
म्याग्दी, १७ असोजः भूगर्भविद्हरूको टोलीले आजदेखि म्याग्दीका पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन थालेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवडासहितको प्राविधिक टोलीले पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन थालेको हो ।
टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो । “नगरपालिकाको सिफारिस र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार शुक्रबार बेनीमा आउनुभएका भूगर्भविद् र प्राविधिकको टोलीले आजदेखि नै अध्ययन सुरु गर्नुभएको छ”, उहाँले भन्नुभयो, “बेनी बजारसहित नगरपालिका र जिल्लाका सबै जोखिमयुक्त क्षेत्रको प्राविधिक अध्ययन गर्ने योजना रहेको छ ।”
टोलीले दिने सिफारिसको आधारमा पहिरो प्रभावित क्षेत्रमा अल्पकालीन र दीर्घकालीन रोकथामका काम गरिने नगरप्रमुख केसीले बताउनुभयो । पहिरोको अवस्था र माटोको बनोटको अवस्था आँकलन गर्न ड्रोनबाट तस्बिर लिनुका साथै पहिरो खसेको स्थानबाट ढुङ्गा तथा माटोका नमूना सङ्कलन गरी वैज्ञानिक अध्ययन अघि बढाइने भूगर्भविद् एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक चम्पकबाबु सिलवालले बताउनुभयो ।
“विभिन्न विधि र उपकरणको प्रयोगका साथै स्थलगत निरीक्षण गरेर पहिरो गएका क्षेत्रहरूको अध्ययन थालेका छौँ”, उहाँले भन्नुभयो, “काठमाडाँैबाट आएका चार, स्थानीय तहका प्राविधिक र भूगर्भविज्ञान अध्ययन गरेका स्थानीय जनशक्तिको तीन वटा समूह बनाएर पहिरोको अध्ययन थालेका छौँ ।”
भूगर्भविद्को टोलीले स्थलगत अध्ययन तथा सङ्कलित नमुनाको विश्लेषण गरी सरकारलाई प्राविधिक प्रतिवेदन बुझाउनेछ । गत हप्ताको वर्षापछिको पहिरो र बाढीका कारण म्याग्दीमा सात जनाको मृत्य, दुई जना बेपत्ता, २०० भन्दा बढी घरगोठमा पूर्ण क्षति र दर्जनौँ गाउँका बासिन्दा विस्थापित भएका छन् ।
म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले शुक्रबारसम्म १११ घरमा पूर्ण क्षति, ९३ घरमा आंशिक क्षति र ३४२ घर जोखिममा परेका जानकारी दिनुभयो । यो विवरण अझै थपिन सक्ने उहाँले बताउनुभयो ।
असोज ८ देखि ११ गतेसम्मको झरिपछिको बाढी पहिरोका कारण म्याग्दीका मुख्य सडक, विद्युत् र सञ्चार सुविधा अवरुद्ध हुँदा जनजिवन प्रभावित बनेको छ । अवरुद्ध बनेका यातायात, सञ्चार र विद्युत् सुचारु गराउने प्रयास भइरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।
राष्ट्रिय समाचार समिति (रासस)


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |