
भद्रपुर (झापा), १९ असोजः सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र सम्भावित राजस्व चुहावट न्यूनीकरण गर्न जिल्ला सुरक्षा समिति झापाले झापा–इलाम सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ ।
सम्भावित अवैध गतिविधि नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा आइतबार झापा–इलाम सीमावर्ती क्षेत्रका विभिन्न स्थानको स्थलगत अनुगमन गरिएको हो । मेचीनगर, बुद्धशान्ति, अर्जुनधारालगायत पालिकासँग सीमा जोडिएका तथा आवतजावतका लागि प्रयोग हुने स्थानको सुरक्षा अवस्था र सम्भावित जोखिमबारे समितिले जानकारी लिएको हो ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले सदरमुकामबाट भौगोलिक रूपमा टाढा र सहज पहुँच नभएका सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी प्रभावकारी बनाउन अनुगमन गरिएको बताउनुभयो । मुख्य नाकाबाहेकका वैकल्पिक सडक तथा ग्रामीण मार्गमा हुनसक्ने अवैध ओसारपसार तथा तस्करीलाई सुक्ष्म रूपमा निगरानीमा राखिएको उहाँले बताउनुभयो ।
इलाम, पाँचथर र ताप्लेजुङलगायतका जिल्लाबाट झापाको बाटो हुँदै भारततर्फ अवैध निकासी हुनसक्ने सम्भावनालाई मध्यनजर गरी संवेदनशील क्षेत्रमा सुरक्षा गस्ती बढाइएको हो । यसबाट सम्भावित राजस्व चुहावट नियन्त्रणसँगै सीमा क्षेत्रमा हुने अवैध वस्तुको ओसारपसार, सीमा अपराध रोक्न सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।
“मुख्य नाकासँगै वैकल्पिक बाटो र ग्रामीण क्षेत्रबाट अवाञ्छित गतिविधि हुनसक्ने भएकाले ती क्षेत्रको सुरक्षा अवस्था र सम्भावित जोखिमबारे जानकारी लिन स्थलगत अनुगमन गरिएको हो”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार सीमावर्ती क्षेत्रमा हुनसक्ने सम्भावित अवैध गतिविधिको सूचना तत्काल आदानप्रदान गरी आवश्यक कारबाहीका लागि सुरक्षा निकाय परिचालन गर्ने व्यवस्था मिलाइएको छ । जिल्ला प्रहरी कार्यालय झापा र सशस्त्र प्रहरी बल नेपालका सम्बन्धित युनिटलाई आ–आफ्नो कार्यक्षेत्रमा नियमित गस्ती तथा ‘पेट्रोलिङ’ प्रभावकारी बनाउन निर्देशन दिइएको छ ।
सीमावर्ती क्षेत्रमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित युनिटले अवैध गतिविधि नियन्त्रणका लागि गरेका प्रयास, सुरक्षा उपस्थिति, गस्ती तथा कारबाहीको अवस्थाबारे प्रत्येक १५ दिनमा जिल्ला सुरक्षा समितिमा विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ । प्राप्त विवरणका आधारमा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था मूल्याङ्कन गरी आवश्यक रणनीति तय गरिने प्रजिअ पोखरलले जनाउनुभयो ।
अनुगमनमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्य, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका उपअनुसन्धान निर्देशक उमेश पाण्डेलगायत सुरक्षा निकायका अधिकारीको सहभागिता थियो ।
प्रजिअ पोखरेलका अनुसार नजिकिँदै गरेको चाडपर्वका समयमा सीमावर्ती क्षेत्रबाट पटका तथा अन्य अवैध सामग्रीको ओसारपसार हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसतर्फ थप सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |