
चितवन, २० कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार क्षेत्रको सुरक्षाका लागि तत्काल र दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताउनुभएको छ ।
नारायणी नदी किनारको क्षतिको अनुगमन तथा निरीक्षणपछि आज उद्योग वाणिज्य सङ्घ चितवनमा आयोजित सरोकारवालासँगको छलफलमा सभापति लामिछानेले नागरिकको ज्यान, बजारको अस्तित्व, ऐतिहासिक महत्व र व्यवसायीको सम्पत्ति जोगाउनु अहिलेको प्रमुख प्राथमिकता भएको बताउनुभयो । उहाँले बजार क्षेत्रमा देखिएको जोखिमबारे उद्योग वाणिज्य सङ्घले जानकारी गराएलगत्तै आफूले सम्बन्धित सबै निकायलाई तत्काल जानकारी गराएको र आवश्यक अध्ययन तथा योजना निर्माणका लागि टोली परिचालन गरिएको बताउनुभयो । उक्त टोलीले काम अघि बढाइसकेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
सभापति लामिछानेले तत्काल गर्नुपर्ने काम र दीर्घकालीन समाधानका उपाय दुवैलाई ध्यानमा राखेर योजना बनाउनुपर्नेमा जोड दिनुभयो । प्राविधिक अध्ययनका आधारमा भविष्यमा बजार क्षेत्र स्थानान्तरण गर्नुपर्ने अवस्था आउनसक्ने सम्भावनासमेत औँल्याउँदै उहाँले त्यस्तो अवस्था आए सबै सरोकारवाला एकमत भएर निर्णय प्रक्रियामा सहभागी हुनुपर्ने बताउनुभयो ।
“जनता जोगाउनका लागि बजेट दोस्रो कुरा हो । जनतालाई कसरी जोगाउन सकिन्छ भन्ने पहिलो प्राथमिकता हो”, उहाँले भन्नुभयो, “नागरिकको जिउ, बजारको इतिहास र त्यहाँका व्यवसायीको सम्पत्ति जोगाउन तत्काल के गर्न सकिन्छ र दीर्घकालीन रूपमा के गर्नुपर्छ भन्ने विषयमा स्पष्ट योजना आवश्यक छ ।”
आफ्नो निर्वाचन क्षेत्र भएकै कारण चितवनलाई विशेष प्राथमिकता दिनुपर्ने मान्यता आफूले नराखेको स्पष्ट पार्दै लामिछानेले देशका विभिन्न क्षेत्रमा बाढीपहिरोले पु¥याएको क्षति र आवश्यकताका आधारमा राज्यले स्रोतसाधन परिचालन गर्नुपर्ने बताउनुभयो । कर्णाली, सुदूरपश्चिम र मधेसलगायतका क्षेत्रमा पनि बाढीबाट प्रभावित नागरिकको समस्या उत्तिकै महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।
सभापति लामिछानेले चितवनको समस्या पनि अन्य प्रभावित क्षेत्रसरह आवश्यकताका आधारमा सम्बोधन हुने बताउँदै तत्काल आवश्यकपर्ने कामको अध्ययन लगभग तयार भइसकेको जानकारी दिनुभयो । अध्ययनबाट पहिचान भएका योजनाका लागि स्रोत सुनिश्चित गर्न आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सरोकारवालालाई आश्वस्त रहन आग्रह गर्नुभयो ।
छलफलका क्रममा सभापति लामिछानेले नारायणी नदीको कटान तथा डुबानबाट बजार क्षेत्रमा परेको जोखिमबारे समयमै जानकारी गराएर अध्ययन टोली परिचालन गर्न सहयोग पु¥याएको भन्दै उद्योग वाणिज्य सङ्घ चितवनलाई धन्यवादसमेत दिनुभयो । छलफलअघि लामिछानेले नारायणी नदीले कटान गरेको क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको थियो ।
छलफलका क्रममा उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीले नदी कटानको समस्यालाई गम्भीरतापूर्वक लिएर समाधानका उपाय खोज्न सुरुदेखि नै सभापति लामिछानेले पहल गर्दै आउनुभएको बताउनुभयो । उहाँले नदी कटानको समस्या दीर्घकालीन रूपमा समाधान हुनेगरी आवश्यक योजना बनाउन उहाँसँग आग्रह गर्नुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |