
सङ्खुवासभा, ३० कात्तिक : मत्स्यपोखरीमा ‘चिचिला महोत्सव २०८३’ आयोजना हुने भएको छ ।
चिचिला गाउँपालिकाले आज पत्रकार सम्मेलनमार्फत मङ्सिर ५ देखि ८ गतेसम्म महोत्सव हुने जानकारी दिइएको हो । पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा जातजातिको मौलिक कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले बताउनुभयो । महोत्सवमा स्थानीय कृषकले उत्पादन गरेका खाद्यान्न, कृषि उपज, पशुपन्छीजन्य सामग्री तथा हस्तकलाका सामग्रीको प्रदर्शनी र बिक्री वितरणका लागि कम्तीमा ३० वटा स्टल राखिने भएको छ ।
यसबाट स्थानीय उत्पादनको प्रवर्द्धन तथा उत्पादकलाई बजारीकरणको अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ । महोत्सवको अर्को आकर्षणका रूपमा महिला तथा पुरुष खुला ट्रेल रेस प्रतियोगिता रहनेछ । करिब १२.५ किलोमिटर दूरीको प्रतियोगितामा दुवै विधातर्फ प्रथम, द्वितीय, तृतीय र चौथो हुने प्रतियोगीलाई नगद पुरस्कार प्रदान गरिनेछ ।
महोत्सवमा साहित्य, संगीत र सांस्कृतिक कार्यक्रमलाई समेत विशेष प्राथमिकता दिइएको छ । स्थानीय कला, संस्कृति, परम्परा र पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले सांस्कृतिक कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।
लालिगुराँस पदमार्ग तथा चिचिला खण्डको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिने प्रतियोगिता १२ दशमलव ५ किलोमिटर दूरीको हुनेछ । प्रतियोगिता छ्याङकुटीबाट सुरु भई मिमिटे, ठूलोटोलो, देउराली, चिचिला बजार, क्वापानी, बल्थाम, मकालु हिरक पार्क, घजे प्रवेशद्वार, गुराँसे हुँदै घजे मत्स्य सामुदायिकस्थल बाट महोत्सव स्थल मत्स्यपोखरीमा पुगेर सम्पन्न हुनेछ ।
प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेले मेडल, प्रमाणपत्रसहित नगद पुरस्कार प्राप्त गर्नेछन् । ट्रेल रेस मङ्सिर ५ गते बिहान ८ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |