
कर्णाली, १९ असोजः कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कीर्तिमानी म्याराथन धावक हरिबहादुर रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधि भएको बताउनुभएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाललाई विश्वमा चिनाउन रोकायले खेलेको भूमिका र पु¥याएको योगदानले नेपालको नाम र स्वाभिमान उँचो भएको बताउनुभयो ।
एभरेष्ट म्याराथनमा आफ्नै कीर्तिमानी तोड्नु भएका उहाँले दौडमार्फत गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखेर सगरमाथा र बुद्धको देश भनेर चिनाएको मुख्यमन्त्रीले उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री शाहीले भन्नुभयो, “रोकायले कर्णाली जस्तो विकट भूगोलबाटै आफूलाई सफलताको सगरमाथामा पु¥याउनुभयो । यो सफलता उहाँको मेहनत, निरन्तरता, इमान्दारिता र धैर्यताको प्रतिफल हो ।”
कार्यक्रममा सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले कर्णालीको हिउँचितुवाका नामले परिचित हरिबहादुर रोकाय खेल क्षेत्रमा प्रवेश गरेका नयाँ पुस्तका खेलाडीका लागि ऊर्जा, सौर्य, साहस र उत्प्रेरणाको पर्याय भएको चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “रोकायको प्रतिभा र प्रभाव नेपालमा मात्र होइन, विश्वमा चुलिएको छ । उहाँको ओजिलो छविका कारण पछिल्लो समयमा एथलेटिक्स र अल्ट्रा म्याराथनमा कर्णालीले नेपालसहित विश्वमै उल्लेख्य सफलता हासिल गरेको छ ।”
धावक रोकायले आफ्नो मेहनत र इमान्दारिताले मुलुकको नाम चुलिएको पाउँदा खुसी लाग्ने गरेको प्रतिक्रिया दिनुभयो । “हिजो म दोड्दै गरेको भूगोल र समय आजको जस्तो थिएन । नाङ्गै दौड्ने खुट्टाले हजारौँ मूल्यपर्ने जुत्ताको न कल्पना गरे न त अपेक्षा नै”, उहाँले भन्नुभयो, “एक दिन लाग्ने जुम्ला–राराको बाटो म नाङ्गै खुट्टाले दौडेको छु ।”
रोकाय कर्णाली याक्सको ‘एक्स्ट्रिम हिरो सम्मान’बाट सम्मानित हुनुभएको छ । याक्सका अध्यक्ष गेहेन्द्र घिमिरेले खेलजगतको हिरोको रुपमा कर्णालीको जुम्लामा जन्मेका रोकायलाई सम्मान गर्न पाउँदा खुसी र आनन्द मिलेको बताउनुभयो । अध्यक्ष घिमिरेले रोकायलाई रु दुई लाख ५० हजार नगदसहित सम्मान गरिएको जानकारी दिनुभयो ।
राष्ट्रिय समाचार समिति (रासस)

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |