
दमौली (तनहुँ), १३ कात्तिक : तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसान मिलेर पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती सुरु गरेका छन् । तिहारमा स्थानीय फूलको माग पूरा गर्ने र आम्दानी गर्ने उद्देश्यले उनीहरूले पाँच रोपनी क्षेत्रफलमा सयपत्री लगाएका हुन् ।
स्थानीय किसानको सामूहिक प्रयासमा सुरु गरिएको फूलखेतीमा आठ हजार सयपत्रीका बिरुवा रोपिएको छ । तिहार नजिकिँदै गर्दा फूल फुल्ने र बजारमा बिक्री हुने अपेक्षासहित किसान खेतीको हेरचाहमा जुटेका छन् ।
फूलखेतीमा संलग्न स्थानीय मैना राना आलेले तिहारमा स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । चाडपर्वका बेला फूलको माग बढ्ने भएकाले स्थानीयस्तरमै सयपत्री उत्पादन गरेर बजारको माग पूरा गर्न सकिने उहाँको विश्वास छ ।
उहाँले तिहारमा पूजाआजा तथा घर सजावटका लागि प्रयोग हुने फूल स्थानीय किसानबाटै खरिद गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । स्थानीय फूलको प्रयोग बढाउन सके किसानलाई आम्दानीको अवसर मिल्नुका साथै बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता कम गर्न सकिने उहाँको भनाइ छ ।
फूलखेतीमा संलग्न किसान सीता श्रेष्ठले आँबुखैरेनी गाउँपालिकाले फूलखेतीका लागि प्रोत्साहन गरेपछि आफूहरू यसतर्फ आकर्षित भएको बताउनुभयो । तिहार नजिकिँदै गएकाले उत्पादनले बजार पाउनेमा आफूहरू विश्वस्त रहेको उहाँले बताउनुभयो ।
गाउँपालिकाले स्थानीय किसानलाई फूलखेतीतर्फ आकर्षित गर्न प्रोत्साहन गर्दै आएको छ । गाउँपालिकाको कृषि शाखाका प्रमुख सन्तोष केसीका अनुसार सयपत्री फूलको बजार सम्भावना रहेकाले कृषक यस खेतीतर्फ आकर्षित भएका हुन् ।
तिहारका बेला सयपत्री फूलको माग बढ्ने भएकाले स्थानीयस्तरमा उत्पादन विस्तार गर्नसके किसानले आम्दानीको अवसर पाउने कृषि शाखा प्रमुख केसीको भनाइ छ । पाँच रोपनी क्षेत्रफलमा आठ हजार बिरुवा रोपेर सुरु गरिएको खेती सफल भएमा आगामी दिनमा फूलखेती विस्तार गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |