
हुम्ला, १६ असोजः अविरल वर्षापछि जिल्लाका विभिन्न स्थानमा सडक भत्किएर अवरुद्ध भएकामा कर्णाली करिडोरमा आजदेखि यातायात सञ्चालनमा आएका छन् । हिल्सा-सिमकोट सडक आयोजनाले निरन्तर आवागमन खुलाउने प्रयास गरेपछि आज दिउँसोदेखि साना सवारीसाधन सञ्चालनमा आएका उक्त सडक आयोजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार वर्षाका कारण सडक अवरुद्ध भएपछि बीच बाटोमा रोकिएका यात्रु तथा सवारीसाधनलाई सहज हुनेगरी सडक खुलाइएको हो । सडकमा क्षति पुगेका स्थानमा निरन्तर काम गरेर साना सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था बनाइएको जनाउँदै केही समयपछि ठूला सवारीसाधनसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रमुख नेपालीले बताउनुभयो ।
प्रमुख नेपालीका अनुसार अब सुर्खेत-नेपालगन्ज हुँदै हुम्ला आउने सवारीसाधन जिल्ला सदरमुकाम सिमकोटसम्म पुग्न सक्ने भएका छन् । “तर सिमकोटबाट चीनको सीमावर्ती क्षेत्र हिल्सासम्मको सडक भने अझै सञ्चालनमा आउन सकेको छैन । उक्त खण्डमा पनि सडक खुलाउने काम जारी रहेकाले यातायात सञ्चालनमा ल्याउन केही समय लाग्ने देखिएको छ”, उहाँले भन्नुभयो ।
अविरल वर्षापछि आएको बाढी तथा पहिरोले कर्णाली करिडोरसहित जिल्लाका विभिन्न ग्रामीण सडकमा समेत क्षति पुर्याएको छ । ग्रामीण सडक सञ्चालनमा ल्याउन स्थानीय सरकारले पनि आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरी काम गरिरहेका छन् ।
यसअघि बिहीबारमात्रै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वर्षाका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको थियो । सोहीअनुसार मुख्य सडक तथा ग्रामीण सडक खुलाउने कामलाई तीव्रता दिइएको आयोजनाका प्रमुख नेपालीले बताउनुभयो ।
कर्णाली करिडोर सञ्चालनमा आएसँगै बाहिरी जिल्लाबाट हुम्ला आउने खाद्यान्न, दैनिक उपभोग्य सामग्री तथा अन्य सामान ढुवानीमा सहज हुने भएको छ । यद्यपि सिमकोट-हिल्सा खण्ड र केही ग्रामीण सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म जिल्लाको सबै क्षेत्रमा यातायात सहज हुन अझै समय लाग्ने देखिएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |