
भद्रपुर (झापा), १५ कात्तिकः धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको छ । धानखेती गर्दा वर्षभरिमा करिब रु ५० हजारको उत्पादन हुने जमिनमा फूलखेती गरेर रु १० देखि १२ लाखसम्मको कारोबार गर्ने लक्ष्यसहित बुद्धशान्ति गाउँपालिका–३ दुइरिङ्गेका तीन किसान फूलखेतीमा जुटेका छन् ।
विनोद रिजाल, गुणराज न्यौपाने र वीरबल बानियाँले सामूहिक प्रयासमा १० कट्ठा जमिनमा सयपत्रीखेती गरेका हुन् । ‘कृषि कम्पास’ समूह गठन गरेर सुरु गरिएको उनीहरूको यो प्रयास परम्परागत खेतीको विकल्प खोजिरहेका किसानका लागि नयाँ सम्भावना बनेको छ ।
समूहले उक्त जमिनमा सात हजारभन्दा बढी सयपत्रीका बिरुवा रोपेको थियो । फूलखेतीका लागि रु पाँच लाख ५० हजार लगानी गरेका उनीहरूले यसबाट करिब १० हजार माला उत्पादन हुने अपेक्षा गरेका छन् । उत्पादित माला बिक्रीबाट कम्तीमा रु १० देखि १२ लाख आम्दानी हुने उनीहरूको अनुमान छ । अहिले फूल टिपेर माला उन्ने र तयार भएका माला कोल्डस्टोरमा भण्डारण गर्न थालिएको छ ।
समूहका सदस्य गुणराज न्यौपानेका अनुसार सोही जमिनमा धानखेती गर्दा करिब ३० मन उत्पादन हुन्थ्यो । त्यसको हालको बजार मूल्य करिब ५० हजारमात्रै पर्छ । धानखेतीबाट हुने आम्दानीभन्दा फूलखेतीबाट कैयौँ गुणा बढी आम्दानी हुने देखिएपछि उनीहरूले खेतीको विकल्प रोजेका हुन् । “यही जग्गामा धान रोपेको भए जम्माजम्मी ३० मन उत्पादन हुन्थ्यो । त्यसको बजार मूल्य करिब रु ५० हजारमात्रै हो । पाँच–सात वर्ष धानखेती गरेर हुने आम्दानी फूलखेतीबाट एकै वर्षमा लिन सकिने देखिएको छ”, न्यौपानेले भन्नुभयो ।
उहाँका अनुसार फूलखेतीमा बजारको सम्भावना पनि राम्रो छ । एउटा मालाको मूल्य रु १०० देखि १५० सम्म पर्ने भएकाले उत्पादन बिक्री गर्नसके अपेक्षित आम्दानी लिन सकिने उहाँको विश्वास छ ।
धानखेतीको तुलनामा फूलखेतीबाट हुने आम्दानीको सम्भावना देखेपछि समूहले आगामी वर्ष खेती विस्तार गर्ने योजना बनाएको छ । समूहका अर्का सदस्य विनोद रिजालले आगामी वर्ष तीन बिघा क्षेत्रफलमा फूलखेती विस्तार गर्ने तयारी भइरहेको बताउनुभयो । यस वर्षको अनुभव र बजारको मागले आफूहरूलाई थप क्षेत्रफलमा खेती गर्न उत्साहित बनाएको उहाँको भनाइ छ ।
तर फूलखेतीमा आम्दानीको सम्भावना जति छ, चुनौती पनि उत्तिकै छन् । फूल टिपेपछि लामो समयसम्म सुरक्षित राख्नुपर्ने र बजारसम्म पुर्याउनुपर्ने समस्या किसानसामु छ । विशेषगरी भारतबाट आयात हुने फूलका कारण स्थानीय उत्पादनले बजार नपाउने र लगानी खेर जान सक्ने चिन्ता उनीहरूले व्यक्त गर्दै आएका छन् ।
यही विषयलाई लिएर जिल्लाका व्यावसायिक फूल किसानको एक समूहले मङ्गलबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेर सातबुँदे मागपत्र बुझाएको थियो । किसानले स्वदेशी सयपत्री फूललाई स्थानीय बजारमा पहिलो प्राथमिकता दिन तथा भारतबाट हुने अनधिकृत आयात नियन्त्रण गर्न माग गरेका थिए ।
किसानको माग र जिल्लामा फूलखेतीको अवस्थाबारे जानकारी लिन प्रमुख जिल्ला अधिकारी पोखरेल शनिबार बुद्धशान्ति पुग्नुभएको थियो । उहाँले व्यावसायिक फूलखेती गरिरहेका किसानसँग भेटेर उत्पादन र बजारको अवस्थाबारे स्थलगत जानकारी लिनुभयो ।
सो अवसरमा उहाँले स्थानीय उत्पादनले बजारको माग धान्न सक्ने अवस्था भए बाहिरबाट हुने फूल आयात नियन्त्रण गर्न सकिने बताउनुभयो । “तपाईँहरूले सामूहिक रूपमा गर्नुभएको व्यावसायिक फूलखेती र स्वदेशी उत्पादनले बजार पाउनुपर्छ भन्ने माग जायज छ । प्रशासनले पनि स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिन्छ”, पोखरेलले भन्नुभयो, “झापामा फूलको ठूलो माग हुने भएकाले स्थानीय उत्पादनले बजारको माग धान्दैन कि भन्ने चिन्ता हो । पूर्वी पहाडका अन्य जिल्लाबाट पनि फूल मगाउन सकिन्छ ।”
स्थानीयसमेत रहनुभएका ‘सुन्दर शान्त नेपाल’का अभियानकर्मी मनिष दाहालले जिल्लामा व्यावसायिक फूलखेती गर्ने किसानको आकर्षण बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार बुद्धशान्तिका शान्तिनगर, सुनमाई र गोपालडाँडालगायत क्षेत्रमा ठूलो क्षेत्रफलमा व्यावसायिक फूलखेती भइरहेको छ । किसानको आकर्षण र खेती विस्तारको क्रमलाई हेर्दा झापा फूल उत्पादनमा आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |