
रूपन्देही, ९ मङ्सिरः रुपन्देहीमा युवा क्रिकेट खेलाडीको प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले पहिलोपटक एकेडेमी क्रिकेट लिग–२०८३ आयोजना हुने भएको छ । रुपन्देही क्रिकेट सङ्घको आयोजनामा बिहीबारदेखि सुरु हुने प्रतियोगितामा जिल्लाका आठ क्रिकेट एकेडेमीका खेलाडी सहभागी हुने भएका छन् ।
प्रतियोगिताबारे आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष हरिबहादुर थापाले युवा खेलाडीलाई प्रतिस्पर्धात्मक क्रिकेटको अनुभव आदानप्रदान गर्न नयाँ ढाँचामा लिग आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले एकेडेमीमा आबद्ध खेलाडीको क्षमता पहिचान र प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिता उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगिताका सबै खेल ३० ओभरको ढाँचामा रातो बल प्रयोग गरी खेलाइनेछ । यसबाट खेलाडीलाई लामो ढाँचाको क्रिकेटमा अभ्यस्त बनाउनाका साथै प्राविधिक क्षमता अभिवृद्धिमा सहयोग पुग्ने आयोजकले जनाएको छ ।
सङ्घका सचिव उदयकुमार मल्लिकका अनुसार प्रतियोगितामा स्टार, तिलोत्तमा, गुरुकुल, देवदह क्रिकेट युनिट, बुटवल, वेस्टर्न, रुपन्देही र जेआर क्रिकेट एकेडेमीका टोली सहभागी हुनेछन् । ११ देखि १५ वर्ष उमेर समूहका खेलाडीले सहभागिता जनाउने प्रतियोगिताका खेल सिद्धार्थ क्रिकेट रङ्गशाला भैरहवा र देवदहस्थित शीतलनगर क्रिकेट रङ्गशालामा सञ्चालन हुने खेल संयोजक भुवन पाण्डेले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ । विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिनेछ ।
यही मङ्सिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताले जिल्लाको क्रिकेट विकासमा टेवा पुग्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का पूर्वसचिव प्रशान्तविक्रम मल्लले बताउनुभयो । उहाँले तल्लो तहबाटै प्रतिभावान् खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिता महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |