Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २१, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

विचारः आयुर्वेदको पुनर्जागरण र स्वस्थ नेपालको सङ्कल्प

कात्तिक कृष्ण त्रयोदशी अर्थात् धनतेरसका दिन मनाइने धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस नेपाली समाजको स्वास्थ्य, संस्कृति र मौलिक चिकित्सा परम्परासँग जोडिएको महत्वपूर्ण अवसर हो ।
रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २१, शुक्रबार (५८ मिनेट अघि)
विचारः आयुर्वेदको पुनर्जागरण र स्वस्थ नेपालको सङ्कल्प

काठमाडौँ, २० कात्तिकः कात्तिक कृष्ण त्रयोदशी अर्थात् धनतेरसका दिन मनाइने धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस नेपाली समाजको स्वास्थ्य, संस्कृति र मौलिक चिकित्सा परम्परासँग जोडिएको महत्वपूर्ण अवसर हो । यो दिवस धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरता मात्र नभई आयुर्वेद चिकित्सा पद्धतिको संरक्षण, प्रवर्द्धन, वैज्ञानिक विकास र राष्ट्रिय स्वास्थ्य प्रणालीमा यसको प्रभावकारी समायोजन गर्ने सङ्कल्पको दिन पनि हो ।

आयुर्वेदका प्रवर्तक तथा स्वास्थ्य र औषधिका देवताका रूपमा पूजित भगवान् धन्वन्तरीलाई हिन्दू धर्मग्रन्थमा भगवान् विष्णुको अवतारका रूपमा वर्णन गरिएको छ । पौराणिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा अमृत कलशसहित भगवान् धन्वन्तरीको प्रादुर्भाव भएको थियो । प्रकृतिमा उपलब्ध जडीबुटी र औषधीय वनस्पतिका माध्यमबाट मानव जीवनलाई निरोगी बनाउने ज्ञानको प्रतीकका रूपमा उहाँलाई सम्मान गरिन्छ । वैदिक दर्शनका चार उपवेदमध्ये एक आयुर्वेदलाई मानव स्वास्थ्य र दीर्घजीवनसँग सम्बन्धित प्राचीनतम् चिकित्सा विज्ञान मानिन्छ । यसले शरीर, मन र आत्माबीचको सन्तुलनलाई स्वस्थ जीवनको आधार मानेको छ । त्यसैले आयुर्वेद केबल रोग लागेपछि उपचार गर्ने पद्धति मात्र नभई रोगको रोकथाम, स्वास्थ्य प्रवर्द्धन, स्वस्थ जीवनशैली र दीर्घायु प्राप्त गर्ने समग्र विज्ञान हो ।

नेपालमा २०५६ सालदेखि धन्वन्तरी जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाउन थालिएको हो । यसले आयुर्वेद चिकित्सा प्रणालीलाई राष्ट्रिय पहिचान, जनस्वास्थ्य र स्वास्थ्य सेवाको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्ने उद्देश्य बोकेको छ । हरेक वर्ष विभिन्न कार्यक्रम, स्वास्थ्य सचेतना अभियान, योग तथा ध्यान अभ्यास, आयुर्वेदिक स्वास्थ्य परामर्श र औषधीय वनस्पतिको महत्वबारे जानकारी प्रदान गर्दै यो दिवस मनाइन्छ । ‘प्रकृति अनुकूल आहार, औषध र विहार रोगमुक्त समाजको आधार’ भन्ने यस वर्ष २७ औँ धन्वन्तरी जयन्ती र राष्ट्रिय आरोग्य दिवसको नाराले पनि स्वस्थ जीवनका लागि उपचारसँगै रोकथाम र स्वास्थ्य प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ । आधुनिक समयमा बढ्दै गएका नसर्ने रोग, मानसिक तनाव, असन्तुलित खानपान, शारीरिक निष्क्रियता र वातावरणीय प्रदूषणजस्ता चुनौतीको सामना गर्न जीवनशैलीमा सुधार आवश्यक छ । यस सन्दर्भमा योग, ध्यान र आयुर्वेदका व्यावहारिक पक्षलाई जनजीवनमा समावेश गर्नसके स्वास्थ्य क्षेत्रमा सकारात्मक परिणाम हासिल गर्न सकिन्छ ।

आयुर्वेदः उपचारभन्दा व्यापक जीवनपद्धति

आयुर्वेदको मूल दर्शन स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा गर्नु र रोगीको रोग निवारण गर्नु हो । यसले मानिसको शारीरिक बनावट, उमेर, प्रकृति, खानपान, वातावरण र जीवनशैलीलाई ध्यानमा राखेर स्वास्थ्य व्यवस्थापन गर्ने अवधारणा प्रस्तुत गर्दछ । दिनचर्या, ऋतुचर्या, आहारविहार, निद्रा, व्यायाम, योग र मानसिक सन्तुलनलाई यसले विशेष महत्व दिएको छ । आजको व्यस्त जीवनशैलीमा मानिसहरू अनियमित खानपान, पर्याप्त निद्राको अभाव, तनाव र शारीरिक गतिविधिमा कमीका कारण विभिन्न स्वास्थ्य समस्याबाट प्रभावित भइरहेका छन् । उच्च रक्तचाप, मधुमेह, मोटोपना, मुटुरोग तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू जनस्वास्थ्यका प्रमुख चुनौती बनेका छन् । यस्ता समस्याको रोकथामका लागि स्वस्थ आहार, नियमित व्यायाम, योग, ध्यान र अनुशासित जीवनशैली आवश्यक हुन्छ ।

आयुर्वेदले व्यक्तिको प्रकृतिअनुसार आहारविहार अपनाउन प्रेरित गर्दछ । यसले स्वास्थ्यलाई औषधिमा मात्र सीमित नराखी दैनिक व्यवहार र सामाजिक वातावरणसँग जोडेको छ । त्यसैले विद्यालय, समुदाय, घरपरिवार र कार्यस्थलसम्म स्वास्थ्य सचेतनाका कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ । भान्छाघरलाई नै स्वास्थ्यको पहिलो आधार बनाउने अवधारणा आयुर्वेदको महत्वपूर्ण पक्ष हो । स्थानीय रूपमा उपलब्ध पौष्टिक खाद्यवस्तु, मौसमी फलफूल, सागसब्जी तथा खाद्यान्नको सन्तुलित प्रयोगले पोषण सुधारमा सहयोग पु¥याउँछ ।

त्यसैगरी, नागरिक आरोग्य कार्यक्रम, योग अभ्यास, स्वर्णविन्दु प्राशन तथा स्वास्थ्य सचेतना अभियानलाई वैज्ञानिक मूल्याङ्कन र उपयुक्त स्वास्थ्य मापदण्डका आधारमा प्रभावकारी बनाउन सकिन्छ ।

नेपालमा आयुर्वेदको सम्भावना र सेवा विस्तार

प्राकृतिक, भौगोलिक तथा जैविक विविधताका दृष्टिले नेपाल आयुर्वेद विकासका लागि अत्यन्त सम्भावनायुक्त मुलुक हो । हिमाल, पहाड र तराईमा पाइने विविध वनस्पति तथा जडीबुटी आयुर्वेद औषधि उत्पादनका महत्वपूर्ण आधार हुन् । हिमाली क्षेत्रमा पाइने बहुमूल्य औषधीय वनस्पतिदेखि तराईका स्थानीय जडीबुटीसम्मको व्यवस्थित पहिचान, संरक्षण, खेती, सङ्कलन र प्रशोधन गर्नसके मुलुकले स्वास्थ्य तथा आर्थिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सक्छ ।

नेपालमा आयुर्वेद स्वास्थ्य सेवाको संस्थागत विस्तारका लागि विभिन्न प्रयास भइरहेका छन् । काठमाडौँको नरदेवीस्थित केन्द्रीय आयुर्वेद अस्पताल, प्रादेशिक आयुर्वेद अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, स्थानीय तहका आयुर्वेद शाखा तथा नागरिक आरोग्य सेवा केन्द्रमार्फत नागरिकलाई सेवा उपलब्ध गराउने व्यवस्था विस्तार हुँदै गएको छ । यी संस्थाबाट निःशुल्क स्वास्थ्य परीक्षण, आयुर्वेद औषधि वितरण, पञ्चकर्म, शल्यकर्म, योग तथा अन्य विशिष्टीकृत सेवाहरू सञ्चालन भइरहेका छन् । नागरिक आरोग्य कार्यक्रम र स्वास्थ्य प्रवर्द्धनसम्बन्धी गतिविधिले समुदायस्तरमा आयुर्वेद सेवाको पहुँच विस्तार गर्न सहयोग पुर्‍याएका छन् ।

यद्यपि संस्थागत संरचना विस्तार हुनु मात्र पर्याप्त छैन । सेवाको गुणस्तर, दक्ष जनशक्ति, आवश्यक औषधिको उपलब्धता, भौतिक पूर्वाधार र नागरिकको विश्वास अभिवृद्धि गर्न समानान्तर प्रयास आवश्यक छन् । विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकले सहज रूपमा गुणस्तरीय आयुर्वेद सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्नुपर्छ ।

संरक्षणसँगै वैज्ञानिक विकासको आवश्यकता

आयुर्वेदको संरक्षण भन्नाले परम्परागत ज्ञानलाई जस्ताको तस्तै निरन्तरता दिनुमात्र बुझ्नु हुँदैन । यसलाई समय, प्रविधि र वैज्ञानिक अनुसन्धानअनुसार परिमार्जन गर्दै लैजानु पनि उत्तिकै महत्वपूर्ण छ । परम्परागत ज्ञानको वैज्ञानिक परीक्षण, औषधिको गुणस्तर निर्धारण, प्रभावकारिताको अध्ययन र सुरक्षित प्रयोग सुनिश्चित गर्नु आजको आवश्यकता हो । आयुर्वेद औषधि उत्पादन तथा वितरणमा गुणस्तर नियन्त्रणलाई प्राथमिकता दिनुपर्छ । औषधिमा प्रयोग हुने कच्चा पदार्थको शुद्धता, पहिचान, प्रशोधन, मात्रा, भण्डारण र उत्पादन प्रक्रियालाई वैज्ञानिक मापदण्डअनुसार व्यवस्थित गर्न आवश्यक छ । औषधिको प्रभावकारिता र सम्भावित प्रतिकूल असरबारे अनुसन्धान हुनुपर्छ । यसबाट आयुर्वेदप्रति नागरिकको विश्वास अभिवृद्धि हुनुका साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा नेपाली औषधिको विश्वसनीयता स्थापित गर्न सकिन्छ ।

नेपालमा आयुर्वेद शिक्षाको गुणस्तर सुधार पनि महत्वपूर्ण विषय हो । शैक्षिक संस्थामा पाठ्यक्रमको एकरूपता, प्रयोगात्मक अभ्यास, अनुसन्धानमुखी शिक्षा र दक्ष चिकित्सक उत्पादनमा विशेष ध्यान दिनुपर्छ । आयुर्वेद चिकित्सा, औषधि विज्ञान, वनस्पति विज्ञान, जैविक प्रविधि र आधुनिक स्वास्थ्य अनुसन्धानबीच सहकार्य विस्तार गर्नसके नयाँ सम्भावनाका ढोका खुल्न सक्छन् । यस क्षेत्रमा दक्ष चिकित्सक, औषधि विज्ञ, अनुसन्धानकर्ता, प्राविधिक र जडीबुटीसम्बन्धी विशेषज्ञ जनशक्तिको विकास गर्न आवश्यक छ ।

सरकारी तथा निजी क्षेत्रका अनुसन्धान संस्थाबीच समन्वय गरी राष्ट्रिय प्राथमिकताका विषयमा अध्ययन अनुसन्धान अघि बढाउनुपर्छ ।

जडीबुटी संरक्षण र आर्थिक समृद्धि

नेपालको जडीबुटी क्षेत्र स्वास्थ्य सेवासँगै रोजगारी, उद्यमशीलता र निर्यात प्रवद्र्धनको सम्भावनायुक्त क्षेत्र हो तर यसको दिगो विकासका लागि प्राकृतिक स्रोतको संरक्षण र वैज्ञानिक व्यवस्थापन अनिवार्य छ । अव्यवस्थित सङ्कलन, वनस्पतिको प्राकृतिक बासस्थान विनाश र बजार व्यवस्थापनको अभावले बहुमूल्य जडीबुटी लोप हुने जोखिम बढाउन सक्छ । त्यसैले जडीबुटीको व्यावसायिक खेतीलाई प्रोत्साहन गर्नुपर्छ । किसानलाई प्राविधिक ज्ञान, गुणस्तरीय बीउ तथा बिरुवा, अनुदान, सहुलियतपूर्ण ऋण र बजारको सुनिश्चितता उपलब्ध गराउन आवश्यक छ ।

स्थानीय तह, सहकारी, निजी क्षेत्र र समुदायबीच सहकार्य गरी जडीबुटी उत्पादनदेखि प्रशोधन, औषधि निर्माण र बजारीकरणसम्मको मूल्य शृङ्खला विकास गर्न सकिन्छ । यसबाट ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना हुनुका साथै स्थानीय अर्थतन्त्र सुदृढ हुनेछ । नेपाली जडीबुटीको पहिचान, गुणस्तर प्रमाणीकरण र ब्रान्डिङ गर्नसके अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता बढाउन सकिन्छ ।

एकीकृत स्वास्थ्य प्रणालीतर्फको यात्रा

नेपालको स्वास्थ्य प्रणालीमा आयुर्वेद र आधुनिक चिकित्सा पद्धतिबीच प्रभावकारी समन्वय आवश्यक छ । नागरिकले आफ्नो आवश्यकता र स्वास्थ्य अवस्थाअनुसार सुरक्षित तथा प्रमाणमा आधारित सेवा प्राप्त गर्न पाउने व्यवस्था हुनुपर्छ । यसका लागि दुवै चिकित्सा प्रणालीबीच ज्ञान, अनुसन्धान, जनशक्ति र सेवा प्रवाहमा सहकार्य बढाउनुपर्छ । एकीकृत चिकित्सा कार्यक्रम सञ्चालन गर्दा उपचारको प्रभावकारिता, बिरामीको सुरक्षा र वैज्ञानिक प्रमाणलाई प्राथमिकता दिनुपर्छ ।

आयुर्वेद र आधुनिक चिकित्साका चिकित्सकबीच नियमित परामर्श, बिरामीको स्वास्थ्य विवरण आदानप्रदान तथा आवश्यकताअनुसार विशेषज्ञ सेवामा पहुँचको व्यवस्था गर्न सकिन्छ । तीन तहका सरकारबीच नीतिगत समन्वय, पर्याप्त बजेट विनियोजन र संस्थागत जिम्मेवारी स्पष्ट हुनुपर्छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको विकासका लागि दीर्घकालीन रणनीति निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक छ । टेलिमेडिसिन, डिजिटल स्वास्थ्य अभिलेख र सूचना प्रविधिको प्रयोगबाट दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्न सकिन्छ ।

राष्ट्रिय प्रतिबद्धता र भावी दिशा

धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसले हामीलाई आफ्नो मौलिक चिकित्सा ज्ञानको महत्व स्मरण गराउनुका साथै त्यसको संरक्षण र विकासप्रति जिम्मेवार बन्न प्रेरित गर्दछ ।

आयुर्वेदलाई केबल परम्परा वा सांस्कृतिक सम्पदाका रूपमा सीमित नराखी वैज्ञानिक अनुसन्धान, गुणस्तरीय सेवा र जनस्वास्थ्य प्रवर्द्धनको प्रभावकारी माध्यम बनाउनुपर्छ ।

यसका लागि सरकार, स्वास्थ्यकर्मी, प्राज्ञिक संस्था, अनुसन्धानकर्ता, निजी क्षेत्र, स्थानीय समुदाय र आम नागरिकबीच सहकार्य अपरिहार्य छ । पर्याप्त लगानी, दक्ष जनशक्ति, अनुसन्धानको विकास, औषधिको गुणस्तर नियन्त्रण र जडीबुटीको दिगो व्यवस्थापनलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्छ । आयुर्वेदको संरक्षण र सम्वर्द्धन गर्नु भनेको हाम्रा पुर्खाले विकास गरेको ज्ञान, सीप र प्राकृतिक सम्पदाको संरक्षण गर्नु पनि हो तर यसको वास्तविक उपलब्धि नागरिकले गुणस्तरीय, सुरक्षित, सुलभ र विश्वसनीय स्वास्थ्य सेवा प्राप्त गरेपछि मात्र प्रमाणित हुनेछ ।

अन्ततः स्वस्थ नागरिक नै समृद्ध राष्ट्र निर्माणको आधार हुन् । धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसलाई औपचारिक समारोहमा मात्र सीमित नराखी स्वस्थ जीवनशैली अपनाउने, रोगको रोकथाम गर्ने, प्राकृतिक स्रोतको संरक्षण गर्ने र वैज्ञानिक स्वास्थ्य प्रणाली निर्माण गर्ने राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्छ ।

आयुर्वेदको मौलिकता र आधुनिक विज्ञानको उपलब्धिबीच सन्तुलित समन्वय कायम गर्नसके नेपालले आफ्नै मौलिक स्वास्थ्य पहिचानलाई सुदृढ गर्दै स्वस्थ, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको यात्रालाई थप गति दिन सक्नेछ । सन्तुलित आहार, योग, व्यायाम र स्वस्थ्य जीवनशैली अपनाउँदै औषधिको उचित प्रयोग गरी नसर्ने रोगबाट बच्नु नै आजको आवश्यकता हो । (प्रस्तुत विचार नेपाल आयुर्वेद चिकित्सक सङ्घका निर्वतमान अध्यक्ष यादवसँग गरिएको कुराकानीमा आधारित)

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाउन विज्ञको सुझाव

  • Post Thumbnail

    बुढीचौरको प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी

  • Post Thumbnail

    पोखरामा सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण

  • Post Thumbnail

    हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    राष्ट्रपतिसँग सभामुखको भेटवार्ता

    राष्ट्रपतिसँग सभामुखको भेटवार्ता

    Post Thumbnail

    ‘लेख्छ पोखरा’ अभियान आरम्भ

    Post Thumbnail

    लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

    विचारः आयुर्वेदको पुनर्जागरण र स्वस्थ नेपालको सङ्कल्प

    विचारः आयुर्वेदको पुनर्जागरण र स्वस्थ नेपालको सङ्कल्प

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution