
नेपालगञ्ज (बाँके), १७ कात्तिकः भेरी अस्पताल नेपालगञ्जले फोक्सो तथा निद्रासम्बन्धी विभिन्न जटिल रोगको उपचारका लागि विशिष्टीकृत सेवा सुरु गरेको छ ।
उक्त सेवाबाट फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी र निद्रासम्बन्धी समस्या भएका बिरामी लाभान्वित हुने डा रञ्जीत पाण्डेले जानकारी दिनुभयो ।
डा पाण्डेका अनुसार विशिष्टीकृत सेवाअन्तर्गत दीर्घकालीन दम, पुरानो खोकी, श्वासप्रश्वास, छातीमा पानी जम्ने, क्षयरोग, फोक्सो बाथ रोग तथा फोक्सो सुक्ने समस्या लगायतका रोगको उपचार तथा परामर्श सेवा उपलब्ध हुनेछ ।
त्यस्तै, सुत्दा घुर्ने, निद्राका क्रममा श्वासप्रश्वास रोकिने, निद्रा लागिरहने तथा पर्याप्त सुते पनि शरीर ताजा महसुस नहुनेजस्ता समस्याको पहिचान र उपचार हुने अस्पतालले जनाएको छ ।
क्षयरोगका बिरामीको उपचार तथा औषधि प्रतिरोधी र औषधिप्रति संवेदनशील क्षयरोगका विषयमा आवश्यक परामर्शसमेत प्रदान गरिने उहाँको भनाइ छ ।
त्यस्तै, निमोनियालगायतका गम्भीर बिरामीको सघन उपचार, भेन्टिलेटरमा रहेका बिरामीको व्यवस्थापन तथा भेन्टिलेटरबाट बाहिर निकाल्ने सम्बन्धमा आवश्यक उपचार र परामर्शमा समेत विशिष्टीकृत सेवा प्रदान गरिने डा पाण्डेले जानकारी दिनुभयो ।
डा पाण्डेले फोक्सोसम्बन्धी रोगको उपचारसँगै अस्पतालको सघन उपचार सेवालाई थप प्रभावकारी बनाइनेसमेत बताउनुभयो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालले विशेषज्ञ चिकित्सकमार्फत सुरु गरिएको सेवा यस क्षेत्रका बिरामीका लागि महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले फोक्सोसम्बन्धी दीर्घरोग, फोक्सोको क्यान्सर तथा निद्रासम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरी आजैदेखि विशेष क्लिनिक सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार अस्पतालले प्रदान गरेको विशिष्टीकृत सेवाबाट फोक्सोसम्बन्धी विभिन्न जटिल तथा दीर्घरोगको उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |