
म्याग्दी, १३ कात्तिकः म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसान व्यावसायिक गाईपालनमा आकर्षित भएका छन् ।
परम्परागत पशुपालनको विकल्पमा उन्नत जातको गाईपालन गरेर आयआर्जन वृद्धि र स्वरोजगार बन्न थालेका हुन् । भकिम्ली ग्रामीण कृषि सहकारी संस्थामार्फत उन्नत जर्सी र होलस्टेन जातको गाई भित्र्याएर दूध उत्पादन गर्न थालिएको हो ।
संस्थाका अध्यक्ष लालबहादुर पुनले गत वर्ष गाईपालन थालेका आठ जना किसानको सफलताले यसपालि १० जना किसान थपिने क्रममा रहेका जानकारी दिनुभयो । “उपयुक्त हावापानी र आम्दानीको सम्भावना देखिएपछि गाईपालन विस्तार हुन थालेको छ”, उहाँले भन्नुभयो, “गाईपालन गर्ने किसानका लागि सहकारीले सहुलियत ब्याजदरमा ऋण लगानीको सुविधा दिएका छौँ ।”
होलस्टेन र जर्सी जातको गाईपालन सुरु गरेका हुन् । यसअघि भकिम्लीमा दूध बिक्री गर्ने उद्देश्यले गाईपालन भएको थिएन । घरायसी उपभोगका लागि स्थानीय जातका गाई पाल्ने गरेका थिए । घरायसी उपभोग र स्थानीय उपभोक्तालाई बेचेर बचेको दैनिक ४० लिटर दूध बेनी नगरपालिका–४ सिङ्गामा रहेको बास्कुना कृषि सहकारी संस्थामार्फत पोखराको सिजल डेरी उद्योगमा पठाउने गरिएको छ ।
दुईवटा उन्नत जातका गाई पालेका किसान चित्रबहादुर पुनले दैनिक २० लिटरसम्म दूध उत्पादन गर्न सकिने बताउनुभयो । “अहिले एउटाले मात्र दूध दिन्छ, अर्को ब्याउने छ”, उहाँले भन्नुभयो, “एउटा गाईको दूध बेचेर खर्च कटाउँदा गत महिना रु २७ हजार बचत भयो ।”
विदेश र छ वर्ष स्वदेशकै कृषि कम्पनीमा काम गरेको अनुभवका आधारमा गाईपालन सुरु गरेको पुनले बताउनुभयो । बेनीदेखि भकिम्ली जोड्ने सडक जीर्ण हुदाँ दूध ढुवानी र कृत्रिम गर्भाधान सेवाका लागि समस्या भएको किसानले बताएका छन् ।
बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले बेनीदेखि दूधेखोला खण्डका सडक प्रदेश सरकारमार्फत स्तरोन्नति भएको र हल्लेगौडादेखि माथिको सडक यस वर्षदेखि सङ्घीय सरकारमार्फत स्तरोन्नतिको चरणमा रहेको बताउनुभयो ।
सडक स्तरोन्नति भएपछि कृषि उपज निकासी, आवतजावत र दूवानीमा सहज हुने बताउँदै दसैँलगत्तै वडा कार्यालयमा पशु प्राविधिक आएपछि कृत्रिम गर्भाधान सेवा सञ्चालन गरिने वडाध्यक्ष पुनले जानकारी दिनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |