
दमौली (तनहुँ), ३० असोजः तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । स्थानीयको आवश्यकता र उत्पादनसँग जोडिएका योजनालाई प्राथमिकतामा राख्दै सडक, पुल, खानेपानी, सिँचाइ तथा कृषि र पशुपालनका क्षेत्रमा काम अघि बढाइएको हो ।
गाउँपालिकाले एक वर्षको अवधिमा दुई दशमलव ७५ किलोमिटर नयाँ सडकको ट्र्याक खोल्ने, चार दशमलव ९५ किलोमिटर सडक ग्राभेल र १४० मिटर सडक कालोपत्र गरेको छ । ग्रामीण बस्तीलाई सडक सञ्जालसँग जोड्दै यातायात सहज बनाउन नयाँ ट्र्याक खोल्ने तथा पुराना सडकको स्तरोन्नतिलाई निरन्तरता दिइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो ।
सडक पूर्वाधारसँगै खोलानाला तथा नदीका कारण आवतजावतमा हुने समस्या समाधान गर्न छ वटा मोटरेबल पुल निर्माण गरिएको छ । पुल निर्माणपछि स्थानीय बासिन्दाको आवतजावत तथा कृषि उपज ओसारपसारमा सहजता आएको श्रेष्ठले बताउनुभयो ।
गाउँपालिकाले खानेपानीको पहुँच विस्तारका लागि ८२ घरमा धारा जडान गरेको छ । घरघरमा खानेपानीको पहुँच पुर्याउने उद्देश्यले आवश्यक स्थानमा खानेपानीका संरचना निर्माण तथा विस्तार गरिएको श्रेष्ठको भनाइ छ । स्वास्थ्य र सरसफाइलाई समेत प्राथमिकतामा राख्दै १७ वटा शौचालय निर्माण गरिएको छ । गाउँपालिकाले आधारभूत सरसफाइको पहुँच विस्तार गर्दै स्वच्छ तथा स्वस्थ बस्ती निर्माणमा जोड दिइएको जनाएको छ ।
त्यस्तै कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न तीन सय २२ मिटर सिँचाइ कुलो र वर्षाको पानी तथा खोलाको बहाव नियन्त्रण र सिँचाइ व्यवस्थापनका लागि तीन वटा बाँध निर्माण गरिएको छ । सार्वजनिक स्थान तथा ग्रामीण बस्तीमा विश्राम र सामाजिक भेटघाटका लागि पाँच वटा चौतारा निर्माण गरिएको छ ।
कृषिमा उत्पादन र बजारीकरणमा जोड
गाउँपालिकाले स्थानीय अर्थतन्त्रको प्रमुख आधारका रूपमा रहेको कृषिलाई उत्पादनमुखी र व्यावसायिक बनाउने कार्यक्रमलाई प्राथमिकता दिएको छ । कृषकलाई उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले बीउबिजन वितरण गर्नुका साथै कृषि यान्त्रिकीकरणमा समेत सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
कृषकलाई हाते ट्याक्टर, कुटानी–पिसानीका उपकरण तथा विभिन्न कृषि औजार वितरण गरिएको छ । परम्परागत रूपमा श्रममा आधारित कृषि प्रणालीलाई क्रमशः यान्त्रिकीकरणतर्फ लैजाने उद्देश्यले कृषि उपकरणमा सहयोग गरिएको गाउँपालिकाले जनाएको छ ।
कृषि उपज उत्पादनपछि बजारसम्म पुर्याउन सहज होस् भन्ने उद्देश्यले गाउँपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कृषि एम्बुलेन्समार्फत कृषकले उत्पादन गरेका तरकारी तथा अन्य कृषि उपजलाई बजारसम्म पुर्याउन सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ ।
कृषि उपजको उत्पादन बढेसँगै तत्काल बजार नपाउँदा हुने क्षति कम गर्न गाउँपालिकाले चिस्यान केन्द्र सञ्चालनमा ल्याएको छ । चिस्यान केन्द्रले विशेषगरी आलु, तरकारीलगायत छिट्टै बिग्रने कृषि उपजलाई केही समय सुरक्षित राख्न सहयोग गर्ने अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो ।
गाउँपालिकाले पशुपालनलाई समेत कृषकको आम्दानीसँग जोड्दै विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले कृषकले उत्पादन गरेको दूधमा प्रतिलिटर रु दश अनुदान उपलब्ध गराउँदै आएको छ । पशु सुत्केरी भएपछि आवश्यक पोषण व्यवस्थापनका लागि सुत्केरी पशु पोषण अनुदानको व्यवस्था गरिएको छ ।
अध्यक्ष श्रेष्ठले गाउँपालिकाले सडक तथा अन्य भौतिक पूर्वाधार निर्माणसँगै कृषि र पशुपालनलाई उत्पादन तथा रोजगारीसँग जोडेर अघि बढाएको बताउनुभयो । उहाँका अनुसार केवल भौतिक संरचना निर्माण गरेर मात्रै स्थानीयको आर्थिक अवस्था सुधार नहुने भएकाले उत्पादन बढाउने, कृषि उपजको बजारीकरण गर्ने तथा पशुपालनलाई व्यावसायिक बनाउने कार्यक्रमलाई समेत प्राथमिकता दिइएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |