
दमौली (तनहुँ), १६ कात्तिकः तनहुँको शुक्लागण्डकी नगरपालिकाको महत्वपूर्ण दुलेगौँडा-हर्कपुर मोटरमार्गको निर्माण लामो समयदेखि अलपत्र परेपछि पुरानो ठेक्का सम्झौता अन्त्य गरी नयाँ ठेक्कामार्फत निर्माण सम्पन्न गर्न माग गरिएको छ ।
दुलेगौँडा-हर्कपुर मोटरमार्ग सङ्घर्ष समितिका संयोजक राजन रिमालले पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई पत्र लेख्दै सडक निर्माणमा भएको ढिलाइबारे तत्काल छानबिन गरी आवश्यक कदम चाल्न माग गर्नुभएको हो ।
रिमालका अनुसार उक्त सडकको ट्रयाक विसं २०५२ सालमा खोलिएको थियो भने निर्माणका लागि विसं २०७४ मा ठेक्का सम्झौता भएको थियो । तर, ठेक्का लागेको करिब नौ वर्ष बितिसक्दा पनि सडक निर्माण सम्पन्न हुन नसकेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभएको छ ।
गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भई ठेक्का प्रक्रियासमेत अघि बढेको आयोजनाको निर्माणमा भएको ढिलाइले स्थानीय बासिन्दा, कृषक, व्यवसायी, विद्यार्थी तथा सर्वसाधारणले आवागमनमा समस्या भोग्नुपरेको रिमालले बताउनुभयो । सडक निर्माणमा ढिलाइ हुँदा कृषि उपजको ढुवानी, व्यापार व्यवसाय, पर्यटन तथा समग्र क्षेत्रको आर्थिक र सामाजिक विकासमा समेत असर परेको उहाँको भनाइ छ ।
उहाँले निर्माण व्यवसायीसँग भएको ठेक्का सम्झौता र हालसम्मको कार्यप्रगतिको निष्पक्ष छानबिन गर्न माग गर्दै सम्झौताअनुसार काम नभएको पुष्टि भएमा प्रचलित सार्वजनिक खरिद कानुन तथा सम्झौताका सर्तअनुसार ठेक्का अन्त्य गरी बाँकी कामका लागि तत्काल नयाँ ठेक्का आह्वान गर्नुपर्ने उल्लेख गर्नुभयो ।
शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । पहिलो चरणमा दश किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो ।
दुलेगौँडा-हर्कपुर मोटरमार्गको शुक्लागण्डकी नगरपालिका-३ वन्केवाको टारदेखि म्याग्दे गाउँपालिका-६ हर्कपुर खण्ड कालोपत्रका लागि शङ्करमाली निर्माण सेवा प्रालि काठमाडौँले ठेक्का लिएको थियो । स्थानीय देउबहादुर श्रेष्ठले यस क्षेत्रकै सबैभन्दा पुरानो सडक समयमै सम्पन्न नहुँदा स्थानीय र यात्रुले समस्या भोग्दै आएका बताउनुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |