
खोटाङ, १२ कात्तिकः दसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेको छ । दसैँ मनाउन घर आएका नागरिक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, दलित तथा जनजाति प्रमाणितलगायत सेवा लिन कार्यालयको भीड बढेको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बुधबार मात्रै ८१ जनाले नयाँ नागरिकता लिएका छन् । जसमध्ये ४९ पुरुष र ३२ महिला छन् । त्यस्तै, ३२ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । प्रतिलिपि लिनेमा २० पुरुष र १२ महिला छन् ।
कार्यालयबाट ११ जनाले राहदानी लिएका छन् भने २८ जनाले राहदानीका लागि नाम दर्ता (इनरोलमेन्ट) गराएका छन् । यसैगरी, ६३ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् भने एक जनाले नाबालक परिचयपत्र बनाएका छन् ।
यस्तै, छ वटा सिफारिस प्रमाणित गरिएको छ भने अन्य निकायमा आठवटा पत्र पठाइएको छ । नागरिक एपमार्फत प्राप्त २० वटा गुनासो फछ्र्योट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
दसैँको बिदामा घर आएका अधिकांश नागरिक चाडपर्वपछि आफ्नो कर्मथलो फर्कने क्रममा सदरमुकाम आएर नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा अन्य सिफारिस र कागजात बनाउने गरेका छन् । यसले गर्दा कार्यालयमा सेवाग्राहीको चाप बढेको प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले जानकारी दिनुभयो ।
कतिपय फाँटमा सेवाग्राहीले एकअर्काको पालो नमिचून् भन्ने उद्देश्यले कार्यालयले टोकन प्रणाली लागू गरेको छ । जिल्लाका अन्य सरकारी कार्यालयको तुलनामा जिल्ला प्रशासन कार्यालयमा अहिले सेवाग्राहीको चाप बढी देखिएको छ ।
खोटाङमा सातौँ सोल्मा कप फुटबल प्रतियोगिता
सोल्मा स्पोर्टस् क्लब खोटाङले दिक्तेलमा आयोजना गरेको अन्तर वडा कप पुरुष फुटबल प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माले विजयी यात्रा सुरु गरेको छ ।
सातौँ संस्करणको ‘सोल्मा अन्तर वडा कप पुरुष फुटबल प्रतियोगिता–२०८३’मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेललाई हराउँदै वडा नं २ सोल्माले आफ्नो विजयी यात्रा सुरु गरेको हो ।
सोल्मा स्पोर्टस् क्लबको आफ्नै खेलमैदानमा आयोजना गरिएको प्रतियोगिताको पहिलो खेलमा सोल्माले एक गोल गर्दा वडा नं २ दिक्तेल गोलरहित मैदानबाट बाहिरिएको छ ।
प्रतियोगिताको पहिलो हाफमा वडा नं २ सोल्माका जर्सी नं ७ का खेलाडी देवान राईले गरेको एक गोल नै प्रतियोगिताको निर्णायक गोल बनेको हो ।
यही कात्तिक १५ गतेसम्म सञ्चालन हुने प्रतियोगीताका विजेताले नगद रु एक लाख २२ हजार २२२, उपविजेताले रु ७७ हजार ७७७ र सेमीफाइनलिष्ट दुई टोलीले जनही नगद रु ३३ हजार ३३३ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिनुभयो ।
यस्तै, उत्कृष्ट खेलाडीलाई रु पाँच हजार ५५५ तथा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेण्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद रु दुई हजार २२२ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
सोल्मा स्पोर्टस् क्लबले निर्माण गरेको खेलमैदानमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले थियो । उद्घाटन समारोहमा उडाइएको बेलुनमा झुण्ड्याइएको ब्यानर भेट्ने व्यक्तिलाई क्लबले नगद रू पाँच हजार ५५५ दिने घोषणा गरेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |