
काठमाडौँ, १७ असोज : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि कम्युनिष्ट तथा परिवर्तन पक्षधर शक्तिबीच एकता र सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
मुलुक असहज राजनीतिक परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उहाँले बदलिएको परिस्थितिको सामना पुरानै कार्यशैलीबाट सम्भव नहुने भएकाले कम्युनिष्ट शक्तिबीच एकता तथा संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
“इतिहासका अनुभवबाट शिक्षा लिँदै सत्य र तथ्य जनतासमक्ष स्पष्ट रूपमा राख्नुपर्छ”, उहाँले भन्नुभयो, “विगतका उपलब्धिको रक्षा गर्दै कमजोरी सच्याउने र नयाँ परिस्थितिअनुसार पार्टी, विचार, सङ्गठन तथा नेतृत्वलाई रूपान्तरण गर्नुपर्छ।”
गत वर्ष भदौ २४ गते भएको आगजनी, तोडफोड र विध्वंसपछिको राजनीतिक अवस्था सहज बन्न नसकेको उल्लेख गर्दै दाहालले संविधान र गणतान्त्रिक व्यवस्थाको रक्षाका लागि लोकतान्त्रिक तथा परिवर्तनकारी शक्तिबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। भदौ २४ गते संसद् भवनसहित विभिन्न सरकारी तथा निजी संरचनामा आगजनी र तोडफोड भएको थियो।
गणतन्त्र स्थापनापछि मुलुकमा कुनै उपलब्धि नभएको भन्ने धारणा तथ्यमा आधारित नभएको उहाँको भनाइ थियो। सामन्ती राजतन्त्रबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा मुलुकलाई रूपान्तरण गर्ने राजनीतिक प्रक्रिया, संविधानसभाबाट संविधान निर्माण तथा तीन तहका निर्वाचनमार्फत सङ्घीय संरचना कार्यान्वयनलाई उपलब्धिका रूपमा लिनुपर्ने उहाँले बताउनुभयो।
आफ्नो पहिलो प्रधानमन्त्री कार्यकालमा शान्ति प्रक्रियालाई संस्थागत गर्ने, गणतन्त्र कार्यान्वयन र संविधान निर्माणको आधार तयार गर्ने काम भएको उल्लेख गर्दै उहाँले दोस्रो कार्यकालमा संविधान कार्यान्वयन, स्थानीय तहको निर्वाचन, सङ्घीयताको व्यावहारिक कार्यान्वयन तथा भूकम्पपछिको पुनःनिर्माणले गति लिएको बताउनुभयो।
लामो समयदेखि रहेको विद्युत्भार कटौती अन्त्य गर्ने दिशामा सोही अवधिमा महत्वपूर्ण काम भएको उल्लेख गर्दै उहाँले पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गलगायत राष्ट्रिय पूर्वाधार आयोजना, सडक विस्तार तथा पुनःनिर्माणका काम पनि अघि बढाइएको बताउनुभयो।
तेस्रो प्रधानमन्त्री कार्यकालमा सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह सुधार, अर्थतन्त्र सुधार तथा राष्ट्रिय हितसँग सम्बन्धित विषयमा काम गर्ने प्रयास गरिएको उहाँको भनाइ थियो।
“उपलब्धि छन्, कमजोरी पनि छन्”, उहाँले भन्नुभयो, “आफ्ना कमजोरीबाट सिक्नुपर्छ र विकास निर्माणदेखि राजनीतिक परिवर्तनसम्मका उपलब्धि तथ्यसहित जनतासमक्ष राख्नुपर्छ।”
दाहालले पार्टीभित्र पनि रूपान्तरण आवश्यक रहेको उल्लेख गर्दै नेतृत्वमा युवा पुस्ताको सहभागिता बढाउने, विचारलाई बदलिएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिअनुकूल विकास गर्ने तथा महाधिवेशनमार्फत वैचारिक बहस र सङ्गठनात्मक पुनःसंरचना अघि बढाउने नीति रहेको बताउनुभयो। नेकपाका नेताहरूले पार्टी नेतृत्वमा युवा सहभागिता ५० प्रतिशतसम्म पुर्याउने विषय सार्वजनिक रूपमा उठाउँदै आएका छन्।
उहाँले कम्युनिष्ट शक्तिबीच पार्टी एकता, सहकार्य र कार्यगत एकता अघि बढाउँदै सदन तथा सडकका मुद्दामा सहकार्य र आवश्यकताअनुसार निर्वाचनमा समेत सहकार्यको आधार निर्माण गर्नुपर्ने बताउनुभयो। दाहालले यसअघि पनि तत्काल पार्टी एकता नभए संसदीय सङ्घर्ष, सडक सङ्घर्ष तथा निर्वाचनमा कार्यगत सहकार्य गर्न सकिने धारणा राख्नुभएको थियो।
नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र विकासका लागि छिमेकी तथा मित्रराष्ट्रसँग सन्तुलित र प्रभावकारी सम्बन्ध आवश्यक रहेको उहाँले बताउनुभयो।
महँगी, बेरोजगारी, भ्रष्टाचार, सुशासन तथा गरिब, सुकुम्बासी, मजदुर र आधारभूत वर्गका समस्या राजनीतिक दलको प्राथमिकतामा पर्नुपर्ने उल्लेख गर्दै उहाँले राज्यका नीतिले कमजोर वर्गमाथि पार्ने प्रभावलाई गम्भीरतापूर्वक हेर्नुपर्नेमा जोड दिनुभयो।
दाहालले जनतासँगको प्रत्यक्ष सम्बन्ध सुदृढ गर्दै संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षा तथा पार्टीको आन्तरिक रूपान्तरणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनुभयो।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |