
दमौली (तनहुँ), १६ कात्तिकः तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि चाडपर्वका बेला बाहिरबाट आयात गरिने फूलको विकल्प तयार हुँदै गएको छ । उत्पादन भएको फूललाई लामो समयसम्म ताजा राख्ने भण्डारण सुविधाको अभावले भने किसानलाई चिन्तित बनाएको छ ।
भिमाद नगरपालिका–५ र ६ का विभिन्न स्थानमा किसान तिहारलाई लक्षित गरी सयपत्री फूलखेतीमा जुटेका छन् । स्थानीय माटोमा फुलेका पहेँला र सुन्तला रङका सयपत्रीले उनीहरूका बारीमात्रै सजाएका छैनन्, स्थानीय उत्पादनबाटै चाडपर्वको माग पूरा गर्न सकिने सम्भावना देखाएका छन् ।
भिमाद नगरपालिका–६ अन्तर्गत बाग्टारको बाँघकुनामा रेनु थापा, सिमबोट जलौदीमा जानुका थापा र बद्रिनाथ गैह्रे तथा ऋषिङ पाटनमा बालकृष्ण गैह्रेले सयपत्री फूलखेती गर्नुभएको छ । उहाँहरूले दुई–दुई रोपनी क्षेत्रफलमा फूलखेती गर्नुभएको हो ।
स्थानीय किसानलाई फूलखेतीतर्फ आकर्षित गर्न भिमाद नगरपालिकाले प्राविधिक तथा आर्थिक सहयोग गर्दै आएको छ । नगरपालिकाको कृषि विकास शाखामार्फत प्राप्त सहयोगले किसानलाई फूलखेती विस्तार गर्न प्रोत्साहन मिलेको कृषक रेनु थापाले बताउनुभयो ।
स्थानीयस्तरमा उत्पादन भएको फूलको प्रयोग बढाउन सके बाहिरबाट आयात हुने फूलमा निर्भरता घट्नुका साथै स्थानीय किसानको आम्दानी बढाउन सकिने अपेक्षा गरिएको उहाँको भनाइ छ ।
फूलखेतीमा आकर्षण बढे पनि उत्पादित फूलको व्यवस्थापन भने चुनौतीपूर्ण बन्दै गएको किसान बालकृष्ण गैह्रेले बताउनुभयो । चाडपर्वलाई लक्षित गरी उत्पादन गरिएको फूल समयमै बिक्री हुन नसके खेर जाने जोखिम हुने र फूल टिप्ने समय नजिकिँदै जाँदा त्यसलाई ताजा राख्ने उचित व्यवस्था नहुँदा लगानी र मिहिनेत खेर जाने चिन्ता थपिएको उहाँको भनाइ छ ।
सयपत्री फूल लामो समयसम्म ताजा राख्न आवश्यक चिस्यानयुक्त भण्डारण सुविधा नहुँदा बजारमा माग र आपूर्तिबीचको तालमेल मिलाउन कठिन हुन भएको किसान बद्रीनाथ गैह्रेले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ उत्पादन भएका सयपत्री फूललाई स्थानीय बजारमा प्राथमिकता दिनसके किसानको मिहिनेतको सम्मान हुनुका साथै आगामी वर्षमा थप क्षेत्रफलमा फूलखेती गर्न प्रेरणा मिल्नेछ ।”

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |