
कास्की, ५ कात्तिक : वर्षमा एकपटक आउने दसैँमा सबैका घरमा टीका र जमराको रौनक छाउँछ। आफन्तको जमघट, घरघरमा टीका लगाउने चहलपहल र गाउँभरि लिङ्गे पिङको उल्लास दसैँका विशेषता हुन्।
तर, यस वर्ष पोखरा महानगरपालिका–२८ स्थित माझठानामा दसैँले खुसी ल्याउन सकेन। न घरघरमा टीका लाग्यो, न गाउँमा लिङ्गे पिङको रौनक देखियो। असोज २३ गते बिहान भएको स्कुल बस दुर्घटनाले गाउँलाई शोकमा डुबायो ।
दुर्घटनामा गम्भीर घाइते भएकी १६ वर्षीया अस्मि कँडेलको टीकाको अघिल्लो दिन उपचारका क्रममा काठमाडौँमा मृत्यु भयो। टीकाकै दिन उनको शव घर ल्याइपुर्याउँदा गाउँको पीडा झन् गहिरियो। घटस्थापनाको दुई दिनअघि भएको उक्त दुर्घटनाले माझठानावासीलाई स्तब्ध बनाएको थियो। सौर्य माझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस ओख्लेभीरमा दुर्घटना हुँदा छ जनाले ज्यान गुमाएका थिए भने १३ जना विद्यार्थी घाइते भएका थिए। आफ्ना सन्तान तथा आफन्त गुमाउनुपरेको पीडा र घाइते बालबालिकाको अवस्थाका कारण गाउँलेलाई यस वर्ष दसैँ मनाउन मन लागेन।
पोखरा महानगरपालिका–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेका अनुसार गाउँका सबै टोलले सामूहिक निर्णय गरी यस वर्ष दसैँको टीका नलगाउने निर्णय गरेका थिए। दुर्घटनामा घाइते भएर उपचार गराइरहेकी विद्यार्थीको शव टीकाकै दिन घर ल्याइपुर्याउँदा गाउँमा थप सन्नाटा छाएको उहाँले बताउनुभयो।
“यस्तो कहालीलाग्दो घटना यसअघि कहिल्यै भएको थिएन। चाडपर्वको मुखमा भएको दुःखद घटनाले कसैलाई पनि दसैँ मनाउने मन भएन। कसैले आफ्ना बालबालिका गुमाउनुपरेको छ भने कतिपय टोलका बालबालिका दुर्घटनामा घाइते भएका छन्। यस्तो पीडाको अवस्थामा गाउँलेले टीका मात्र नलगाउने निर्णय गरेनन्, टोलटोलमा राखिने लिङ्गे पिङ पनि राखिएनन् र शुभकामना आदानप्रदानका कुनै कार्यक्रम भएनन्,” वडाध्यक्ष लामिछानेले भन्नुभयो।
दसैँका दिन सधैँ चहलपहल हुने राखी–मिजुरे सडकसमेत यसपटक सुनसान रह्यो। विगतका वर्षमा दसैँको टीका लगाउन र आफन्त भेट्न आउनेजानेको भीड लाग्ने माझठानामा यस वर्ष न पर्वको उमङ्ग देखियो, न उत्सवको चहलपहल। गाउँका सडकदेखि बस्तीसमेत सुनसान बने।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |