
दमौली (तनहुँ), २३ कात्तिकः गाईपूजाका अवसरमा तनहुँका दुई गौसंरक्षण केन्द्रमा आज सामूहिक रूपमा गाईपूजा गरिएको छ ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका–९ र व्यास नगरपालिका–१० स्थित गौसंरक्षण केन्द्रमा धार्मिक विधिअनुसार गाईपूजा गरिएको हो । गाईपूजाका अवसरमा गौसंरक्षण केन्द्रमा रहेका गाईलाई माला लगाइदिने, टीका तथा पूजा गर्ने र मीठा परिकार खुवाएर सम्मान गरिएको थियो ।
शुक्लागण्डकी नगरपालिका–९ मा मुक्तिनाथ च्यवनधामको व्यवस्थापनमा गौसंरक्षण केन्द्र सञ्चालनमा छ । सो केन्द्रमा सामूहिक पूजा गरिएको मुक्तिनाथ च्यवनधामका अध्यक्ष होमनाथ लम्सालले जानकारी दिनुभयो ।
छाडा रूपमा छोडिएका तथा सडकमा अलपत्र अवस्थामा रहेका गाईको संरक्षण, हेरचाह र व्यवस्थापन गर्ने उदेश्यले गौसंरक्षण केन्द्र स्थापना गरिएको अध्यक्ष लम्सालले बताउनुभयो । धार्मिक आस्थासँगै गाईको संरक्षण र व्यवस्थापनलाई जोड दिँदै केन्द्रले काम गर्दै आएको छ ।
त्यस्तै, व्यास नगरपालिका–१० स्थित गौसंरक्षण केन्द्रमा गाईपूजाका अवसरमा विशेष कार्यक्रम आयोजना गरियो । सो केन्द्रमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले गाईपूजा गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
गौसंरक्षण केन्द्रका अध्यक्ष तुल्सीराम सापकोटाका अनुसार गाईपूजाका अवसरमा केन्द्रमा रहेका गाईको सामूहिक पूजाआजा गरिएको हो । हिन्दू धर्ममा गाईलाई पवित्र जनावरका रूपमा सम्मान गर्ने परम्परा छ । तिहारअन्तर्गत गाईपूजाका दिन गाईलाई लक्ष्मीको प्रतीक मानेर पूजा गर्ने, माला लगाइदिने, मीठा परिकार खुवाउने र श्रद्धा व्यक्त गर्ने चलन रहेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |