
काठमाडौँ, १६ कात्तिक : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा उहाँले नेपाल रेडक्रससँगको आफ्नो पुरानो सम्बन्ध स्मरण गर्दै मानवीय सेवामा संस्थाले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले आफ्नो कर्मजीवनको प्रारम्भिक यात्रा नेपाल रेडक्रसबाटै सुरु भएको स्मरण गर्नुभयो ।
आफू नेपाल रेडक्रसको एशस्कर सदस्य रही मानवीय सेवामा संलग्न हुँदा नेत्तृत्व विकास, जन सम्पर्क, प्राथमिक उपचार, प्रकोप व्यवस्थापनसम्बन्धी सीप जीवनमा निकै उपयोगी रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि व्यक्तिगत तथा बागमती प्रदेश सरकारका तर्फबाट नेपाल रेडक्रसलाई आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा विशालकुमार भण्डारी र महामन्त्री ऋषिरमण खनालले मुख्यमन्त्री थापालाई स्वागत गर्नुभएको थियो । सो अवसरमा विपद् प्रतिकार्य, प्रभावित समुदायको पुनर्लाभ तथा पुनःस्थापना र मानवीय सेवाका क्षेत्रमा नेपाल रेडक्रसले गरिरहेका कार्यबारे छलफल भएको थियो । मुख्यमन्त्रीको भ्रमणकै अवसरमा रसुवाको बाढी प्रभावित समुदायको पुनर्लाभ तथा पुनःस्थापनाका लागि कालिका गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाका उपसभापति नीलकण्ठ आचार्यले हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्नुका साथै स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता, आवास, जीविकोपार्जन पुनःस्थापना, नगद सहायता र विपद् जोखिम न्यूनीकरणलगायतका क्षेत्रमा सहकार्य गरिनेछ ।
यसअन्तर्गत प्रभावित परिवारलाई बहुउद्देश्यीय नगद सहायता, जीविकोपार्जन पुनःस्थापनाका लागि सहयोग, अस्थायी आवास तथा घरभाडा सहायता र मृत्यु वा बेपत्ता भएका व्यक्तिका परिवारका लागि निर्धारित मापदण्डअनुसार सहयोग उपलब्ध गराउने योजना समेटिएको छ ।
नेपाल रेडक्रसका अध्यक्ष डा.विशालकुमार भण्डारीले नेपाल रेडक्रसले विपद् प्रभावित समुदायको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखी पारदर्शिता, जवाफदेहिता, समावेशिता तथा स्थानीय समुदायको सहभागितालाई सुनिश्चित गर्दै कार्यक्रम कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले नेपाल रेडक्रस, स्थानीय सरकार र प्रदेश सरकार बिचको समन्वय तथा सहकार्यले बाढी प्रभावित समुदायको पुनर्लाभ र पुनःस्थापनालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नभएको थियो ।
मुख्यमन्त्रीको भ्रमण पश्चात् नेपाल रेडक्रस, प्रदेश सरकार र स्थानीय तह बिचको समन्वय तथा सहकार्यले विपद् प्रभावित समुदायको आवश्यकता सम्बोधन, पुनर्लाभ र दीर्घकालीन पुनःस्थापनामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |