
म्याग्दी, १५ कात्तिकः गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको विपद्का कारण म्याग्दीको मङ्गला गाउँपालिकामा १६६ परिवार प्रभावित भएका छन् । गाउँपालिकाले सङ्कलन गरेको विवरणअनुसार पाँच वटा वडा रहेको मङ्गलामा १७ घरमा पूर्ण क्षति, ७७ घरमा उच्च र ७२ घर जोखिममा परेका हुन् ।
पहिरो, बाढी र कटानका कारण क्षति पुगेका परिवारलाई अस्थायी बसोबास, राहत वितरण, क्षतिको विवरण सङ्कलन र प्रहरी मुचुल्का तयार पारी पुनःनिर्माण, प्रवलीकरण र पुनःस्थापनाको प्रक्रिया अघि बढाइएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गला-५ छिसवाङ, वडा नं. २ को भाइवाङ र वडा नं. ४ को महेशलाई जोखिमयुक्त बस्तीका रूपमा नक्साङ्कन गरिएको छ ।
विपद्का कारण ५७२ रोपनी खेतबारीमा क्षति पुगेको छ भने १२ वटा गोठ पूर्ण र १८ वटामा आंशिक क्षति पुगेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष रोकाका अनुसार एक-एक वटा ग्रिनहाउस र पोखरीमा क्षति पुगेको छ ।
घरवास गुमाएका र विस्थापितहरूलाई सुरक्षित गाउँमा रहेका आफन्त तथा छिमेकीका घरमा व्यवस्थापन गरिएको मङ्गला–३ का कार्यवाहक वडाध्यक्ष भेषकुमारी पुनले बताउनुभयो । उहाँका अनुसार मङ्गलामा रहेका २० वटा सडक पहिरोले क्षतिग्रस्त भएका छन् ।
सिँचाइ र खानेपानी आयोजनामा पुगेको क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिकाले जनाएको छ । छिसवाङ, सहस्रधारा, तोराखेत र सेराफाँट क्षेत्रमा म्याग्दी नदीले कटान गरेर जोखिम बनाएको छ ।
पहिरोका कारण विस्थापित भएका मङ्गला-३ बरङ्जाका गङ्गाप्रसाद पुर्जाले पुनःनिर्माणको प्रतीक्षामा रहेको बताउनुभयो । अर्का विस्थापित सुकमाया पुर्जाले बस्तीमाथिको सडकबाट आएको भलका कारण पहिरोबाट विस्थापित भएर गोठमा बस्नुपरेको बताउनुभयो । आरवाङका कृष्णलाल सापकोटाले तत्काल बस्ती संरक्षण र पहिरो नियन्त्रणको काम नगरे आगामी बर्खामा थप क्षति हुने बताउनुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |