
भोजपुर, १६ कात्तिकः भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कको काभ्रेबेँसीलगायत क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएपछि किसानलाई धानखेती गर्न सहज भएको छ । विगतमा सिँचाइको अभावमा खेतीपाती गर्न समस्या भोग्दै आएका किसान कुलो निर्माण भएपछि यस वर्ष सहज रूपमा धान उत्पादन गर्न सफल भएका हुन् ।
लेखर्क तथा काभ्रेबेँसी क्षेत्रलाई लक्षित गरी विभिन्न स्थानमा सिँचाइ कुलो निर्माण तथा विस्तार गरिएपछि खेतीयोग्य जमिनमा पानी पुर्याउन सहज भएको स्थानीय किसान टङ्कप्रसाद घिमिरेले बताउनुभयो । आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेकामा कुलो निर्माणपछि धानखेती गर्न सहज भएको उहाँको भनाइ छ ।
“विगतका वर्षमा सिँचाइको अभावमा धान रोप्न निकै सास्ती थियो”, उहाँले भन्नुभयो, “सिँचाइ सुविधा भएपछि अहिले मनै लोभ्याउने गरी खेतमा धान फलाउन सफल भएका छौँ । सिँचाइ सुविधा पुगेका क्षेत्रमा धानखेती गर्न पानीको समस्या छैन ।”
सिँचाइ सुविधा उपलब्ध भएपछि धान रोपाइँ गर्न र बालीलाई आवश्यक परेको समयमा पानी लगाउन सहज भएको किसान घिमिरेले बताउनुभयो । खेतमा पानी पुर्याउन सकिने भएपछि खेतीपातीमा हुने कठिनाइ कम हुनुका साथै धान उत्पादनमा सहयोग पुगेको उहाँको भनाइ छ ।
टेम्केमैयुङ गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङ्पाहाङका अनुसार लेखर्क तथा काभ्रे क्षेत्रका किसानलाई लक्षित गरी घिमाल कुलो, सुन्तले कुलो, बरडाँडा कुलो, जौबारी कुलो र विजालेस कुलोलगायत सिँचाइ आयोजना निर्माण गरिएका छन् । यी कुलोबाट स्थानीय किसानलाई खेतबारीमा पानी पुर्याउन सहज भएको उहाँले बताउनुभयो ।
कृषि उत्पादन वृद्धि गर्न सिँचाइ सुविधा महत्त्वपूर्ण हुने भएकाले वडाले विभिन्न निकायसँग पहल तथा समन्वय गरेर आवश्यक संरचना निर्माण र विस्तारमा ध्यान दिँदै आएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताउनुभयो । खेतीयोग्य जमिनमा आवश्यक पानीको व्यवस्था गर्नसके किसानलाई खेतीपातीमा प्रोत्साहनका साथै कृषि उत्पादन बढाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।
ग्रामीण क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएपछि वर्षाको भरमा मात्र खेती गर्नुपर्ने बाध्यता कम हुँदै गएको छ । सिँचाइ कुलो निर्माणले किसानलाई धानखेती गर्न सहजतासँगै खेतबारीको उपयोग बढेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |