
लमजुङ, २२ असोजः दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै लमजुङका विभिन्न पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । चाडपर्वका समयमा हुनसक्ने सवारी दुर्घटना, बढी भाडा असुली, टिकटमा हुने अनियमितता, चोरी तथा यात्राका क्रममा आइपर्ने समस्या न्यूनीकरणका लागि बुधबारदेखि सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
जिल्लाको मुख्य प्रवेशद्वार सुन्दरबजारको पाउँदी, सिउँडीबार चोक, मध्यनेपालको पाखुरीचोक, राइनासको धमिलीकुवा चोक र बेँसीसहर नगरपालिकाको भकुण्डे चालिसेचोकमा सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।
बुधबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले भकुण्डे चालिसेचोक र पाउँदीमा सहायता कक्षको उद्घाटन गर्नुभयो । उहाँले चाडपर्वका समयमा हुनसक्ने जोखिम न्यूनीकरण गर्दै नागरिकलाई शान्ति सुरक्षाको अनुभूति दिलाउन सहायता कक्ष प्रभावकारी हुने बताउनुभयो ।
उहाँले सहायता कक्षमा खटिने प्रहरी तथा सुरक्षाकर्मीलाई नागरिकको सेवामा जिम्मेवार भएर खटिन आग्रह गर्नुभयो । प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले चाडपर्वका समयमा हुनसक्ने अपराध तथा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरी सक्रिय रूपमा परिचालन हुने बताउनुभयो । यात्रुलाई सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन प्रहरी परिचालित हुने उहाँले बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख गौतमबहादुर खत्रीका अनुसार पाँचवटै सहायता कक्षमा ट्राफिक प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली रहने व्यवस्था गरिएको छ । काठमाडौँ, पोखरा, चितवनलगायत स्थानबाट आउने यात्रु तथा सवारी साधनलाई लक्षित गरी मुख्य सडक तथा नाकामा सहायता कक्ष सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
सहायता कक्षमार्फत बढी भाडा असुली, टिकटमा हुने अनियमितता, सवारीसाधनको अवस्था, चोरी तथा अन्य समस्यासम्बन्धी गुनासा सम्बोधन गरिनेछ । ट्राफिकसम्बन्धी विषयमा ट्राफिक प्रहरीले र अन्य प्रहरीसम्बन्धी विषयमा नेपाल प्रहरीले आवश्यक कारबाही गर्ने व्यवस्था मिलाइएको छ । यात्रुले सहायता कक्षमा उपलब्ध सम्पर्क नम्बर तथा ट्राफिक प्रहरीको हेल्पलाइन १०३ र नेपाल प्रहरीको १०० मा समेत सम्पर्क गर्न सक्नेछन् ।
आँगनमा दसैँ, आँखामा परदेशी सन्तानको प्रतीक्षा
दसैँ नजिकिएसँगै गाउँघरमा चहलपहल बढेको छ । घरआँगन लिपपोत गर्ने, नयाँ कपडा किन्ने, मीठोमसिनोको जोहो गर्ने र आफन्तजन भेला हुने तयारी भइरहेका छन् । रोजगारी, अध्ययन तथा अन्य कामका लागि देशविदेश पुगेका छोराछोरी घर फर्किन थालेपछि गाउँघरमा दसैँको रौनक थपिएको छ तर दोर्दी गाउँपालिका–३ श्रीमञ्ज्याङका बुद्धिमान श्रेष्ठका लागि यसपालिको दसैँको रौनकसँगै सन्तानको प्रतीक्षा पनि उस्तै छ । छिमेकीका घरमा परदेश गएका छोराछोरी फर्किन थालेका छन् ।
गाउँघरमा आफन्त र परिवारका सदस्यको आवतजावत बढेको छ । कतै छोराछोरी घर आइपुग्दा खुसियाली छाएको छ भने कतै दसैँको तयारीले गाउँ झिलीमिली बन्दै गएको छ । यही माहोलबीच आफ्ना छोराछोरी भने अझै घर नफर्किएकाले श्रेष्ठको मनमा भने चाडपर्वको खुसीसँगै खल्लोपन थपिएको छ ।
श्रेष्ठका छोरा र छोरी दुवै रोजगारीका लागि विदेश गएको झन्डै दुई वर्ष भयो । छोरी दुई वर्षदेखि दुबईमा हुनुहुन्छ भने छोरा विदेश गएको करिब डेढ वर्ष भयो । छोरी यसपालि दसैँमा घर आउने तयारीमा रहे पनि अहिलेसम्म टुङ्गो छैन । छोरा छुट्टी मिलेमा घर आउने बताइरहनुभएको छ । “रोजगारीका लागि पैसा कमाउन टाढा गएका छोराछोरीलाई चाडपर्वमा घरमा सँगै देख्न पाए हुन्थ्यो भन्ने लाग्दोरहेछ । सबैजना घरमा नहुँदा दसैँ केही खल्लोजस्तै हुँदोरहेछ । छोराछोरी सबै घरमा हुँदा पो दसैँ आएजस्तो, रमाइलो भएजस्तो लाग्छ”, उहाँले भन्नुभयो ।
अरूका छोराछोरी घर फर्किएर परिवारसँगै दसैँ मनाउने तयारी गरिरहँदा आफ्ना सन्तानको सम्झना झन् बढी आउने उहाँ बताउनुहुन्छ । राइनास नगरपालिका–८ का लालमाया श्रेष्ठको अनुभव पनि उस्तै छ । उहाँका छोरा काठमाडौँमा जागिर गर्नुहुन्छ । गत वर्ष घर आउन नसकेका छोरा यसपालि छुट्टी मिलेमा परिवारसँगै दसैँ मनाउने तयारीमा हुनुहुन्छ ।
“विदेशमै हुनुपर्छ भन्ने रहेनछ, नजिकै काठमाडौँमा भए पनि दसैँमा परिवारसँग नहुँदा टाढा, परदेशमै भएजस्तो महसुस हुँदोरहेछ । आफ्नो मान्छे साथमा नहुँदा चाडपर्वको खुसी पनि अधुरोजस्तो लाग्छ”, उहाँले भन्नुभयो । “यसपालि छोरा घर आएर परिवारसँगै दसैँ मनाउन पाइयोस् भन्ने आशा छ । छुट्टी मिल्छ र आउँछु भनेको छ, त्यसैले यसपालि सँगै हुन्छौँ कि भनेर हेरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
मस्र्याङ्दी गाउँपालिकाकी सरिता गुरुङका दुई छोरा भारतमा रोजगारीका क्रममा हुनुहुन्छ भने छोरी अस्ट्रेलियामा हुनुहुन्छ । अहिले घरमा उहाँ र श्रीमान् मात्रै हुनुहुन्छ । दसैँको माहोल सुरु भइसके पनि छोराछोरी टाढा हुँदा चाडपर्वको खुसी अधुरोजस्तो लाग्ने उहाँ बताउनुहुन्छ । “आमाको मन हो, छोराछोरी साथमा नहुँदा दसैँ अलि खल्लो हुँदोरहेछ । दसैँ आँगनमै आइसकेको छ तर छोराछोरी परदेशमा छन्,” उहाँले भन्नुभयो ।
यसपालि छोराछोरी घर आउने–नआउने निश्चित नभएको उहाँले बताउनुभयो । समय मिले आउने र नमिले अर्को वर्ष आउने कुरा भएको उहाँको भनाइ छ । “चाडपर्वको बेला त झन् छोराछोरीको सम्झना बढी आउँदोरहेछ । हामी त उनीहरूलाई पर्खेरै बसेका छौँ । समय मिल्यो भने यसपालि सँगै दसैँ मनाऔँ, रमाइलो गरौँ भन्नेमा छौँ,” उहाँले भन्नुभयो ।
दसैँ परिवारसँगको भेटघाट, आत्मीयता र खुसी साटासाट गर्ने पर्वका रूपमा लिइन्छ । त्यसैले रोजगारी, अध्ययन वा अन्य कारणले सन्तान टाढा हुँदा आमाबुबाको प्रतीक्षा अझै गहिरो बन्ने गरेको छ । फोन र भिडियो कलले दूरी केही घटाए पनि सँगै बसेर टीका लगाउने र सुखदुःख साट्ने चाहना भने पूरा हुन नसकेको उनीहरूको अनुभव छ । गाउँघरमा दसैँको रौनक बढ्दै गएको छ । परदेश तथा सहरबाट फर्किएका सन्तानका कारण कतिपय घरमा खुसी छाएको छ तर कतिपय आमाबुबा भने आफ्ना सन्तान फर्किने बाटोतिर आँखा लगाएर बसेका छन् । उनीहरूको एउटै चाहना छ– यसपालिको दसैँमा टाढा रहेका आफ्ना सन्तान घर फर्किऊन् र लामो समयदेखि प्रतीक्षामा रहेको आँगन फेरि परिवारको हाँसोले भरियोस् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |