
सप्तरी, २६ असोजः युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राजविराज क्षेत्रका जीर्ण सडक तत्काल मर्मतसम्भार तथा स्तरोन्नति गर्न र बिटौरी जग्गाधनीलाई लालपुर्जा वितरणको प्रक्रिया अघि बढाउन अनुरोध गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला कार्यालयका प्रमुख तथा जनप्रतिनिधिसँग आज भएको बैठकमा उहाँले यस्तो अनुरोध गर्नुभएको हो ।
चाडपर्वका बेला पनि राजविराजदेखि छिन्नमस्ता भगवती मन्दिर, कङ्कालिनी मन्दिर, रुपनी र कञ्चनपुरलगायत १२ स्थानका सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको भन्दै उहाँले ती सडकको मर्मतसम्भार तथा स्तरोन्नतिको काम तत्काल अघि बढाउन आग्रह गर्नुभयो ।
बैठकमा उहाँले लालपुर्जाविहीन नगरवासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने उद्देश्यले जग्गा दर्तासम्बन्धी गठन आदेश, २०८३ मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको जानकारी दिनुभयो ।
राजविराज नगर क्षेत्रका बिटौरी जग्गाधनीलाई दसैँअघि नै लालपुर्जा वितरण गर्न आवश्यक प्रक्रिया थाल्न पनि उहाँले आग्रह गर्नुभयो । बैठकमा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परवीन, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, प्रहरी प्रमुख रूपक खड्कालगायत भूमि प्रशासन, नापी, सडक विभाग तथा पूर्वाधार विकास कार्यालयका प्रमुखहरूको उपस्थिति थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको राजविराज नगर समितिका सभापति खेलानन्द दास पनि बैठकमा सहभागी हुनुहुन्थ्यो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |