
दमौली (तनहुँ), २१ कात्तिकः व्यास नगरपालिका–५ सङ्गमटोलकी विष्णुमाया श्रेष्ठले यस वर्ष व्यावसायिक रूपमा सयपत्री फूलखेती सुरु गर्नुभयो । पहिलो प्रयासमा नै उहाँलाई सफलता मिलेको छ । एक दशकदेखि तरकारीखेती गर्दै आउनुभएकी उहाँलाई नगरपालिकाले फूलखेतीमा ५० प्रतिशत अनुदान दिएर प्रोत्साहन गरेको छ । नयाँ व्यवसायका रूपमा सयपत्री खेती रोज्नुभएको हो । पहिलो वर्षमै फूलको माग आउन थालेपछि उहाँ उत्साहित बन्नुभएको छ ।
श्रेष्ठले आफ्नो साढे दुई रोपनी जग्गामा दुई हजार ५०० सयपत्रीका बेर्ना रोप्नुभएको थियो । फूल फुल्न थालेपछि उहाँले टिपेर बिक्री सुरु गर्नुभएको छ । उत्पादित फूल प्रतिकिलो रु ३०० का दरले बिक्री भइरहेको छ । त्यस्तै, फूलबाट माला बनाएर बिक्री गर्दा एउटा मालाको मूल्य रु १५० निर्धारण गरेको उहाँले बताउनुभयो ।
पहिलोपटक फूलखेतीमा संलग्न हुनुभएकी श्रेष्ठलाई सुरुमा उत्पादन र बजार व्यवस्थापन कस्तो होला भन्ने चिन्ता थियो । फूल फुल्न थाल्यो । ग्राहकबाट माग पनि आउन थाल्यो । उहाँको उत्साह बढेको छ । उत्पादन भएको फूल बिक्री गर्न बजार खोज्दै हिँड्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।
“पहिलोपटक सयपत्री फूलखेती गरेकी हुँ । नगरपालिकाले ५० प्रतिशत अनुदान दिएर प्रोत्साहन गरेपछि फूलखेती गर्ने सोच बन्यो,” श्रेष्ठले भन्नुभयो, “अहिले फूलको माग आउन थालेको छ । बजारको समस्या छैन । फूल टिपेर बिक्री गर्न पनि सुरु गरिसकेकी छु ।”
उहाँका अनुसार फूलखेती सुरु गरेपछि स्थानीयस्तरमै उत्पादित फूलप्रति उपभोक्ताको चासो देखिएको छ । फूलको माग आउन थालेपछि उत्पादनलाई बजारसम्म पु¥याउन सहज हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । फूल बिक्रीबाट आम्दानी लिन थालेपछि आगामी दिनमा यसलाई विस्तार गर्ने सोच बनाएको उहाँले उल्लेख गर्नुभयो ।
कृषि पेशा उहाँका लागि नयाँ होइन । उहाँ विगत १० वर्षदेखि तरकारीखेतीमा आबद्ध हुनुहुन्छ । आठ रोपनी क्षेत्रफलमा तरकारीखेती गर्दै आउनुभएकी उहाँले आफ्नै नर्सरी सञ्चालन गर्नुभएको छ । उहाँको नर्सरीबाट बेमौसमी तरकारीका बेर्ना उपलब्ध हुँदै आएका छन् ।
लामो समयदेखि तरकारीखेतीमा अनुभव बटुल्नुभएकी उहाँले यस वर्ष कृषि व्यवसायलाई विविधीकरण गर्दै फूलखेती थपेको बताउनुभयो । तरकारीखेतीसँगै फूलखेती गर्दा एउटै कृषि पेसाबाट विभिन्न स्रोतमा आम्दानी लिन सकिने उहाँको अपेक्षा छ ।
“तरकारीखेती गर्दै आएको १० वर्ष भयो । आठ रोपनीमा तरकारी लगाएकी छु । नर्सरीबाट बेमौसमी तरकारीका बेर्ना पनि बिक्री गर्दै आएकी छु,” उहाँले भन्नुभयो, “यस वर्ष नगरपालिकाको अनुदान पाएपछि साढे दुई रोपनीमा सयपत्री लगाएँ । पहिलो वर्षमै माग आउन थालेपछि खुसी लागेको छ ।”
तरकारीखेती र नर्सरीको अनुभवले उहाँलाई फूलखेती गर्न सहज भएको छ । कृषि पेसामा निरन्तर लागिरहनुभएकी उहाँले बजारको मागअनुसार उत्पादन विस्तार गर्न सके आम्दानीको सम्भावना अझ बढ्ने विश्वास लिनुभएको छ ।
स्थानीय फूललाई प्राथमिकता दिन माग श्रेष्ठले स्थानीय किसानले उत्पादन गरेका फूललाई बजारमा प्राथमिकता दिनुपर्ने बताउनुभयो । विशेषगरी तिहारजस्ता चाडपर्वमा फूलको माग उच्च हुने भएकाले स्थानीय उत्पादनको उपयोग बढाउनुपर्ने उहाँको सुझाव छ ।
नेपालमा फूलको माग बढ्ने समयमा भारतबाट ठूलो परिमाणमा फूल आयात हुने गरेको उल्लेख गर्दै उहाँले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताउनुभयो । “बाहिरबाट आउने फूललाई पूर्ण रूपमा निषेध गरेर स्थानीय रुपमा उत्पादित फूललाई प्राथमिकता दिनुपर्छ,” उहाँले भन्नुभयो, “यहाँका किसानले मेहनत गरेर फूल उत्पादन गरेका छन् ।” कृषि क्षेत्रमा नयाँ सम्भावना खोजिरहेका किसानलाई स्थानीय सरकारले यस्ता कार्यक्रममार्फत प्रोत्साहन गर्नुपर्ने उहाँको धारणा छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |