
जनकपुरधाम, २५ असोजः बडादसैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै धनुषाका विभिन्न छ स्थानमा यात्रु सहायता कक्ष र दुई स्थानमा विश्रामस्थल स्थापना गरिएको छ ।
चाडपर्वका समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले यात्रुहरूको सुरक्षा, सहज आवागमन तथा यात्राका क्रममा हुन सक्ने ठगी र दुव्र्यवहार नियन्त्रण गर्ने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला ट्राफिक प्रहरी कार्यालय जिरोमाइल, धनुषाको समन्वयमा जनकपुरधाम बसपार्क, रामानन्द चोक, मुजेलिया, ढल्केवर, लालगढ र पोर्ताहामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
यात्राका क्रममा टिकट तथा भाडादरसम्बन्धी गुनासो, ठगी, दुव्र्यवहार तथा अन्य समस्यामा परेका यात्रुलाई आवश्यक सहयोग उपलब्ध गराउनुका साथै हराएका सामानको खोजतलास र आकस्मिक सुरक्षासम्बन्धी सहजीकरण गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
यसैगरी यात्रुहरूलाई यात्राका क्रममा सहजता प्रदान गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला ट्राफिक प्रहरी कार्यालय जिरोमाइलको अगाडि शुद्ध खानेपानी तथा शौचालयको सुविधासहित विश्रामस्थल स्थापना गरिएको छ ।
प्रहरीले यात्राका क्रममा कुनै समस्या परेमा नजिकको प्रहरी कार्यालय वा यात्रु सहायता कक्षमा सम्पर्क गर्न आग्रह गरेको छ । साथै, आकस्मिक सहायता आवश्यक परेमा प्रहरीको टोलफ्री नम्बर १०० वा ट्राफिक प्रहरीको नम्बर १०३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |