
झापा, १० मङ्सिरः सरकारबाट अनुदानमा प्राप्त रासायनिक मलको बिक्री वितरणमा अनियमितता गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित संजिवनी कृषि भण्डारलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।
अनुदानित रासायनिक मल अनधिकृत रूपमा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा आज गरिएको आकस्मिक अनुगमनका क्रममा भण्डारको मल मौज्दात र बिक्री विवरणमा अनियमितता भेटिएको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार सञ्चालक प्रेमकुमार भट्टराईले साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेड, बिर्तामोडबाट खरिद गरेको कुल ४०० बोरा मलमध्ये २४१ बोरा मात्रै गोदाममा भेटिएको थियो । बाँकी १५९ बोरा मलको बिक्री तथा मौज्दात विवरण पेश गर्न नसकेपछि भण्डारलाई जरिवाना गरिएको हो ।
भण्डारले खरिद गरेको मलमध्ये १७० बोरा युरिया र २३० बोरा डिएपी थियो । अनुगमनका क्रममा गोदाममा १२० बोरा युरिया र १२१ बोरा डिएपी भेटिएको थियो । बाँकी ५० बोरा युरिया र १०९ बोरा डीएपीको हिसाब देखाउन नसकेपछि उपभोक्ता हित संरक्षण ऐनबमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको प्रजिअ पोखरेलले बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको संयोजकत्वमा कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको थियो ।
यसैगरी, बुद्धशान्ति–३ कै ७ नम्बर चोकस्थित न्यू कञ्चन कृषि सहकारी संस्थाको पनि अनुगमन गरिएको थियो । उक्त संस्थाको मल खरिद, बिक्री तथा मौज्दात विवरण दुरुस्त पाइएको प्रशासनले जनाएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |