार्थीलाई नि:शुल्क शिक्षा दिने व्यवस्था भए पनि विद्यालयसँग पर्याप्त स्रोत नहुँदा केही रकम शुल्कका रूपमा लिनुपर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो ।

“नि:शुल्क शिक्षाको नीति राम्रो छ । विद्यालय सञ्चालनका लागि आवश्यक स्रोत पर्याप्त छैन । त्यसैले व्यवहारमा केही शुल्क लिनुपर्ने अवस्था छ । नीति र व्यवहारबीचको यो अन्तर समाधान गर्न स्थानीय सरकारले सहजीकरण गर्नुपर्छ”, श्रेष्ठले भन्नुभयो ।

सुन्दरबस्ती टोल विकास संस्थाका अध्यक्ष रामबहादुर वाइबाले विकास योजनाको छनोटमा पहुँच र नाता सम्बन्धभन्दा आवश्यकता प्राथमिकतामा पर्नुपर्ने आवाज उठाउनुभयो ।

“पार्टीका कार्यकर्ता वा नजिकका आफन्तलाई हेरेर योजना दिने प्रवृत्ति हुनुहुँदैन । आवश्यकताका आधारमा योजना छनोट भएमात्रै विकास समानुपातिक र प्रभावकारी हुन्छ”, वाइबाले भन्नुभयो ।

स्थानीय भीमबहादुर थिङले वडाका सडक पूर्वाधारलाई वडा र पालिका तहबाट उचित सम्बोधन गर्नुपर्ने बताउनुभयो । सबैभन्दा गहिरो समस्या भने निकुञ्जसँग जोडिएको देखियो । आधामार टोल विकास संस्थाका अध्यक्ष उमेश लामाले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गाको समस्या समाधान गरी जग्गाधनी पुर्जा उपलब्ध गराउन माग गर्नुभयो ।

उहाँले निकुञ्जको सीमाङ्कन स्पष्ट गर्नुपर्ने बताउनुभयो । आफूहरुले सङ्घर्ष समिति बनाएर पहल गरिरहेको भए पनि समस्या झन् बल्झिने गरेको उहाँले सुनाउनुभयो ।

“वर्षौंदेखि स्थानीयले भोगचलन गर्दै आएको जग्गाको समस्या समाधान भएको छैन । निकुञ्जको स्पष्ट सीमाङ्कन गरी स्थानीयलाई उचित निकास दिनुपर्छ”, लामाले भन्नुभयो ।

उहाँले स्थानीय सरकारले यस विषयमा सहजीकरण गर्नुपर्ने बताउनुभयो । पदमपोखरीमा स्थापना गरिएको अस्पताललाई कार्यालय समयभित्र सीमित नराखी २४सै घण्टा सेवा दिने व्यवस्था गर्न उहाँले माग गर्नुभयो ।

चन्द्रोदय आवि शिक्षक अभिभावक सङ्घका अध्यक्ष फुलमाया पाख्रीनले सिमपानी–टुटेपानी जोड्ने झोलुङ्गे पुल निर्माण गर्ने पालिका प्रतिनिधिको प्रतिबद्धता सम्झाउनुभयो । स्थानीय रामलाल गोलेले कमेरोपानीमा एम्बुलेन्सको व्यवस्था गर्न माग गर्नुभयो ।

स्थानीयका प्रश्न सुनेपछि जवाफ दिने पालो आयो । हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ र वडाध्यक्ष पेम्बा लामाले सहभागीका जिज्ञासाको जवाफ दिनुभयो ।

उपप्रमुख बानियाँले निकुञ्जका कारण पदमपोखरीका नागरिकले भोग्नुपरेका समस्या स्थानीय सरकारको मात्र प्रयासबाट समाधान हुन नसक्ने बताउनुभयो । समस्या कानुनी अड्चनसँग जोडिएको भन्दै सङ्घीय सरकारले आवश्यक निर्णय लिनुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।

“स्थानीय सरकारले सेवा दिने हो । निकुञ्जसँग जोडिएका कतिपय समस्या कानुनी र सङ्घीय तहसँग सम्बन्धित छन् । त्यसैले त्यसको समाधानका लागि सङ्घीय सरकारले आवश्यक निर्णय गर्नुपर्छ”, बानियाँले भन्नुभयो ।

नागरिकको घरदैलोमा सेवा पुर्‍याउनु जनप्रतिनिधिको धर्म भएको उहाँले बताउनुभयो । तर जनप्रतिनिधिलाई कर्मचारीजस्तो बुझ्ने प्रवृत्ति त्याग्न पनि आग्रह गर्नुभयो ।

हेटौँडा उपमहानगरपालिकाभित्र विकासका लागि १३ नम्बर वडामा सबैभन्दा बढी बजेट परेको वडामध्ये एक रहेको उहाँले बताउनुभयो । बजेटको प्रभावकारिताका कारण वडामा विकासका काम प्रभावकारी भइरहेको आफूले पाएको उहाँले सुनाउनुभयो ।

शिक्षा र स्वास्थ्यमा भवन बनाउनु मात्रै पर्याप्त नहुने उहाँले बताउनुभयो । सेवा र गुणस्तरमा पनि ध्यान दिनुपर्ने उहाँको जोड थियो । पदमपोखरी अस्पतालमा आवश्यक चिकित्सकसहित जनशक्ति व्यवस्थापन गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

“जनप्रतिनिधिलाई खुसी बनाउन सधैँ राम्रो भनिरहनु पर्दैन । आवश्यक पर्दा खबरदारी गर्नुस्, प्रश्न गर्नुस्”, बानियाँले भन्नुभयो, “जनप्रतिनिधिले कानुनसम्मत रूपमा काम गर्नुपर्छ । नागरिकले पनि आफ्नो अधिकार र कर्तव्य बुझेर खबरदारी गर्नुपर्छ ।”

वडाध्यक्ष पेम्बा लामाले नागरिकका गुनासा सम्बोधन गर्न आफूहरूले व्यावहारिक रूपमा समाधान खोजिरहेको बताउनुभयो । नागरिकको मागअनुसार योजना र बजेट राख्दा कतिपय अवस्थामा बजेट नै फ्रिज हुने अवस्था आउने गरेको उहाँले सुनाउनुभयो ।

“बाहिरबाट प्रश्न गर्न सजिलो हुन्छ । तर जिम्मेवारीमा बसेर काम गर्दा कानुनी, प्रशासनिक र बजेटका विभिन्न समस्या आउँछन्”, लामाले भन्नुभयो ।

भूमिहीन तथा सुकुमवासीलाई जग्गाधनी पुर्जा दिने विषयमा निकुञ्जकै कारण समस्या भएको उहाँले बताउनुभयो । यस विषयमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी र हेटौँडा उपमहानगरपालिकाका प्रमुखसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको उहाँले सहभागीलाई बताउनुभयो ।

वडालाई थप व्यवस्थित गर्दै विद्युत्, पर्यटन, सडक, शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा विकास अघि बढाउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । यसका लागि स्थानीयसँग हातेमालो गर्ने उहाँको भनाइ थियो ।

सार्वजनिक सुनुवाइमा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले वडा कार्यालय र हेटौँडा उपमहानगरपालिकाबाट नागरिकले पाउने सेवासम्बन्धी सर्वेक्षणको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा पालिकाका योजना र बजेटबारे किरण थापाले जानकारी गराउनुभयो । सूचना अधिकारी भानुभक्त थपलिया, विना थिके, सफल भुजेल, विवेकचन्द्र अधिकारीलगायतको उपस्थिति थियो । वडा सदस्य उत्तम गोम्जा, सानुमाया नेपाली, वडा सचिव शान्तिमाया हिम्डुङ, टोल विकास संस्थाका पदाधिकारी, विद्यालयका प्रतिनिधि, स्थानीय, पत्रकार तथा अन्य सरोकारवालाको पनि सहभागिता थियो ।

  • मकवानपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

    पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

  • Post Thumbnail

    सामूहिक फूलखेतीले दिलाएको सफलता…

  • Post Thumbnail

    बाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडिबीसँग आग्रह

  • Post Thumbnail

    बाढी प्रभावित बस्तीको पुनःस्थापनाका लागि कानुन संशोधन गरिँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक ३० गते सोमबार

    २०८३ कात्तिक ३० गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

    पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

    Post Thumbnail

    सामूहिक फूलखेतीले दिलाएको सफलता…

    कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

    कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

    ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

    ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution